NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते
अनुभूति

जागिरे चुरीफुरी र दरवारको सम्बन्ध

प्रसङ्ग १ : भीभीआइपी लन्जमा देखिएको प्रशासनिक व्यवहार

पञ्चायतकालीन प्रशासकहरुको अहिले पनि प्रशंसा गरिन्छ । उनीहरुको काम गर्ने शैली र नेतृत्वको सँधैभरि चर्चा गरिन्छ । आजभोलि निजामती सेवाको छवि गिर्दै गएको सन्दर्भमा त त्यस्ता पो प्रशासक भन्ने भाष्यले स्थान पाएको छ । हो, कतिपय प्रशासक उम्दा, आदर्श र प्रशासनिक नेतृत्व दिन सफल थिए । लुकेको सत्य के हो भने उनीहरुको पछि व्यापक अप गर्ने शक्ति थियो, त्यो हो दरवार ।

दरवारको व्याक अप भएका कर्मचारीहरु ओहोदामा सानै भएपनि निकै चुरीफुरी देखाउँथे, पञ्चहरुलाई पनि गन्दैनथे, उनीहरुको सरुवा पदस्थापन पनि भनेको स्थानमा हुन्थ्यो । कतिपय उच्च प्रशासकहरु त लोकसेवाको मुखै नदेखी, खरिदार पनि पास नगरी सचिव, मुख्य सचिव, राजदूत, अञ्चलाधिश जस्ता पदहरुमा विराजमान हुन्थे र लोकसेवा परीक्षामा उम्दा ठानिएकाहरुलाई, उपदेश–आदेश दिन्थे ।

योग्यता र ल्याकतमा माथि पुुगेकाहरु दरवारियाहरुसँग विवेक थाती राख्न बाध्य हुन्थे । दरवारसँग सम्बन्ध नभएका सचिवहरु पनि निरीह भएर जागिर खान्थे । दरवरको फोन आउँदा पनि (जसको आएपनि) कर्मचारीको समाजमा हाक–धाक र शान–सौकतमा पुुग्थे ।

ना सु को परीक्षा पास गरेपछि मलाई लोकसेवा आयोगले हवाई विभागमा नियुक्तिका लागि सिफारिस गर्‍यो । सिफारिस पत्र बोकेर का मु महानिर्देशक ललितविक्रम शाहको कार्यकक्षमा पुुगेँ । ज्ञानेश्वर सानोगौचरमा डेरा गर्दै आएको र महानिर्देशकको घर पनि त्यही भएकोले उनको विषयमा सुनेको थिएँ । उनी हकी स्वभावका र लागेका कुरा गर्ने इमान्दार प्रशासक मानिन्थे । त्यसो त उनी राजाका भिनाजुका भाइ पर्थे भन्ने सुुनेको थिएँ । जसको जे परे पनि महानिर्देशक र कर्मचारीको सम्बन्ध कामसँग रहेने हो । उनलाई सबैले ‘ललित राजा’ भन्दा रहेछन् । उनी सामान्य परिवारबाट जागिर खाँदै महानिर्देशक बने पनि उनको व्यवहार सामान्य थियो । तर वरिपरिको माहौल र उनलाई आवश्यकभन्दा बढी मानमर्यादा गर्ने घेराले उनलाई सामान्य बन्न त्यति दिँदो रहेनछ ।

‘सर’ भन्नुपर्ने व्यक्तिलाई सबैले ‘राजा’ भनेपछि सराउण्डिङ नै अर्के हुँदो रहेछ । निजी सचिवलाई सिफारिस पत्र दिएँ र महानिर्देशकज्यूलाई भेट्न आएको भने । ‘राजा व्यस्त होइसिन्छ म तोक लगाएर ल्याउँछु’ भनेपछि जवर्दस्ती गर्ने कुरा पनि भएन । नियुक्ति लिन आएकोले संस्थाको प्रमुखलाई भेटेर चिन्न पाएँ, निर्देशन लिएर काम गर्न पाए हुने भन्ने मनमा थियो । खरिदार भैसकेकाले जागिरको अलिअलि कुरा थाहा भैसकेको थियो । निजी सचिवले तोक लगाएर ल्याएपछि त्यो पत्र प्रशासनको सहायक सचिव कहाँ गयो । शायद प्रशासनको सहायक सचिवमा रघुनाथ अर्याल थिए । उनैले मलाई नियुक्ति दिए तर पदस्थापन भने त्रिभुवन विमानस्थल कार्यालय भयो, अतिविशिष्ट व्यक्तिका लागि निर्मित कक्ष (भीभीआइपी लन्ज) मा म काम गर्न थालें ।

सानो गौचरमा डेरा गर्ने, ललित राजाको घर नजिक, पक्कै उनीसँग राम्रो भएको मानिस हुनुपर्छ भन्ने अफवाह फैलिएछ । कतिपय त मसँग सम्बन्ध पनि बनाउन थाले । मैले भने उनको नाम मात्र सुनेको, मोटरमा देखेको मात्र थिएँ । महिना पछि सरकार सवारीको सिलसिलामा भीभीआइपी निरिक्षणमा आउँदा मात्र चिने । ‘उहाँ सुव्वा’ भनेर चिनाइयो । विमानस्थलका उच्च कर्मचारी समेतले घेरा हाल्थे, मैले कुरा गर्ने अवसर कहाँ पाउथेँ ? काम नपरी धाएर विभाग जाने कुरा पनि भएन । मेरो उनीसँग खासै सम्बन्ध रहेनछ भन्ने भएपछि विमानस्थलका कर्मचारीले मप्रति हेर्ने दृष्टिकोण त बदलियो नै, पेल्न पनि थाले । सुुब्बा भएर पनि गन्दैन आदि भनेको सुनियो । तर मेरो शाखालाई चाहिनेसामान भने तत्काल पाउँथे, राजा भ्रमणमा आउजाउ गर्दा र औपचारिक भ्रमणमा सरकाररराष्ट्र प्रमुखहरु आउजाउ गर्दा प्रयोग गरिने स्थान भएकोले त्यो स्वाभाविक थियो । तर कार्यालयले सबैजसोलाई दिइने अतिरिक्त समय भत्ता, खाजा जस्ता सुविधा भने दिइएन ।

कार्यालय सहयोगी, खरिदार, ना सु, अधिकृत, उपसचिवहरु सवै दरवारका एडिसी, सुरक्षा कर्मी, परराष्टका कर्मचारीहरुलाई आवश्यक?अनावश्यक मोलाहिजा राख्थे । मलाई भने त्यो तलव थिएन । एकोहोरो काम गर्ने, फुर्सदको समय शाखा अधिकृतको परीक्षाका लागि पढ्ने गर्थेँ । कार्यालय सहयोगीहरु पनि सुव्वा साहवले जागिर खान जानेको रहेनछ भन्न थालेछन् । माथि माथि आउजाउ भएकाहरुले तलकालाई वास्तै नगर्ने कल्चर रहेछ । कतिपयले त नमस्कार गरेको पनि फर्काउदैनथे, तर दरवारका मानिस, सचिव, ललितराजाहरु आउँदा उहाँहरुको व्यवहार हेर्न लायक हुन्थ्यो । मलाई जे लागे पनि उनीहरु त्यसैमा रमाएका थिए ।

लोकसेवाको परीक्षामा मेरो नाम सामान्य प्रशासन र कुटनैतिक दुवै समूहमा निस्केछ । स्पेनका राजा ह्वा कार्लोस आउने भएकोले भीभीआइपी कक्ष तयारीको रिहर्सल गर्न मन्त्रालय, दरवार र परराष्ट्रका ठूलाबडाहरु आएका थिए । बैठक कक्षमा परराष्ट्र मन्त्री शैलेन्द्र उपाध्याय, सचिव नरेन्द्रविक्रम शाह, शिष्टाचार महापाल अर्जुनबहादुर सिंह, सेनापति, प्रहरी महानिरिक्षक लगायतका उच्च पदाधिकारीहरु अनौपचारिक कुरा गर्दै थिए । मेरो नाम कुटनैतिक समूहमा निस्केकोमा अर्जुन सरलाई आश्चर्य लागेछ ।

उनको जिस्कने बानी थियो, बोलिरहन्थे । रमाइला कुरा गर्थे । दरवारसंगको नाता र उठबसका कारण उनले विशेष व्यवहार पाउँथे । मन्त्रीलाई पनि त्यति भाउ नदिइ कुरा गर्थे । सवारीका सिलसिलामा मसंग पनि धेरै पटक कुरा भएको थियो । मलाई ‘बाहुन’, ‘सुुब्बा बाजे’ ‘तिमी’ भन्थे । तिमी त नभने पनि हुने नि भन्ने सोच्थेँ तर उनीहरुबाट त्यो शव्द नै बढी रुचाइन्थ्यो । यत्तिकैमा शिष्टाचार महापालले बोलाए ‘ए सुब्बा बाजे, तिमीले कुटनीतिमा पास गरेका रहेछौ । दरवारमा को कोसंग चिनजान छ ? परराष्ट्रमा को कोसँग चिनजान छ ? परराष्ट्रको जागिरमा दरवारसंग सम्बन्ध नभए के जागिर खान्छौं ?’ एक छिन त के भनौं जस्तो भयो, प्रसङ्ग पनि कस्तो कस्तो लाग्यो । अनि मैले पनि जवाफ दिए– ‘मेरो सर, हजूरहरु भैहाल्नु हुन्छ नि ।’

बोलेर नथक्ने अर्जुन सरले भने–‘बाहुनचरी उसो भए खालाउ जागीर, बाहुनीलाई पाल्लाऊ । म ठकुरीको छोरो भएर त सबै रौँ फुल्दा पनि राजदुत हुन सकेको छैन । तिमी परराष्ट्रमा आउने ? आएर के गर्लाऊ ? त्यहाँ जागिर खान त कि ठकुरी हुुनुपर्छ, कि रत्नमान काजीका सन्तान हुनुुपर्छ, नभए दरवारसँग नजिक हुनुपर्छ । होइन भने (गणेशमान ना सु तिर देखाउँदै) उसैको जस्तो जागीर खालाऊ ।’

मन मनै गमेँ । परराष्ट्रमा धेरै मानिसहरु उनले भनेजस्तै थिए । जसको प्रगति भएको छ, ती त्यस्तै थिए । एक मनले सोचेँ परराष्ट्रको जागिर हामी गाउँघरका मानिसका लागि होइन, ठूलाबडाको सन्तानका लागि हो । अर्को मनले सोचें, होइन हामीहरु जस्ता त्यहाँ पुुगेपछि परिवर्तन आउँछ । अन्तरवार्ताको क्रममा दुुईतिर पास गर्नेलाई लोकसेवाले कता जाने इच्छा छ भनेर रोजायो । अर्जुन सरले भनेको सम्झेँ, मेरो इच्छा प्रशासनमा हो । अर्जुन सरले भनेको कुरा मनभित्र चेत/अवेचत तहमा भएकोले अनायास ‘प्रशासन’ भन्ने आएको होला ।

तर एउटा प्रश्नको उत्तर भने पछिसम्म पनि पाइन । किन मलाई सबैजसो ठूलावडा, दरवारियाहरुले तिमी भनेका होलान् ? अर्जुन सरले त्यति विध्न मेरो कुरा गर्दा किन अरुले कुनै चासो नराखेका होलान् ? समाजमा गढेर रेहको त्यो सम्भ्रान्तवादी संस्कार अहिले पनि कुनै न कुनै रुपमा रहेको पाइन्छ ।

प्रसङ्ग २ : गोरखा दक्षिणबाहुको चकचकी

अहिले विभूूषण र पुरस्कारमा पक्षपात भयो भनेर खुवै चर्चा गरिन्छ । त्यतिबेला पनि गोरखा दक्षिणबाहु लगायत राजाले दिने तक्मामा व्यापक गुनासो थियो तर त्यो बाहिर आउन सक्दैनथ्यो । राजाको बार्षिक रुपमा हुने देश भ्रमणमा त्यहाँका चुरीफुरी गर्ने कर्मचारीले यस्ता तक्मा पाउँथे । दरवारले मन पराएका कर्मचारीलाई त विभूषण समितिले सिफरिस नै नगरे पनि राजाको जन्मोत्सवको दिन छातीभरिको तक्मा लगाउन पाउँथे । तक्मा पाउने यसै पनि ठूला हुन्थे, तक्मा पाएपछि झनै ठूला हुन्थे । बढुवा, मनोनयन, विशेष जिम्मेवारीमा पनि यसको भूमिका हुन्थ्यो ।

दरवारका सचिव, प्रमुख सचिव, एडिसी, श्री ५ को सरकारका मुख्य सचिव, गृह सचिव नजिककाहरु तक्माको प्राथमिकतामा पर्थे । काम मात्र गरिरहने, दूरदराजमा बस्नेहरुले जति नै असल राष्ट्रसेवक भएपनि विभूषित हुन कहाँ पाउथे र ?

एकजना साथीका आफन्त मुख्य सचिव थिए । उनले आफू आफ्ना घरका तीनजनाले पालैपालो गोरखा दक्षिणबाहुु लिएछन् । उनीसँगै पढेका, सँगै नियुक्ति पाएका, जिल्लामा काम गर्ने साथी भने आफ्नो साथीले तक्मा पाएकोमा मक्ख थिए, विचरा आफूले पाउने उनेले कल्पना पनि गरेका रहेनछन् ।

जिल्लामा धुलोमैलो गर्ने साथी आफ्नो साथीको दरवारसंग राम्रो सम्बन्ध रहेछ भनेर खुसी हुनुुको विकल्प थिएन । जिल्लामा कहिले काम नगर्ने तर माथि माथि राम्रो सम्बन्ध भएको गुड्डी हक्ने साथीले पनि छातिभरिको तक्मा पाए । कति केही कर्मचारीले त सवारी सिविरमा रानीलाई गीत सुनाएर, कविता सुनाएर पनि तक्मा, हुकुम प्रमाङ्गी बढुवा खाएका थिए । तक्मा पाउने एकाध त राम्रा पनि हुन्थे । राम्रा व्यक्तिको नाम राजा समक्ष नै पुुग्दनथ्यो । सिडियो, अञ्चलाधिश, सचिवहरुले आफ्नै आसेपासेलाई नै सिफारिस गर्थे । तक्मा पाउने सबैजसो राष्ट्रले सम्मान गर्न लायक हुँदैन थे । भारतको पद्य विभुुषण, मलेसियाको तानश्री पाउनेहरुको सामु सबैको शीर झुुक्छ । पाउनु पर्ने थोरैले विभूषणका थिए भने विभूूषणको पनि गरिमा हुन्थ्यो, विभूषितको पनि इज्जत बढ्थ्यो ।

म उप सचिव भएपछि कुनै बर्ष मेरो सुपरिवेक्षकले तपाईको नाम गोरखा दक्षिण बाहुमा सिफारिस गर्छु, माथि तपाई फलो अप गर्नुस् भने । मैले विनम्रतापूर्वक अनुरोध गरेँ, ‘प्लीज मेरो नाम सिफारिस नगिरियोस्’ । धेरै त्यस्तै व्यक्तिको कोटीमा आफू दरिन मलाई मन थिएन । तक्मा भनेर सिफारिस गर्ने कुरा पनि थिएन ।

