NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

त्यसपछि मोहनशमशेरलाई सिंहदरबार छाड्न भनियो

वि.सं १९८४ साल पुस २४ गते जन्मेका लेफटिनेन्ट कर्णेल हिमालयशमशेर राणाको वि.सं ०७९ साल माघ २ गते देहवसान भइसकेको छ । उनी प्रधानमन्त्री श्री ३ महाराज देवशमशेरका नाति थिए । उनले भारतको बम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (एम. ए) उपाधि हासिल गरेका थिए ।

२००७ साल फागुन ७ गते मुलुकबाट एक सय चारवर्षे राणा शासनको अन्त्य भएपछि नेपालमा श्री ३ महाराज मोहनशमशेर जबराको प्रधानमन्त्रीत्वमा राणा परिवार, नेपाली कांग्रेस र अन्य केही व्यक्तिहरू समावेश भएको मन्त्रिपरिषद् गठन भएको थियो । झण्डै नौ महिना (२००७ साल फागुन ७ देखि २००८ साल मसिर १ सम्म) कायम रहेको सो सरकारमा सुर्वणशमशेर राणा अर्थ मन्त्री नियुक्त भएका थिए । अर्थमन्त्री राणाले सरदार नगेन्द्रमान सिंहलाई मन्त्रालयको हाकिम जिम्मेवारी प्रदान गरी उनका साथ काम गर्न हिमालयशमशेर राणालगायतका व्यक्तिहरू नियुक्त गरेका थिए । तर सरदार नगेन्द्रमान सिंहको नियुक्ति नेपाल गजेटमा प्रकाशित नहुँदै उनी लोक सेवा आयोगको अध्यक्षमा नियुक्त भए । अनि उनको कामको जिम्मेवारी हिमालयशमशेर राणालाई सुम्पियो र यिनको नियुक्तिलाई औपचारिक रूपमा नेपाल गजेटमा अर्थ सेक्रेटरीका रूपमा प्रकाशित गरियो । यस कारणबाट हिमालयशमशेर राणा मुलुकको पहिलो अर्थ सेक्रेटरीका रूपमा चिनिन्छन् ।

पाँच वर्ष अर्थमन्त्रालयको प्रशासकीय प्रमुखको जिम्मेवारी सह्माल्दाको अवस्थामा नै उनलाई नेपालको प्रशासनको स्थिति अध्ययन गर्न आएको भारतीय टोली, अर्थात् एन.एम बुचले नेतृत्व गरेको टोलीमा नेपालको तर्फबाट समावेश गरिए । सो टोलीमा समावेश गरिएका अर्का अफिसर थिए, कानून सेक्रेटरी कर्णेल त्तिलकशमशेर थापा थिए ।

अर्थ सेक्रेटरीको जिम्मेवारी निभाएपछि हिमालयशमशेर नेपाल राष्ट्र बैँकका पहिलो गर्भनरमा नियुक्त भएका थिए र वि.सं २०१७ माघ २६ सम्म सरकारी सेवामा संलग्न रहे । पछि उनी लामो समयसम्म संयुक्त राष्ट्र संघको सेवामा संलग्न हुनाको साथै सो सेवाबाट निवृत्त भई नेपाल फर्केपछि पनि बैंकिङ तथा सामाजिक सेवामा सक्रिय जीवन बिताउँदै गरेको अवस्थामा हिमालयशमशेर राणासँग माइतीघर क्षेत्रस्थित उनकै घरमा वि. सं २०७९ साल कात्तिक १८ हरिबोधिनी एकादशी (४ नोभेम्वर २०२२) का दिन बिहानीपख भेटेर मैले विविधि विषय, विशेष गरी सिंहदरबार सचिवालयको स्थापना, सिंहदरबारमा मन्त्रालयका लागि कोठाहरूको खटनपटन, नयाँ व्यवस्थाअनुरूप मुलुकको प्रशासन चलाउन बसालिएको पद्धति तथा भारतीय सल्लाहकारको आगमन आदि विषयमा लामै कुरा गरेको थिएँ । त्यसक्रममा उनले दिएका जानकारी उनकै शब्दमा:

१) सिंहदरबारमा केन्द्रीय सचिवालयको स्थापना र विभिन्न मन्त्रालय/कार्यालय/आयोगको लागि स्थानको व्यवस्था  

२००७ सालमा राणा शासनको अन्त्य भएपछि  सिंहदरबारमा केन्द्रीय सचिवालय राख्ने निर्णय सरकारले गर्यो र श्री ३ महाराज मोहनलाई सिंहदरबार छोड्न भनियो । आनाकानी गरेपनि अन्ततः श्री ३ महाराज मोहनले २ महिनापछि सिंहदरबार छोडेर महाराजगञ्जस्थित आफ्नै निवास, लक्ष्मी निवास, सरे । त्यसपछि मात्र सिंहदरबार मुलुकको केन्द्रीय सचिवालयमा परिणत भयो

श्री ३ महाराज चन्द्रशमशेर जबराको समय निर्माण भई (सन १९०३ मा सम्पन्न) नेपाल सरकारलाई बिक्री गरिएको सिंहदरबार श्री ३ महाराजको आवास तथा मुलुकको मुख्य प्रशासकीय केन्द्र रही आएको थियो । अपवादका रूपमा श्री ३ महाराज भीमशमशेर जबरा र श्री ३ महाराज पदमशमशेर जबरा देखापरेका थिए । किनकि, यी दुवैले सिंहदरबारमा नसरी आफ्नै निवासबाट राज्य सञ्चालन गरेका थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि  सिंहदरबारमा केन्द्रीय सचिवालय राख्ने निर्णय सरकारले गर्यो र श्री ३ महाराज मोहनलाई सिंहदरबार छोड्न भनियो । आनाकानी गरेपनि अन्ततः श्री ३ महाराज मोहनले २ महिनापछि सिंहदरबार छोडेर महाराजगञ्जस्थित आफ्नै निवास, लक्ष्मी निवास, सरे । त्यसपछि मात्र सिंहदरबार मुलुकको केन्द्रीय सचिवालयमा परिणत भयो । र मन्त्रालय/कार्यालय/ आयोगहरू सिंहदरबारमा कायम गरिए । त्यतिन्जेल मन्त्रालयहरू मन्त्रीका घरघरमा स्थापना गरिएका थिए । सिंहदरबारभित्र कुन मन्त्रालय /कार्यालय/आयोगलाई कुन लङ वा कुन तलाको कुन कोठाहहरू दिने भन्ने कामको जिम्मेवारी घरकाज अड्डा र यसका हाकिम मिनारजङ्ग थापाले गरेका थिए ।

२) सिंहदरबार केन्द्रीय सचिवालयको काम-काजको तौर-तरिकाको थालनीको सुरुवात

केन्द्रीय सचिवालय स्थापना भएपछि मन्त्रालय/कार्यालय/आयोगले के कसरी काम काज सम्पादन गर्ने भन्ने कुराको निर्धारण, अर्थात् सरकारी काम पद्धति तथा प्रक्रिया बसाल्ने काम नेपाली अधिकारीलेहरू नै गरेका हुन् । तैपनि, सबै सरकारी कार्यालय, विशेषगरी मन्त्रालयमा काम गर्ने तरिका एकरूपता ल्याउनुअघि मन्त्रीहरूले मन्त्रालय आ–आफ्नै तरिकाले चलाए । प्रधानमन्त्री श्री ३ महाराज मोहन र रक्षामन्त्री बबरशमशेरले मन्त्रालयलाई पुरानै तरिकाबाट चलाउने काम गरे । मन्त्रीहरू आफैंले कसलाई सेक्रेटरी र अफिसर राख्ने निर्णय गरेर नियुक्तिसमेत दिने काम गरेका थिए । निर्माण तथा यातायात मन्त्री भद्रकाली मिश्रले एक भारतीयलाई आफ्नो निजी सेक्रेटरीसमेत राखेका थिए ।

३) भारतीय प्रशासक/सल्लाहकारको आगमन

२००७ सालको परिवर्तनपछिको राजनीतिक व्यवस्थाअन्तर्गत सिंहदरबारमा केन्द्रीय सचिवालयको स्थापनालगायत राज्य सञ्चालनको तौर-तरिका नेपालीहरू आफैंले बनाएपछि मात्र भारतीय सल्लाहकारहरूको प्रवेश नेपालको प्रशासनमा भएको थियो । भारतबाट ३ जना (गोविन्द नारायण, जे एम श्रीनागेस, बृज नारायण) सल्लाहकार भएर नेपाल आए ।

तीनमध्ये गोविन्द नारायणले राजा त्रिभुवनको सचिव तथा लोक सेवा आयोगको सल्लाहकार भएर काम गरे । उनको कार्यालय नारायणहिटी राजदरबारमा नै थियो ।

जे एम श्रीनागेसले निर्वाचन तथा अन्य विषयहरूसम्बन्धी पद्धति बसाल्ने (Establishment of Election and other democratic related institutions and procedures) कार्यमा गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालामार्फत सरकारलाई सहायता पुर्याउने काम गरे ।

बृज नारायणले हामी, अर्थात् अर्थ मन्त्रालयलाई अर्थ तथा लेखासम्बन्धी तौर-तरिका वा पद्धति बसाल्न सहयोग पुर्याए । यी तीन जना भारतीय कसको अनुरोधमा नेपाल आएका हुन् थाहा भएन । गृह मन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अनुरोधमा प्रधानमन्त्री जहवारलाल नेहरूले पठाएकी ?

प्रतिवेदन हेर्न पनि पाइएन र सो प्रतिवेदन लागूसमेत भएन । तर सो प्रतिवेदनका आधारमा प्रधानमन्त्री कोइरालाले पुनः भारतसमक्ष केही सय कर्मचारी खटाइ पठाइ दिन अनुरोध गरे भन्नेसम्म सुनिएको थियो 

सुरुमा तीनै जनालाई रङ्ग महलमा बस्ने ब्यवस्था गरियो । पछि गोविन्द नारायणको लागि नारायणहिटी राजदरबारले व्यवस्था गर्यो । जे एम श्रीनागेस र बृज नारायणका लागि सरकारले नारायण भवन परिसरमा रहेका बँगलामा ब्यवस्था गर्यो ।सल्लाहकारको लागि सवारी साधनको व्यवस्था नेपाल सरकारले गरेको थियो भने उनको तलब भत्त्ता भारत सरकारबाट आउँथ्यो ।

दक्षिण भारतका श्री नागेस अंग्रेज भएका भारतीय (Anglicized Indian) थिए । बेलायतीले बोलेझैँ बोल्दथे र अविवाहित थिए ।

तीन सल्लाहकार कार्यरत रहँदा काठमाडौंमा श्री चन्द्रेश्वरप्रसाद सिंह भारतीय राजदूत थिए । यिनको श्री नागेस र ब्रृज नारायणसँग ठ्याक मिलेन । अनि झण्डै एक वर्ष काम गरेपछि फिर्ता पठाई दिए । सुने अनुसार त्यस बखतका राजनीतिक नेतृत्वका बारेमा दुवै जना (श्री नागेस र ब्रृज नारायण) बीपी कोइराला, सुवर्ण र गणेशमानलाई वास्तविक नेता मान्दथे भने चन्द्रैश्वर प्रसाद सिंह नेपालको राजनीतिमा आफ्नै तरिकाले हस्तक्षेप गर्दथे । श्री नागेस, बृज नारायण र चन्द्रेश्वर प्रसादको सम्बन्धका विषयमा गोविन्द नारायण तटस्थ बसेका थिए भन्ने पनि सुनिएको थियो ।

