मैले देखेका दुई ललितपुर
आवश्यक नपर्ने योजना थाती राखेर शिक्षामा लगानी गर्नुपर्छ
‘टिच फर नेपाल’मा काम गर्दा ललितपुरको सातदोबाटोबाट ४० किलोमिटर मात्रै टाढा थियो, मैले पढाउने विद्यालय । त्यसअघिसम्म मेले ललितपुर भनेको पुल्चोक इन्जिनियरिङ क्याम्पस, रातो बंगला स्कुल, युलियन्स स्कुल भएको ठाउँ मात्रै हो भन्ने बुझ्थेँ । सातदोबाटोबाट ४० किलोमिटरभित्र पुगिसकेपछि मलाई अर्कै दुनियाँमा पुगेजस्तो महसुस भयो । हामीले कर्णालीलाई ‘विकट’ को विम्ब मान्छौं । त्यो ठाउँमा पुग्दा मलाई त्यस्तै महसुस भयो ।
जब त्यो ठाउँमा पुगेँ, ९/१० कक्षामा पढ्ने विद्यार्थीहरूलाई राम्रोसँग लेख्न आउँदैनथ्यो । साधारण हिसाब गर्न जान्दैनथे ।
शिशुदेखि कक्षा १० सम्मका विद्यार्थी बिहानदेखि लामो बाटो हिँडेर विद्यालय पुगेका हुन्थे । र पनि सिक्न पाइरहेका थिएनन् । त्यहाँका विद्यार्थीहरू उकालो, ओरालो यात्रा, बर्खामा खोलाले बगाउने त्रासमा पसिनाले निथ्रुक्क भिजेर विद्यालय आइपुगेका हुन्छन् । तर पनि कहिलेकाहीँ शिक्षकहरू आउँदैनन् । मिहिनेत गर्दा–गर्दै पनि परीक्षामा नतिजा राम्रो आइरहेको हुँदैन । एउटै ललितपुरको दुई फरक अवस्था देखेर मलाई कस्तो असमान महसुस भयो ।
ललितपुरको सहरी क्षेत्रमा हरेक दुई मिनेटमा गाडी पाइन्छ । जस्तो शिक्षा लिन्छु भन्यो, त्यस्तै शिक्षा लिने शैक्षिक संस्था यहाँ उपलब्ध छन् । यहीँबाट ४० किलोमिटर टाढा भने एकादेशको सपनाको अवस्था छ ।
मेरो बुबाआमाले आफूले पढ्न नपाए पनि मलाई पढाउनुभयो र आफ्ना कति सपनाहरू थाती राख्नुभयो । नेपालले पनि अब यसैगरी सोच्न जरुरी छ
अर्कोतर्फ त्यहाँका विद्यालयका अधिकांश विद्यार्थीको नेपाली भाषामा समस्या छ । उनीहरूलाई शिशु कक्षादेखि नै आफ्नो मौलिक भाषमा अध्यापन गराइएको हुन्छ । जसकारण नेपाली भाषाको बेस तयार भएको हुँदैन । पछि एकै पटक आएर नेपाली भाषा नै अनिवार्य मान्नुपर्दा ९/१० कक्षामा पुग्दा पनि उनीहरूलाई साधारण नेपाली भाषा आउँदैन, विज्ञानको सामान्य अवधारणा बुझ्न कठिन भइरहेको हुन्छ । यो देख्दा नमिठो लाग्छ ।
मिहिनेत गर्दा–गर्दै पनि राम्रोसँग पढ्न नसकेपछि विद्यार्थीका जीवनमा धेरै चुनौती देखापरेका घटना छन् । मैले पढाउँदैको अवस्थामा ६/७ कक्षामा पढ्ने केटाहरू उमेर बढाएर नागरिकता बनाउँथे र पढाइ बीचमै छाडेर विदेश जान्थे । केटी विद्यार्थीहरूको सानैमा विवाह हुन्थ्यो । हाम्रो जातिका मानिसहरूले लेखपढ गर्न सक्दैनन्, पढ्न–लेख्न नसक्ने भएपछि काठमाडौंतिर जान सकिदैंन भनेर पनि कतिपय पलायन भएको देखेँ ।
कक्षा १० सम्म पुग्दा त धेरै विद्यार्थीहरू ‘ड्रप आउट’ भइसकेका हुन्थे । एसएलसीसम्म आउँदा थोरै मात्रै विद्यार्थी उत्तीर्ण हुन्थे भने अधिकांश अनुत्तीर्ण । त्यहीमध्ये थोरैले काठमाडौं आएर पढ्न संघर्ष गर्छन् । तैपनि आर्थिक कठिनाइका कारण पढाइ अघि बढाउन गाह्रो हुन्छ । कमाउँदै पढ्नका लागि काम गर्न थाल्छन् र काम गर्र्दा गर्दै गरिबीको दुष्चक्रमै फसेजस्तो हुन्छन् ।
