ढाकाकुमारको धम्कीले रवि धर्मसंकटमा, प्रयोग गर्न सक्छन् अब यी विकल्प

काठमाडौं । ‘आफू स्वास्थ्य मन्त्री बन्ने पक्का भएको तर त्यसका लागि पार्टीको कोर टिमले दुई करोड रूपैयाँ माग गरेको’ व्यहोरा उल्लेख गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रकम माग गरिएको अडियो सम्बन्धमा ढाकाकुमार श्रेष्ठसँग बयान लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन तथा आचरण समितिले पार्टी सभापति रवि लामिछानेसमक्ष प्रतिवेदन पेश गरेको छ ।
भरतमणि देवकोटा संयोजक तथा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी सदस्य रहेको समितिले श्रेष्ठसँग एक घण्टा लामो बयान लिएर कार्यादेशअनुसार प्रतिवेदन तयार गरेको हो । उक्त प्रतिवेदन समितिले मंगलबार नै पार्टी अध्यक्ष रवि लामिछानेलाई बुझाइसकेको छ ।
स्रोतका अनुसार, सांसद र पार्टीको साधारण सदस्यबाट समेत निलम्बित श्रेष्ठले सार्वजनिक अडियोको आवाज आफ्नो नभएको दाबी समितिसमक्ष गरेका छन् । आफ्नो राजनीतिक करिअर समाप्त पार्न षड्यन्त्र भएको र त्यसकै लागि अडियो ल्याइएको उनको जिकिर छ ।
यसअघि सञ्चारमाध्यमसँगको कुराकानी तथा विज्ञप्तिमा पनि उनले अडियो आफ्नो नभएको दाबी गर्दै छानबिन गर्न माग गरेका थिए ।
धम्कीले रवि धर्मसंकटमा
अडियो सार्वजनिक भएको दिन बारा क्षेत्र नं. २ का पार्टीका उम्मेदवार रमेश खरेलको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले ७२ घण्टाभित्र सत्यतथ्य पत्ता लगाएर गल्ती गरेको भेटिए कारबाही गर्ने वचनबद्धता जनाएका थिए । यसमा अझै विश्वस्त गर्दै उनले भनेका थिए– ७२ घण्टाभित्र कारबाही गर्न सकिनँ भने यही गढीमाईमा मलाई बलि दिनू ।
लामिछानेले दिएको उक्त समयसीमा आज सकिँदैछ । अनुशासन तथा आचरण समितिले प्रतिवेदन दिइसकेको र आफ्नो ७२ घण्टाभित्र यसबारे निधो गर्ने प्रतिबद्धताले पनि आज यसबारे निर्णय लिनैपर्ने दबाबमा लामिछाने छन् । तर यसबारे निर्णय लिन लामिछानेलाई फलामको च्युरा चपाउनुसरह कठिन हुने देखिँदैछ ।
समितिले प्रतिवेदनमा दिएको सुझाव तथा राय जस्ताको तस्तै कार्यान्वयन गर्न तथा त्यसमा थपघट गरेर कारबाही गर्ने अख्तियारी पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।
ढाकारामले गल्ती गरेको पुष्टि भएको खण्डमा उनीमाथि कारबाही गर्ने मनस्थितिमा रवि लामिछाने छन् । तर ढाकारामले समितिसमक्ष वयान दिने क्रममा दिएको एउटा धम्कीले रवि मात्रै झस्किएका छैनन्, सिंगो पार्टी नै तरंगित बनेको छ ।
स्रोतका अनुसार, ढाकारामले समितिसमक्ष बाझिने खालको बयान दिएका छन् । एकातिर अडियो आफ्नो नभएको जिकिर गरेका ढाकारामले आफूमाथि अन्याय हुँदा पार्टीले कारबाही गरे अडियो संवादमा उल्लेख गरिएको कोर टिमबारे मुख खोलिदिने धम्की दिएका छन् ।
