NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सुन प्रकरणमा मेरै नाम जोडिएपनि अनुसन्धान हुन्छ – महानिर्देशक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भइसकेको क्वीनटल भन्दा बढी सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको छ । यसलाई राजश्व विभागले अहिलेसम्मै ठूलो अपरेशन मानेको छ । यो प्रकरणमा राजश्व अनुसन्धान विभागसहित भन्सार विभागले पनि छानविन गरिरहेको छ । तर भन्सार विभागमाथि नै प्रश्न उठिरहेको छ ।
विमानस्थलबाट हुने तस्करमा बदनामी भोगिरहेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल विभागको अनुसन्धानमा विश्वास गर्न आग्रह गर्छन् ।
अधिकृतस्तरबाट भइरहेको अनुसन्धानमा महानिर्देशकको संलग्नता भेटिए कसरी अनुसन्धान हुन्छ भन्ने प्रश्नमा महानिर्देशक पौडेल आफूमाथि पनि अनुसन्धान स्वीकार रहेको बताउँछन् । यसै विषयमा महानिर्देशक पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

क्वीन्टल बढी सुन बरामद प्रकरणमा भन्सारका कति कर्मचारी निलम्बित भए ?

हामीले भन्सारका तीनजना कर्मचारीलाई निलम्बन गर्यौं । अनि एकजना एजेन्टलाई निलम्बन गर्यौं । जे होस्, अहिलेसम्म चारजना निलम्बित भए।

पहिला पनि सुन आइरहेको थियो भन्ने छ । तीनजना भन्सारका कर्मचारी र एजेन्टलेमात्रै सुन तस्करी गर्न सक्ने संरचना हो हाम्रो ?

संरचना यस्तो या उस्तो भनेर चाहीं म भन्न सक्दिनँ । जाँचपासको आफ्नै प्रक्रिया छ । हाम्रो थप छानविन सुनसहित पक्राउ परेकाहरुबाट सुरु भएको छ । हामी तस्करलाई कडा रूपमा प्रहार गर्ने हिसाबले अघि बढिरहेका छौं । दुवै विभागको समन्वयमा काम भइरहेको छ । अनुसन्धानमा थप जसको संलग्नता देखिए पनि कसैलाई छोडिन्न । तत्काल हामीले कर्मचारीलाई निलम्बन गरेका हौं । अरुको देखियो भने उनीहरूलाई पनि कारवाही गर्नबाट हामी पछि हट्दैनौं । तर कसैलाई पनि कानुनी कारवाही गर्न आधार र प्रमाण त चाहियो नि ! अनुसन्धान भइरहेको विषयमा यही हो भन्न पनि मिल्दैन । तर अनुसन्धानले दुधको दुध पानीको पानी छुट्याउँछ ।

सुन तस्कर भएको दिन विमानस्थल भन्सार प्रमुख बिदामा हुनुहुन्थ्यो । त्यत्रो सुन ल्याउँदा चाउचाउ ल्याएजसरी त पक्कै ल्याउँदैन । त्यसमा केही न केही समन्वय हुन्छ । यसरी बिदामा बसेका भन्सार प्रमुख अनुसन्धानमा आउँछन् कि आउँदैनन् ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कोही संलग्न छ भने हामीले छोड्ने कुरा हुँदैन । सबै अनुसन्धानको दायरामा आउँछन् । सानो ठूलो या व्यक्तिगत रूमा यो र ऊ भन्ने हुँदैन । अनुसन्धानमा देखिएका मान्छे कोही पनि छुट्दैनन् ।

सुन प्रकरणको अनुसन्धानमा सुन पानी छर्किने काम पनि भइरहेको छ भनिन्छ नि ?

यस्तो राजनीतिक कुरा मैले कसरी भनूँ ? हामीले हाम्रो काम इमान्दारितापूर्वक गर्छौं । यसैमा विश्वास गर्नुस् । हामी सुन तस्करसँग मिलेर पैसा खाने र त्यो किसिमको घटिया मान्छे पनि होइन । यति कुरा मैले प्रष्ट भनें । त्यहाँ कोही पनि संलग्न भएको पाइएमा कोही पनि छुट्दैनन् । सबै कारवाहीको दायरामा आउँछन् । हामी निर्मम रूपमा प्रहार गर्छौं ।

३३ किलो सुन प्रकरणको अनुसन्धान गर्न बनेको छानविन समितिलाई अभियुक्तले सुन प्रकरणमा हुण्डि पनि जोडिएको हुन्छ र त्यसमा भन्सार विभाग र अर्थ मन्त्रालयमा लामो समय बसेका कर्मचारीबिना यो सम्भव छैन भनेका छन् । यस्तो अवस्थामा अधिकृतले गर्ने छानविन फितलो हुँदैन ?

मैले ३३ किलो प्रकरणमा के भएको थियो भनेर हेरेको छैन । मैले अहिले आफूलाई दिइएको अधिकारक्षेत्रभित्र बसेर काम गर्ने हो । कानुनको दफाले कसैलाई सानो ठूलो भन्दैन । संलग्नता भेटिएमा सबै मान्छे कारवाहीको दायरामा पुग्छन् ।

भोलि अनुसन्धान अधिकृतलाई कसैले तपाईंहरूकै नाम पोल्दियो भने उनीहरूले तपाईंमाथि पनि अनुसन्धान गर्छन् ?

हाम्रो कल डिटेल्सलगायत सारा कुरा हेरे हुन्छ । जसको नाम पोलेपनि के फरक पर्यो र ? संलग्नता छैन भने किन डराउनुपर्यो ? सानो ठूलो भन्ने नै हुँदैन । अनुसन्धानको दायरमा सबै आउँछन् ।

अहिले अनुसन्धान कत्ति सफलताको नजिक पुगेको छ ?

अनुसन्धानको कुरा सबै अहिले बताइहाल्न पनि मिल्दैन । उनीहरूले आफ्नो हिसाबले गर्छन् । भन्सार नियम ऐनले अनुसन्धान गर्न उनीहरूलाई स्वतन्त्र छोडिदिएको छ । कसैले कसैलाई रोकेको छैन । उनीहरूले आफ्नो शैलीले अनुसन्धान गर्छन् । हामीलाई यसमा शंकै गर्नुपर्दैन । त्यसलाई डटेर तस्करी उपर प्रहार गर्छौं ।

ताजा अपडेट

नेपालवाच विशेष