शिक्षा क्षेत्रमा काम गर्ने शिक्षा मन्त्रालय, स्थानीय सरकार, शिक्षक, प्रधानाध्यापकलगायतको काम विद्यार्थीलाई सपना देख्न सक्ने बनाउनु पनि हो । त्यो काम यिनले गर्न सकेका छैनन्
१० वर्षअघि मैले पढाएका ती विद्यालयका भवन फेरिएका छन्, विद्यालयसम्म पुग्ने बाटो पिच भएका छन् । तर मैले अघि उल्लेख गरेका विद्यार्थीका समस्या दुरुस्त छन् ।
यसमा सुधार ल्याउने दायित्व विद्यालय प्रशासनको हो । तर उनीहरू ‘यो ठाउँका विद्यार्थी नै यस्तै हुन्’ भनेर विद्यार्थीमाथि नै उल्टो दोषारोपण गरेर बसेका छन् । यसले जो पीडित छन्, तिनलाई थप पीडामा पार्ने काम गरिरहेको छ ।
२००७ सालदेखि अहिलेसम्म आउँदा धेरै क्यालेण्डर फेरियो । क्यालेन्डर मात्र फेरिएनन्, व्यवस्था पनि बदलिए । शिक्षामा सुधार गर्ने हो भने यसमा काम नगरी धरै छैन । किनभने, आजभन्दा २५ वर्षपछिको सदन र सरकार त्यस्तै हुन्छ जस्तो हामीले अहिले कक्षाकोठा बनाउँछौं । यसलाई सबैले बुझ्नुपर्छ, मनन गर्नुपर्छ ।
त्यसो त, सबै सामुदायिक विद्यालय उस्तै छैनन् । कतिपयले राम्रो काम पनि गरिरहेका छन् । प्रधानाध्यापक र नेतृत्व इमानदार, सबल र सक्षम भएका विद्यालयले गज्जबसँग काम गरेको उदाहरण देखेका छौं ।
कतिपय ग्रामीण भेगमा अद्यापि दुई/तीन घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने स्थिति छ । त्यसरी उनीहरू मिहिनत गरेर फाटेको चप्पल थप फटाउँदै पसिनामा निथ्रुक्क भएर विद्यालय आउँदा पनि राम्रो शिक्षा पाइरहेका छैनन् । भर्खरै प्रकाशित एसइईको परिणामले पनि यो देखाएको छ
कतिपय ग्रामीण भेगमा अद्यापि दुई/तीन घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने स्थिति छ । त्यसरी उनीहरू मिहिनत गरेर फाटेको चप्पल थप फटाउँदै पसिनामा निथ्रुक्क भएर विद्यालय आउँदा पनि राम्रो शिक्षा पाइरहेका छैनन् । भर्खरै प्रकाशित एसइईको परिणामले पनि यो देखाएको छ । स्थानीय सरकारले लिने परीक्षाले पनि सुखद संकेत दिन सकेको छैन ।
विद्यार्थीहरू ‘कमिटेड’ छन्, परिश्रम गर्न खोज्छन् । तर पनि त्यही अनुपातको शिक्षा पाइरहेका छैनन् । यो अवस्था र ‘प्लस टु’ सकेलगत्तै नेपालमा भविष्य छैन, केही गर्न सकिएन भनेर विदेश जाने लर्को देख्दा अत्ति नै चित्त दुखेर आउँछ ।
विद्यार्थीहरू तीन घण्टा हिँडेर विद्यालय पुगेका छन् र पढेका छन् । तर उसले राम्रो शिक्षा पाइरहेको छैन या देशमा भविष्य देखिरहेको छैन । यसमा धेरथोर हामी पनि दोषी छौं । मुख्य दोषीचाहिँ देशको नेतृत्व गर्ने, नीतिगत निर्णय लिनेहरू नै हुन् ।
