NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कर्मचारीको सांकेतिक विरोध : निर्णयकर्तालाई उन्मुक्ति, निमुखालाई हत्कडी ?

काठमाडौं । ललिता निवास प्रकरणमा बहालवाला सचिव नै पक्राउ पर्न थालेसँगै निजामती कर्मचारीहरू आक्रोशित बनेका छन् । निर्णय पालना गर्ने कर्मचारीलाई पक्राउ गर्दा निर्णयकर्ताहरूले भने उन्मुक्ति पाइरहेको विषयमा कर्मचारीहरूले सांकेतिक रूपमा विरोध गरेका छन् ।

यतिबेला सामाजिक सञ्जालमा प्रहरीको अनुसन्धानमाथि आलोचना गर्दै कर्मचारीवृत्तामा अर्को लहर सुरु भएको छ । ‘ब्लाक एण्ड ह्वाइट’ फोटोमा टाइको नोट मिलाउँदै गरेको दृश्यको फोटोमा लेखिएको छ, ‘निर्णयकर्तालाई उन्मुक्तिः निमुखालाई हत्कडी ??’ यो आकृतिको फोटो प्रोफाइलमा राख्दै अधिकांश कर्मचारी यतिबेला विरोधमा उत्रिएका छन् । उक्त फोटोमा देखाइएको टाइ लगाएको व्यक्तिले निर्णयकर्ता या माथिल्लो पदमा रहेका उच्च पदस्थलाई संकेत गरेको छ ।

आइतबार सञ्चारसचिव कृष्णबहादुर राउत परेसँगै बहालवाला कर्मचारीसहित पूर्व प्रशासकसमेतले टिप्प्णी उठाउने कर्मचारीलाई पक्राउ गर्दा उपल्लो दर्जामा रहेकालाई केरकार किन नगरेको भन्दै प्रश्न गरेका थिए ।

केही दिनअघिमात्रै पूर्व मुख्यसचिव बिमल कोइरालालेसमेत सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेका थिए । तत्कालिन समयमा टिप्प्णी उठाउने र राय लेख्ने कर्मचारीहरू धमाधम पक्राउ पर्दा निर्णकर्ताहरूलाई केरकार किन नगरेको भन्ने उनको प्रश्न थियो ।

राउत पक्राउलाई नेपाल सरकारको सचिव नभएर शाखा अधिकृत पक्राउको रूपमा लिन्छन् एक कर्मचारी । ‘शाखा अधिकाृत हुँदा टिप्प्णी उठाएकै भरमा पक्राउ पर्ने अनि निर्णय गर्नेहरू पक्राउ पर्नु नपर्ने?,’ उनले भने, ‘प्रहरीले अहिले सचिवलाई हैन एक शाखा अधिकृतलाई पक्राउ गरेको हो । हर्कत देखाउने काम गरेको हो ।’

यस्तो कार्यले कर्मचारीको काम गर्ने मनोविज्ञानमै असर परेको उनी बताउँछन् । ‘कर्मचारीले अब कसरी काम गर्ने ?,’ उनले भने, ‘हामीले आदेश अनुसार निर्णय गर्नुपर्ने हुन्छ । यस्तो अवस्था आउने भएपछि कसरी काम हुन्छ ?’

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले ललिता निवासको जग्गा व्यक्तिका नाममा दिने निर्णयको टिप्पणी उठाएको कारण पक्राउ परेका हुन् । उनलाई आइतबार त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

निजामती सेवामा कार्यरत अधिकृत नर्मदा घिमिरे पनि प्रहरीको रवैयाले कर्मचारीहरूको काम गर्ने मनोबल झनै कमजोर भएको बताउँछिन् । राउत पक्राउलाई उनले कर्मचारी प्रशसनलाई नै कमजोर बनाउन रचिएको प्रहरीको ‘स्टन्ट’ को संज्ञा दिइन् । ‘प्रहरी हामीमाथि हावी भएको हो । प्रक्रियागत विषयलाई लिएर बहालवाला सचिवलाई पक्राउ गरेपछि कोही पनि काम गर्न अघि सर्दैनन्,’ उनी भन्छिन्, ‘काम गर्ने मनोबल गिर्छ । भोलि फसिने डर हुन्छ ।निर्णय गर्नेलाई केही छैन अनि टिप्प्णी उठाउनेलाई यस्तो ?’

आफ्नो मर्जीमा कुनै पनि अधिकृतले टिप्पणी उनको तर्क छ । उनका अनुसार माथिबाट आइसकेपछि ठिक लागे उठाउने नलागे नउठाउने भन्ने पनि हुँदैन । ‘अख्तियारी दुरुपयोग भएको हो भने यो विषयमा यसरी छानविन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो,’ उनले भनिन्, ‘पहिला गरेकै कामको भरमा यसरी पक्राउ गरेर क्रास सिर्जना गरिएको छ ।’

टिप्पणी उठाउनका लागि आएका सबै निर्णयलाई शंका गर्न तल्लो तहका कर्मचारीसँग समय र क्षमता दुवै नहुने उनको भनाई छ ।

प्रहरीकै कारण कर्मचारीको मनोबल कमजोर हुने अवस्था आएका कारण आफूहरूले संगठित रूपमा फेसबुकमा सांकेतिक विरोध गरेको उनले जनाइन् ।