पश्चिम बंगालमा डा. विधान चन्द्र राय नामुद चिकित्सक हुँदाहुँदै पनि राज्यका मुख्य मन्त्री थिए । उनीसँग भेट हुँदा अर्थ मन्त्री सुवर्णशमशेर लौन मलाई अर्थ मन्त्रालय चलाउने बारेमा सिकाउने व्यवस्था गरिदेउन भनेछन् । सोही आधारमा म (अर्थ सेक्रेटरी हिमालयशमशेर) कलकत्त्ता पुगी पश्चिम बंगाल सरकारको अर्थ विभागमा तीन दिन बिताएर उनीहरुको कार्य पद्धति अवलोकन र अध्ययन गरेँ । र एक जना विज्ञलाई नेपाल पठाइदिन अनुरोध गरेँ । हाम्रो अनुरोधमा पश्चिम बंगाल सरकारले एक अवकास प्राप्त सहसचिव मुखर्जी (पहिलो नाम बिर्से) पठाइदियो । उनी २ वर्ष हामीसँग काम गरे र आर्थिक नियमहरु बनाउन तथा अन्य आर्थिक विधि विधान तयार गर्न सहायक भए । उनलाई बसोवास, सवारी साधन (मोटर) को ब्यवस्था तथा तलब नेपाल सरकारले दिएको थियो । सयममा यति पक्का थिए कि कार्यालय लाग्ने समयभन्दा दुई तीन मिनेटअघि आइपुग्दथे । त्यसैले उनी आउनासाथ १० बज्यो भनेर भन्ने गर्दथ्यौं ।

४.प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको भारतका प्रधानमन्त्रीसमक्ष कर्मचारीको माग र बुच कमिटीमा संलग्नता

प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले नेपालको प्रशासन चलाउन असंख्य सख्यांमा भारतीय सार्वजनिक सेवामा संलग्न व्यक्तिहरूको सेवा काजमा खटाइदिन भारतका प्रधानमन्त्री पं जहवारलाल नेहरुलाई पत्र लेख्नाको कारण मलाई थाहा भएन् । हामीले त आफ्नै तरिकाले काम गर्दै थियौं । किन भारतीय कर्मचारीको सेवा माग गर्नुपर्यो ? त्यो बखत प्रधानमन्त्री कोइरालासँग काम गर्ने कोही छैनन् जस्तो लाग्दछ, सोध्नको लागि । मसँग यस विषयमा कुरा भएको सम्झना पनि छैन । बरु भारतबाट आइसिएस अफिसर एन.एम. बुचको नेतृत्व नेपालको प्रशासनको अध्ययन गर्न आएको तीन सदस्यीय टोली (अन्य सदस्य थिएः आई.सि.एस के पी मथरानी र आई. पि. एस. एस. के. आनन्द) को सदस्यमा हामी (म र कानून सचिव त्तिलकशमशेर थापा) लाई नेपाल सरकारले मनोनयन गर्यो । सो टोलीमा काम गर्यो । अर्थात टोलीले विभिन्न समुह वा व्यक्तिसँग छलफल गरिँदा भाग लियौं । तर जिल्ला भ्रमणमा भने गएनौं । साथै प्रतिवेदन लेखाइमा हामीलाई संलग्न गराइएन । प्रतिवेदन लेख्दा कहिलेकाहीँ यसो सोध्ने कामसम्म गरे । प्रतिवेदन हेर्न पनि पाइएन र सो प्रतिवेदन लागूसमेत भएन । तर सो प्रतिवेदनका आधारमा प्रधानमन्त्री कोइरालाले पुनः भारतसमक्ष केही सय कर्मचारी खटाइ पठाइ  दिन अनुरोध गरे भन्नेसम्म सुनिएको थियो ।

नोट:  स्मदनदेव भट्टराईका अनुसार प्रजातन्त्रको आगमन भएपछि केही वर्ष नेपालमा ३ होइन ४ भारतीय नारायणको नेपालको प्रशासनमा दबदबा थियो । ती चार थिए, भारतीय राजदूत चन्द्रेश्वर नारायण, राजा त्रिभुवनका सचिव,गोविन्द नारायण, अर्थ मन्त्रालयका सल्लाहकार बृज नारायण र पुलिस विभागमा डिआइजी रहेका टेक नारायण (मदनदेव भट्टराई का संस्मरणहरू, संपादन राजुदेव भट्टराई, भट्टराई पव्लिकेशन हाउस, डिल्लीबजार, २०५३ फागुन, पृष्ठ २०–२८) । बुच कमिटिको रिपोर्टमा भने पुलिस अफिसर डिआइजीको नाम डि. सी लाल उल्लेख गरिएको छ ।

अस्तु

अर्थ मन्त्रालय गठनपछि सम्पादन गरिएका कार्यहरू – सम्झनाको तरेलीमा