NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

१० महिनामा नेपालीले खाए १३ अर्बको फलफूल

काठमाडौं । वर्षौंदेखि नेपाल कृषिप्रधान देशको रूपमा परिचित छ । विडम्बनाको कुरा, कृषिप्रधान मूलुकमै उच्च मात्रामा खाद्यान्न तथा फलफूल आयात हुँदै आएको छ ।

आर्थिक वर्ष ०७८/७९ तथ्याङ्कअनुसार जिडिपीमा कृषिको योगदान २३ दशमलव ९५ प्रतिशत रहेको छ । तर अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्रको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्ब रकम विदेशिनबाट जोगिन सक्ने देखिन्छ ।

तर पहाडका अधिकांश खेतीयोग्य जमिन बाँझै छोडिएर युवाहरू विदेशिएका छन् । त्यही विदेशिएका युवाबाट भित्रिएका रेमिट्यान्सबाट अर्बौ रुपैयाँको खाद्यान्न तथा फलफूल आयात गरेर खाने प्रवृत्तिको विकास भइरहेको छ ।

दैनिक दुई हजारको संख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । रेमिट्यान्सबाट आयात भएको ठूलो धनराशि उपभोग्य वस्तुमा खर्च हुँदा त्यसले औद्योगिक वातावरणसमेत बनाउन सकेको छैन ।

भन्सार विभागकाअनुसार चालु आव ०७९/८० को १० महिना अर्थात् वैशाख सम्ममा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको कुल वस्तु आयात भएको छ । जसमध्ये फलफूल मात्रै १३ अर्ब १९ करोड ३२ लाख रुपैयाँ बराबरको २१ करोड ६५ लाख ५४ हजार ८२ केजी फलफूल आयात भएको छ । उक्त मूल्य बराबरको फलफूल आयात हुँदा नेपाल सरकारले एक अर्ब ४६ करोड ६६ लाख रुपैयाँ राजश्व उठाएको छ ।

६ अर्बको स्याउ आयात

विभागकाअनुसार चालू आवको वैशाख मसान्तसम्म ६ अब १ करोड ६८ लाख रुपैयाँ बराबरको ७ करोड ३४ लाख ३ हजार ७९१ केजी स्याउ आयातभएको छ । त्यसबाट सरकारले ६५ करोड १३ लाख ६२ हजार रुपैयाँ बराबरको राजस्वसमेत संकलन गरेको छ ।

तथ्यांकअनुसार स्याउ चीनबाट सबैभन्दा धेरै नेपाल भित्रिएको तथ्याङ्कमा देखिन्छ । चीनबाट चार अर्ब ७ करोड ९४ लाख रुपैयाँबराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब ९२ करोड ९६ लाख, अमेरिकाबाट ५० लाख र स्वीजरल्याण्डबाट २७ लाख बराबरको स्याउ आयात भएको तथ्याङ्क छ ।

दुईअर्ब बढीको अंगुर आयात

चालू आवको वैशाख मसान्तसम्म दुई अर्ब ४ करोड १५ लाख रुपैयाँ बराबरको २ करोड ९५ लाख ३३ हजार ४३९ केजी ताजा अंगुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले १० करोड ३८ लाख राजस्व संकलन गरेको तथ्याङ्कमा देखिन्छ । अंगुर भारतबाट सबैभन्दा धेरै २ अर्ब २ करोड ७५ लाख रुपैयाँ बराबरको भएको छ भने चीनबाट १ करोड ४० लाख रुपैयाँको भएको छ ।

१ अर्ब २ करोडको केरा आयात

चालु आवको वैशाख मसान्त सम्ममा छिमेकी मुलुक भारतबाट १ अर्ब २ करोड ५३ लाख रूपैयाँ बराबर ३ करोड ९० लाख ९९ हजार २२१ केजी केरा नेपाल भित्रिएको छ ।

उक्तमूल्य बराबरको केरा नेपाल भित्रिदा सरकारले २० करोड ९४ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।

८४ करोडको सुन्तला आयात

विभागको तथ्याङ्कअनुसार सुन्तलाको आयात पनि उस्तै छ । १० महिनाको अवधिमा ८४ करोड १५ लाखको एक करोड ५० लाख १९ हजार ३९४ केजी सुन्ताला आयात भएको छ । उक्त मुल्य बराबरको सुन्ताला नेपाल भित्रिदा सरकारले ७ करोडि ८९ लाख रुपैयाँ राजश्व उठाएको छ ।

सबैभन्दा धेरै सुन्तला आयात छिमेकी मुलुक भारतबाट ७५ करोड ३ लाख रुपैयाँ बराबर एक करोड ४० लाख ८३ हजार ९०४ केजी सुन्ताला आयात भएको छ । त्यस्तै इजिप्टबाट ४ करोड ७६ लाख, दक्षिण अफ्रिकाबाट ३ करोड ७६ लाख र चीनबाट ५८ हजारको सुन्तला आयात भएको छ ।

८२ करोडको अनार नेपाल भित्रियो

यस अवधिमा ८२ करोड ८२ लाख रुपैयाँ बराबर ७९ लाख ९५ हजार ३९१ केजी अनार भारतबाट नेपाल भित्रिएको छ । उक्त मूल्य बराबरको अनार आयात हुँदा सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजश्व उठाएको विभागको तथ्याङ्क छ ।

कागती मात्रै ५२ करोडको

नेपालमा कागतीसमेत ५३ करोड रुपैयाँभन्दा बढी मूल्यको आयात हुने गरेको पाइएको छ । विभागका तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा ५२ करोढ ९६ लाख रुपैयाँ बराबर ७१ लख ३ हजार ५७६ केजी कागती आयात भएको छ । सो मूल्य बराबरको कागती आयात हुँदा सरकारले ५ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

४६ करोडको खरबुजा आयात

तराईका बगर क्षेत्रमा सजिलै उपलब्ध हुने खरबुजासमेत आयातहुने गरेको छ । तथ्यांकअनुसार १० महिनाको अवधिमा ४६ करोड १० लाख रुपैयाँ बराबर एक करोड २१ लाख २७ हजार ९४४ केजी खरबुजा आयात भएको छ । यस बाहेक ३८ करोड २५ लाख रुपैयाँको आँप आयात भएको छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागकाअनुसार चालू आवको वैशाखसम्ममा २५ करोड रुपैयाँको ७१ लख ८९ हजार ६१९ केजी मेवा आयात भएको छ ।

नास्पाती ११ करोड ३५ लाख रुपैयाँको आयातभएको छ । भुँइकटहर १० करोड ७७ लाखको भित्रिएको छ ।

यीबाहेक व्यावसायिकरूपमा खेती गरेर राम्रो आम्दानी गर्न सकिने किबीसमेत ७ करोड १४ लाख रुपैयाँको आयात भएको देखिन्छ । त्यस्तै एभोकाडो ६ करोड २३ लाख, अञ्जिर १ करोड ६० लाख, चेरी १२ लाख, खुर्पानी ३ लाख १४ हजार, स्ट्रबेरी  १७ लाख, हलुवावेद १ लाख र लिची ३७ हजार रुपैयाँ बरारको आयातभएको देखिन्छ ।