‘अडियो आफ्नो नभएको र आफूलाई फसाउन यस्तो षड्यन्त्र भएको त उहाँले बताउनुभयो तर सँगै कारबाही भए कोर टिमबारे खुलासा गरिदिन्छु भन्ने धम्की पनि दिनुभयो,’ समिति सदस्यलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
रास्वपाको कोर टिमका रूपमा लामिछानेकी पत्नी निकिता पौडेललगायत केही नेता रहेको बताइन्छ । उनीहरूमाथि पार्टीका नाममा आर्थिक चलखेल गरेर आरोप सुरुदेखि नै लाग्दै आइरहेको छ । अडियो संवादमा उल्लेख गरिएको कोर टिम भनेर ढाकारामले यही टिमलाई इंगित गरेको चर्चा राजनीतिक वृत्तमा छ ।
ढाकारामले रास्वपामा प्राप्त गरेको अवसरलाई धेरैले अस्वाभाविक ठानेका छन् । आर्थिक रूपमा रिझाएर यो स्थान पाएको भन्नेहरूको दाबी सत्य हो भने ढाकाराम रास्वपाभित्रको आर्थिक विचलनबारे अरूभन्दा बढी जानकार छन् । यसमा संलग्न पर्दा पछाडिका पात्रलाई जोगाएर आफूमाथि मात्रै कारबाहीको डण्डा चलाइयो भने उनले ती वृतान्त सार्वजनिक गरिदिनसक्छन् । त्यस्तो बेला रविले अकल्पनीय क्षति व्यहोर्नुपर्ने हुन्छ । त्यसैले रवि यो प्रकरणले धर्मसंकटमा परेको बताइन्छ ।
के होला कारबाही ?
अडियो प्रकरणमा ढाकाराममाथि कारबाही गर्नै पर्ने अवस्थामा रास्वपा पुगेको छ । तर ढाकारामलाई कारबाही गर्दा नवोदित दलकै भविष्य संकटमा पर्ने भएकाले रवि निकै अप्ठ्यारो मुडमा उभिएका छन् । यसलाई सल्ट्याउन महाभारत पर्ने देखिएपछि रविले निकटस्थसँग संवाद तीव्र पारेका छन् । स्रोतका अनुसार, रविलाई यो प्रकरण सेफ ल्यान्डिङ गर्न विभिन्न सुझावहरू दिइएको छ ।
ढाकाराम र दुर्गा प्रसाईंबीचको अडियोको सत्यापन अहिलेसम्म भएको छैन । ढाकाराम स्वयंले यो आफ्नो नभएको जिरह गर्दै सोको वैज्ञानिक परीक्षण गर्न माग गरिरहेकै छन् । रास्वपाले अहिलेकै कारबाही सांसद् र पार्टी सदस्यबाट निलम्बनलाई यथावत राखेर उक्त अडियोको वैज्ञानिक परीक्षण गरेर त्यसको रिपोर्टका आधारमा थप कदम चाल्ने निर्णय गरेमा ढाकारामले पनि कोर टिमबारे मुख नखोल्ने र आमजनता पनि थुमथुमिने अवस्था छ । त्यसैले रास्वपाले बीचको बाटो रोजेमा आश्चर्य नमाने हुन्छ ।
कारबाही नगर्दा पार्टीलाई ठूलो क्षति पुग्ने भएकाले पछि उचित समयमा जिम्मेवारीमा फर्काउने सर्तमा कारबाहीको भागिदार बन्न ढाकारामलाई कन्भिन्स गर्ने अर्को विकल्प पनि रविले यो धर्मसंकटमा प्रयोग गर्न सक्छन् । तर यो विकल्प सजिलो भने छैन । किनभने, ढाकारामले यो प्रकरणमा पार्टीले पनि कारबाही गरेको खण्डमा आफू उठ्नै नसक्ने गरी थला पर्ने कुरा राम्रैसँग बुझेका छन् ।
ढाकाराममाथि लागेका विभिन्न अभियोग टेप प्रकरणसँगै एकसाथ सार्वजनिक भएका छन् । तथापि, यी आरोपको पुष्टि भने भएका छैनन् । उनको गतिविधि र आरोपबाट के निष्कर्षमा पुग्न सकिन्छ भने उनी द्रव्य लालची भने पक्कै छन् । उनको मनोरथ पूरा गरिदिएर अहिलेको संकट टार्ने सम्भावना पनि उत्तिकै छ ।
प्रतिक्रिया