मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित

काठमाडौं। मिटरब्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ संघीय संसदको राष्ट्रियसभाबाट पुनःपारित भएको छ । यो विधेयकलाई राष्ट्रियसभाले प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको हो ।
प्रतिनिधिसभाले संशोधनसहित पारित गरी राष्ट्रियसभामा पठाएको विधेयक पुनःपारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सभामा प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई बिहीबार राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।
त्यसअघि राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले सन्देशसहित प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । राष्ट्रियसभाबाट पारितपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जानेछ।
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि ऐनको रुपमा लागू हुनेछ । राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया