NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

तनहुँ र चितवनमा रास्वपाको घण्टी बज्दा बारामा उपेन्द्रलाई हर्नको तनाव

काठमाडौं । तनहुँ–१, चितवन–२ र बारा–२ मा भएको उपनिर्वाचनको मतपरिणामको रूझान हेर्दा तनहुँ र चितवनमा रास्वपाका घण्टी बज्दा बारामा उपेन्द्र यादवलाई जनमतको हर्नले तनाब दिएको छ । चुनावको अन्तिम मतपरिणाम आउँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एकको बदला २ सिट थप्ने सम्भावना बलियो देखिएको छ ।

साँझ ६ बजेसम्मको मतपरिणाम हेर्दा तनहुँ–१ मा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्ले प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईलाई फराकिलो मतान्तरले पछि पार्दै गएका छन् । वाग्लेले १८ हजार ६६३ मतसहित सुरूवाती अग्रता कायमै राख्दा उनका प्रतिस्पर्धी भट्टराईले जम्मा ११ हजार ११ मत पाएका छन् ।

तेस्रोमा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले जम्मा ५ हजार ८७७ मत पाएका छन् । कुल एक लाख २३ हजार ३०५ मतदातामध्ये यहाँ ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार खसेको कुल मत ६५ हजार ३५२ मध्ये यो रिपोर्ट तयार पार्दासम्म ६० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ ।

वाग्लेलाई गठबन्धन दल कांग्रेस, विद्रोही गोविन्दराज जोशीसमूह तथा विपक्षी एमालेको मतसमेत गएको देखिन्छ । नेतृत्वसँग असन्तुष्टी जनाउँदै निर्वाचनको मुखमा रास्वपा प्रवेश गरेका उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने सम्भावन बलियो देखिन्छ । यसअघि राष्ट्रपतिसमेत रहेका कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका थिए । तर यसपटक कांग्रेसको विरासत भत्काउँदै वाग्ले विजयको शिखरमा पुग्ने दाउवमा छन् ।

यसैगरी मंसिरको निर्वाचनमा अत्याधिक मतसहित चितवन–२ बाट निर्वाचित भएका रास्वापका उम्मेदवार रवि लामिछाने दोस्रोपटक अघिल्लो रेकर्ड तोड्ने दाउमा छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी प्रमाणित भएपछि सांसद पद गुमाएका उनी पुनः जनअनुमोदनका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

पछिल्लो मतगणना अनुसार रवि ३ हजार ६०२ मतसहित अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८२ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले एक हजार ४९४ मत पाएका छन् ।
एमालेको पक्कड क्षेत्र रहेको इच्छाकामनाबाट मतगणना हुँदासमेत रविले अग्रता लिएपछि कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा विपक्षीको भन्दा उनको मत बढ्ने देखिन्छ ।

आफूविरूद्ध राज्य नै लागेको गुनासो गर्दै आएका रविलाई दोस्रोपटक पनि यहाँका मतदाताले सानदार रूपमा अनुमोदन गर्ने विश्वासमा उनले लिएका छन् । अघिल्लो निर्वाचनमा उनले ४९ हजार ३०० मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठ ३४ हजार ३१२ को फराकिलो मतान्तरले पराजित भएका थिए । कुल एक लाख २४ हजार ६९५ मतदाता रहेको यो क्षेत्रमा ६३ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

तनहुँ–१ र चितवन–२ मा रास्वपाका उम्मेदवारले जित्ने सम्भावना बलियो हुँदै जाँदा बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल निकै पछि परेका छन् । निकै चासोसाथ हेरिएको यो क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

मतगणनाको सुरूवाती अवस्थामा यादवले अग्रता लिएका थिए । बीचमा यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका थिए । अहिले फेरी कुशवाहलाई पछि पार्दै यादव झिनो मतान्तरले अगाडि रहेका छन् ।

प्रारम्भिक मतगणनाअनुसार यादव एक हजार ३९० मतसहित अग्रता लिँदा उनका प्रतिस्पर्धी कुशवाहले एक हजार ३०१ मत पाएका छन् । तेस्रोमा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ६२९ मत पाएका छन् ।

यसैगरी रास्वपाका उम्मेदवार रमेश खरेलले जम्मा २३६ मत पाएका छन् । अघिल्लो निर्वाचनमा सप्तरी–२ बाट जपाका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका यादव दोस्रोपटक निर्वाचन जित्न सत्ता घटक दलका उम्मेदवारसँग कडा टक्कर परेको हो । २०६३ को मधेश विद्रोहबाट राजनीतिमा स्थापित भएका यादवलाई दोस्रोपटक नमिठो हार व्यहोर्ने छुट छैन ।

अघिल्लो निर्वाचनमा यहाँ उपराष्ट्रपतिसमेत रहेका जसपाका उम्मेदवार रामसहायप्रसाद यादवले माओवादीका उम्मेदवार कुशवाहलाई झिनो मतान्तरले पराजित गरेका थिए । कुल एक लाख ५ हजार मतदाता रहेको बारा–२ मा ६४ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
अघिल्लो निर्वाचनमा बारा–२ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन–२ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ–१ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो ।