प्रदूषणप्रति तालुक निकायलाई नै छैन चासो, प्रवक्ता भन्छन् – आत्तिनुपर्दैन

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको १ नम्बरमा पुगेपछि सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । हावाको प्रदुषण मापन गर्ने एयर गुणस्तर सूचक (एक्युआई)ले आइतबार काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको छ । काठमाडौं उपत्यकासहित विश्वभर नै वायु प्रदूषण बढ्दै गएको एक्युआईले जानकारी दिएको छ ।
अत्याधिक वायु प्रदूषणका कारण केही दिनयता आँखा पोल्ने, स्वास–प्रस्वाससम्बन्धी समस्या देखिन थालेको छ । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् ।
एक सयभन्दा माथि भएमा सबैका लागि हानिकारक रहन्छ । काठमाडौंको एक्यूआई अहिले थपघट भइरहेको छ । बिहान १७० को हाराहारीमा रहेको एक्युआई यो रिपोर्ट तयार पार्दासम्म १५१ को हाराहारीमा छ । ५१ देखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।
यो अवस्थाले हप्तादिन पार गरिसक्दासमेत तालुकदार निकायले वायु प्रदूषण नियन्त्रमा खासै ध्यान दिएको भने छैन । डढेलोका कारण प्रदूषण बढिरहेको जानकारहरूले बताइरहँदा तालुक निकायका कर्मचारी भने तीन दिनयता भारत भ्रमणमा छन् । वन विभागका महानिर्देशक देबेशमणि त्रिपाठीसहितका कर्मचारी टोली यतिबेला भारत भ्रमणमा गएका हुन् । अर्कोतर्फ डढेलोसम्बन्धि नियन्त्रणको काम वन विभागकै कार्यक्षेत्र भएको बताउँदै वातावरण विभागका कर्मचारीले भने यो सबै जिम्मेवारी वन विभागले नै लिनुपर्ने तर्क गरेका छन् ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले वायु प्रदूषण नियन्त्रण गर्ने तालुकदार निकाय वातावरण विभाग नभइ वन विभाग भएकाले प्रदूषण नियन्त्रणका लागि उसले चासो दिनुपर्ने बताए ।
साथै, प्रदूषणको अवस्था त्यत्ति चिन्ताजनजक नभएकोसमेत पौडेका जिकिर छ । ‘वायु प्रदूषणको आवस्था मिडियामा आएको जस्तो भयावह छैन,’ उनले तर्क गरे । काठमाडौं उपत्यका लगायत क्षेत्रमा वायु प्रदूषण कसले कुन तरिकाबाट मापन गरेको, त्यो तथ्याङकको अर्को पाटो भएपनि डरलाग्दो स्थितिमा नरहेको उनले बताए । वायु प्रदूषण हुनुको मूख्य कारण डढेलो भएको उनको दाबी छ ।
‘विगत एक हप्तदेखि वायु प्रदूषण बढेको अवश्य हो । डढेलेको कारण तुँवालो निस्किँदा मसिना कणसमेत आउने हुँदा यसले जनस्वास्थ्यमा असर गरेको छ । त्यससँगै ‘ग्राउण्ड लेबल ओजन’पनि सँगसँगै आउने हुँदा आँखा पोल्ने समस्या देखिएको छ । यसबाट सजग रहनुपर्छ तर आत्तिनुपर्ने अवस्था अहिले छैन’, उनले भने ।
‘हाम्रो काम वायु प्रदूषणको अवस्थाबारे जानकारी दिने हो । यसबारे माथिल्लो निकायमा जानकारी गराइसकेका छौं’, उनले भने, ‘डढेलो नियन्त्रण गर्ने निकाय वातावरण विभाग होइन । डढेलो नियन्त्रणका लागि वन विभाग, प्रदेश वन मन्त्रालय, डिभिजन वन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायले ध्यान दिनुपर्छ ।’
कसरी बढ्यो प्रदूषण ?
प्रवक्ता पौडेल बारा, पर्सा र चितवन राष्ट्रिय निकुञ्जहरूमा डढेलो लाग्दा निस्किएको तुँवालोे बागमती करिडोर हुँदै काठमाडौं प्रवेश गरकाले समस्या देखिएको बताउँछन् । उनका अनुसार सोमबारदेखि पूर्वी नेपाल र मध्य नेपालसहित पश्चिम नेपालमा पनि देखिएको छ । कर्णाली प्रदेशमासमेत तुँवालो पुगेको रारामा स्टेसनले देखाएको छ । अहिले हावाहुरी नचलेको र पानीसमेत नपरेकाले समस्या देखिएपनि केही दिनमा विस्तारै हट्दै जाने उनले बताए ।
यसैगरी वन विभागका उपमहानिर्देशक नवराज पुडासैनीले वायु प्रदूषणको मुख्य कारण डढेलो भएको स्वीकार गर्दै समस्या समाधानका लागि काम भइरहेको दाबी गरे ।
‘वन विभागले डढेलो नियन्त्रणका लागि तीन तरिकाले काम गरेको छ । एउटा, यो वर्षको लागि कार्ययोजना तयार गरेर कार्यान्वयन गरिरहेका छौं । वन डढेलो व्यवस्थापन योजना भनेर कार्यान्वयनको चरणमा छ । यस भित्र जनशक्ति परिचालन, सरकार, कर्मचारी र सुरक्षा निकायका कर्मचारी परिचालन गर्ने विषय समेटिएको छ’, उनले भने ।
डढेलो नियन्त्रणका लागि समुदायको उपस्थिति थोरै भएको र जानशक्ति अभाव भएकाले समस्या आएको उनले बताए । देशभरी परिचालन भएका जनशक्ती वन रक्षक र सशस्त्र वन रक्षक पर्याप्त नभएको उनले स्वीकार गरेका छन् ।
डढेलोको कारण वायु प्रदूषणमा समस्या देखिएपनि सम्पत्ति नस्ट हुने किसिमले समस्या नदेखिएको उनले जिकिर गरे । उनका अनुसार
डढेलोको समस्या चुरे क्षेत्रमा रहेका जिल्लाहरू सिन्धुली, मकवानपुर, बारा, पर्सा, रौतहट, उदयपुर र नवलपरासीमा देखिएका छन् । अहिले देशभर ८११ क्षेत्रमा वन डढेलो लागेको छ ।
समयमै कार्ययोजना अनुसार काम गर्न नसके भविष्यमा डढेलो ठूलो समस्या बन्ने उनको भनाइ छ ।
‘क्राउन फायर’ भयो भने धेरै सम्पत्ती नष्ट हुने सम्भावना रहन्छ । वन डढेलोले वायु प्रदूषणलाई सहयोग गरेको छ, यसमा हामीले ढाँट्न हुँदैन । प्रदूषण न्यूनिकरणका लागि हामी गम्भीर छौं’, उनले भने ।
वातावरणविदका अनुसार पीएम २.५ भन्दा साना कण हावामा रहेमा त्यसले स्वासप्रस्वास माध्यमबाट रगतसम्म पुग्ने गर्छ । यसले कसैलाई तत्कालै समस्या देख्छ । दीर्घकालमा त्यसले मस्तिष्कघात, हृदयघातसमेत हुने गर्छ ।
पीएम २.५ भन्ने पर्टीकुलेट म्याटरको कन्सल्टेसन हावामा बढाउने प्रमुख माध्यम आगो भएको वातावरण विभागका प्रवक्ता पौडेलले जानकारी दिए । सडकबाट उड्ने धुलोका कारण र सवारीसाधनबाट निस्कने धुँवाले पनि वायु प्रदूषणका लागि सहयोग गरेको तर्क छ ।
प्रतिक्रिया