प्रसङ्ग ३ : जाँचबुुझ केन्द्रका विगविगी

राजाको देश दर्शन कार्यक्रम शुरु हुनु केही महिना अघिबाट दखिने र नदेखिने गरी जाँच बुुझ केन्द्रका कर्मचारीहरु दौडाहा गर्थे । जाच बुुझ केन्द्र दरवारको महत्वपूर्ण सूचनाहरु सङ्कलन र विश्लेषण गर्ने पोलिसी रिसर्च विङ्ग थियो । यो राष्ट्रिय अनुसन्धान कार्यालय, अख्तियार दुरुपयोग अनुुसन्धान आयोग, विशेष प्रहरी विभागकै समानान्तर अङ्ग थियो । ती निकाय भएपछि यो केन्द्र चाहिने थिएन, तर प्रश्न उठाउने ताकत कुनै प्रशासक, पदाधिकारीमा थिएन । जाँचबुुझ आयोग भनेपछि जिल्ला आतङ्कित नै हुन्थ्यो । कर्मचारीहरु सतर्क हुन्थे, एकले अर्काप्रति खुलेर कुरा गर्न सक्दैन थे ।

राजाको सवारी भन्दा डेढ महिनाजति अघि म कार्यरत हिमाली जिल्ला डोल्पामा एकजना व्यक्ति आए । पूरा परिचय पनि दिएनन्, म माथिबाट आएको धेरै नसोध्नुहोस्, सोधेको जवाफ दिनुहोस मात्र भने । उनी निकै अन्तर्मुखी स्वभावका थिए । शायद संस्थाले पनि त्यस्तो बनाएको होला ।

होटेलमा एउटा कोठा भनिदिएँ । उनी केही दिन सदरमुकाम रहे, पञ्च कार्यकर्ताका विषयमा जिज्ञासा राखे, विकास गतिविधिका विषयमा सोधे । आयोजना र उपभोक्ता समितिमा प्रश्न गरे । शिक्षकहरुका विषयमा साधे । तर बिहान बेलुका बजारमा एक्लै हिड्थे । रक्सी, माछा, मासु पनि खाएजस्तो लागेन । उनको व्यक्तित्व जस्तो भएपनि माथिबाट आएको भनेपछि सबै थर्कमान ।

धो, साल्दाङमा गुम्वा, उपभोक्त समितिको काम र लामाहरुलाई भेट्ने भनेपछि बुद्धि नामको कार्यालय सहयागीलाई राम्रोसँग भनेको ठाउँमा घुमाएर ल्याउनु भन्दै पाँच पाथीजति चामल, केही सीमी, आलु र नून मसला दिएर पठाइदिएँ । बुद्धिले शायद अलि असजिलो बाटो लगेछन् क्यारे, आँउदा त निकै आत्तिएर आए । त्यसपछि परिचय पनि खोले । उनी दरवारको जाँच बुुझ केन्द्रका उपसचिव रहेछन् । कथा कविता पनि लेख्दा रहेछन् । जिल्लाको जटिलता र आफ्नो समस्याको कुरा बताएँ । मलाई सल्लाह दिँदै भनेको कुरा अहिले पनि सम्झना आउँछ –‘बिहानको स्वच्छ हावामा भेरीतिर फर्केर कविता लेख्नुहोस्, प्रकृतिसँग रमाउनुहोस्, दिउँसोभरि अफिसमा काम गर्नुस् । राती दिनभरिको कामको समीक्षा गर्नुहोस् । तपाईहरु जस्तो युवा मान्छे दुुर्गमको जटिलताबाट डाराएर हुन्छ ?’

उनी काठमाडौं फर्केपछि नराम्रो रिपोर्ट दिएर परीक्षणकालको अधिकृतलाई तलमाथि त पार्दैनन् भन्ने सोचेँ । त्यसो केही भएन । नियतिले केही बर्षपछि एकै मन्त्रालयमा पनि काम गर्न थाल्यौं तर डोल्पाको कुरा कहिले उच्चारणसम्म गरेनन । त्यहा पनि अन्तरमुखी र अव्यावहारिक जस्ता नै देखिए । तर पञ्चायत व्यवस्थासँगै जाचबुुझ केन्द्रपनि विघटन भएपछि उनको चरीफुरी भने सकियो । कर्मचारीहरु पनि उनलाई उपहास पो गर्न थाले । जनप्रतिनिधिहरुले पनि महत्व दिएनन् ।

