NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

ढाकाकुमार रास्वपाबाट निष्कासित, सांसद पद पनि गयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद् तथा पार्टी केन्द्रीय सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीका साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढाकाकुमार गलत गतिविधिमा संलग्न रहेको ठहर गर्दै पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो ।

घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ढाकाकुमारले दुई करोड रकम माग गरेको अडियो सार्वजनिक भएको थियो । यसबारे छानबिन गर्न पार्टी अनुशासन तथा आचरण समितिलाई जिम्मा दिएको रास्वपाले उसले प्रतिवेदनमा सुझाएअनुसार ढाकाकुमारलाई बुधबार कारबाही गरेको हो ।

यसैबीच, रास्वपाले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । ढाकाकुमारलाई कारबाही गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको जानकारी दिए ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको जनाइएको छ ।