हालै ग्रामीण भेगमा ६/७ कक्षामा पढ्ने विद्यार्थीसँग कुरा गर्ने अवसर मिलेको थियो । त्यसक्रममा तिनलाई मैले के बन्न चाहन्छौं भनेर सोधेको थिएँ । उनीहरूले एसइई सकेपछि विदेश जाने जवाफ दिए । स्कुले जीवनमा पढ्ने विद्यार्थीले पनि देशमा भविष्य देखिरहेका छैनौं भनेको सुन्दा एकदमै चित्त दुखेर आउँछ । त्यो त सपना देख्ने उमेर हो । हामीले त्यस्ता विद्यार्थीलाई तिम्रो सपना के हो ? भनेर सोध्ने गरेका छौं । तर उनीहरूले परीक्षामा लेख्नकै लागि झुट्टा कुराहरू लेख्छन् ।
परीक्षामा डाक्टर, इन्जिनियर बन्न चाहन्छु भन्छन् । तर साचो अर्थमा उनीहरूले सपना देख्न सकिरहेका छैनन् । शिक्षाको काम त सपना देखाउनुपर्ने थियो । हामी जति पनि शिक्षा क्षेत्रमा छौं शिक्षक, शिक्षा मन्त्रालयदेखि स्थानीय सरकारको दायित्व उनीहरूलाई सपना देखाउनुपर्ने थियो । विद्यार्थीले सपना देख्नै नसकेको कुराले एकदम ‘फ्रस्ट्रेटेड’ बनाउँछ ।
शिक्षकले आफ्नो विद्यार्थीहरूका लागि सपना देख्नुपर्छ । सपना नदेख्ने शिक्षक कामै छैन । सुन्दा तीतो लाग्ला तर विद्यार्थीका लागि सपना देख्न नसक्ने शिक्षकले यो पेशा छोडेर अन्यत्रै गए हुन्छ
शिक्षकले आफ्नो विद्यार्थीहरूका लागि सपना देख्नुपर्छ । सपना नदेख्ने शिक्षक कामै छैन । एकदम तीतो रूपमा भन्नुपर्दा विद्यार्थीको लागि सपना देख्न नसक्ने शिक्षकले यो पेशा छोडेर अन्यत्रै गए हुन्छ ।
अर्को कुरा, शिक्षकले आफ्ना लागि योजना बनाउनुपर्छ । त्यो योजना आफ्ना उद्देश्य प्राप्तिमा केन्द्रित हुनुपर्छ । आफूले शिक्षण गराइरहेको ठाउँको भूगोल, धरातल, जातजातिको स्थिति,उनीहरूको विषयको स्तर के छ भन्ने कुराहरूलाई आफ्ना योजनामा समेट्नुपर्छ । यिनै योजनालाई कक्षाकोठामा गएर ‘एक्जिक्युट’ गर्नुपर्छ । शिक्षकले हरेक दिन आजको कक्षा कस्तो रह्यो भनेर त्यसको आत्मसमीक्षा गर्नुपर्छ । शिक्षकको क्षमता विकासबाटै यी तमाम सामस्याहरूको समाधान गर्न सकिन्छ ।
कति अभिभावकलाई आफ्नो घरको तला थप्नु थियो होला । तर हाम्रो एक पुस्तालाई उनीहरूले घरको तला नथपी, इच्छा र चाहना खुम्च्याएर गरेर पढाए ।
हाम्रो घर–घरको कथा पनि यस्तै छ । मेरो बुबाआमाले आफूले पढ्न नपाए पनि मलाई पढाउनुभयो र आफ्ना कति सपनाहरु थाती राख्नुभयो । समग्र देशले पनि यस्तैगरी सोच्नुपर्छ भन्नुहुन्छ उहाँ । मुलुकले पनि तत्काल आवश्यक नपर्ने योजनाहरूलाई थाती राखेर शिक्षामै लगानी गर्नुपर्छ । शिक्षकको विकासमा केन्द्रित हुनुपर्छ । २५ वर्ष पछिको सडक, सदन र सरकार आजको कक्षाकोठाको प्रतिविम्ब हो । त्यसैले शिक्षामा लगानी गर्नैपर्छ ।
(सूत्र फर लिडर्सका सह संस्थापक रहेका विजयमणि पौडेल सार्वजनिक विद्यालयहरूमा गएर सबै तहका शिक्षकहरूसँगै विद्यार्थी र अभिभावकको पनि क्षमता विकासका लागि काम गर्छन् । यसअघि पनि उनले विभिन्न पालिकाहरुसँग शिक्षा र उद्यामशीलता कसरी जोड्न सकिन्छ भनेर काम गरे । टिच फर नेपालमा करिब ७ वर्ष काम गरेपछि त्यसकै लागि तालिम प्रमुखको रूपमा पनि काम गरे । उनै पौडेलले नेपालवाचको नियमित भिडियो प्रस्तुति एजुकेसन डायलगमा राखेको भनाइको सम्पादित अंश ।
हेर्नुहोस् भिडियो संवाद
प्रतिक्रिया