प्रसङ्ग ४ : अरुलाई कडा तर बिहान दरवारका सचिवकोमा लाइन

पहिला उम्दा र कडा भनिएका कतिपय कर्मचारीहरु दरवारसँग सम्बन्ध बढाउन राजाका सचिव, प्रमुख सचिवहरुको घरमा जाने गर्थे । त्यसबाट उनीहरु शक्ति प्राप्त गर्थे र त्यसलाई सदुपयोग वा दुरुपयोग गर्थे भन्ने कुरा पूर्व प्रशासक भरत शर्माको ‘निर्मल दृष्टिमा राजा बीरेन्द्र’ भन्ने केही अघि प्रकाशित संस्मरणमा बडो राम्ररीे उल्लेख गरिएको छ ।

भरत शर्मा कडा स्वभावका कर्मचारी थिए । उनले नागार्जुन दरवार, पशुपति क्षेत्र गुरुयोजना, काठमाडौं विश्वविद्यालय आदिको डिजायनमा राजा बीरेन्द्रसंग नजिक भएर काम गरेका थिए । थाहा पाउनेहरु उनलाई छुट्टै दृष्टिले हेर्दा रहेछन्, थाहा नपाउनेले भने ‘साना मुख बडी वात’ भनेर होला खेद्दा रहेछन् । थाहा नपाएका कारण मन्त्री, अञ्चलाधिश, सचिव, सहअञ्चलाधिशले उनलाई सही व्यवहार गर्दा रहेनछन् (ती सबैलाई उम्दा मन्त्री, प्रशासकका रुपमा लिइन्छ) ।

एक दिन शर्माजी विशेष कामले सचिव नारायणप्रसाद श्रेष्ठबाट बोलावट भएर उनकोमा जाँदा श्रेष्ठ भने व्याडमिन्टन खेलिरहेका रहेछन् । भरत शर्मालाई बस्दै गर्नुस भनेर खेल सकेर आउदा शर्माले भने आफूभन्दा अघिदेखि आएका सचिवलाई भेट्न अनुरोध गर्दा श्रेष्ठले ‘उनीहरु व्यक्तिगत मतलवले आइरहेका छन्, जति पनि पर्खन्छन्, छोड्नुस्’ भनेछन् । यसले त्यतिबेलाको प्रशासनको एउटा पाटोलाई उघारेको छ । उनको कितावमा उल्लेख भएका कुराहरुले शासन, प्रशासन र विज्ञताको तत्कालीन चित्र उतारेको देखिन्छ ।

उपसंहार

इतिहासमा नलेखिएका यस्ता घटना र प्रशासनिक व्यवहारले प्रशासन व्यवस्थालाई परिस्कार गरी जीवन्त प्रणालीका रुपमा निरन्तरता दिन केही भएपनि शिक्षा दिन्छ । अहिले नेपालको प्रशासन त्यतिबेलाको भन्दा पढलेखा, योग्यतामुखी, सीपयुक्त भएपनि समग्र प्रशासनको साख गिरिरहेको छ । सवैले उतिवेलाको प्रशासन र प्रशासकको नाम लिइरहेका छन् । कर्मचारीको मनोवल पनि खस्केर गएको छ । व्यावसायिकता र सदाचारमाथि औलो उठेको छ । राम्रो काम गर्ने कर्मचारीलाई संरक्षण हुँदा प्रणाली राम्रो हुन्छ, राम्रो काम नगर्नेलाई संरक्षण भयो भने दरवारको सम्बन्धमा चुरीफुरी गर्ने परम्पराले नै निरन्तरता पाउँछ । अहिले दरवार त छैन, राजनैतिक दल, समूह र क्रोनीहरुले त्यो काम गरिरहेका हुनसक्छन् । फेरि पनि इतिहासले सिकाएको कुरा के हो भने प्रशासन दयाले होइन, न्यायले चल्छ । अनुचरले होइन, व्यावसायिकताले चल्छ । व्यक्तिगत स्वार्थले व्यक्तिको मनोवल कमजोर पार्छ, त्यस्ता व्यक्तिहरु संस्थाको नेतृत्वमा पुुग्दा संस्थाकै मनोवल गिर्छ ।