दण्ड

भारतले हालसम्म १५औं प्रधानमन्त्री पाइसकेको छ । जवाहरलाल नेहरूदेखि नरेन्द्र मोदीसम्म आउँदा भारतले विभिन्न विशेषताका प्रधानमन्त्री पायो । यीमध्ये निकै आदर गरिने पूर्वप्रधानमन्त्री हुन् , लालबहादुर शास्त्री । उनलाई इमानदार, सादगी र देशभक्त पूर्वप्रधानमन्त्रीका रूपमा लिइन्छ । यही कारण उनलाई मरोणपरान्त ‘भारत रत्न’द्वारा सम्मान गरिएको थियो ।
लालबहादुर शास्त्रीको जन्म सन् १९०४ मा मुगलसराय, उत्तर प्रदेशमा भएको थियो । सुरुमा उनको नाम लालबहादुर श्रीवास्तव थियो। उनको पिता शारदाप्रसाद श्रीवास्तव (नाई) एक गरीब शिक्षक थिए, जो पछि राजस्व कार्यालयमा लिपिक (क्लर्क) भए ।
उनको औपचारिक शिक्षा हरिचन्द्र उच्च विद्यालयबाट सुरु भएको थियो । पछि उनले काशी विद्यापीठबाट शास्त्रीसम्मको अध्ययन पूरा गरे । त्यसपछि उनको नामको पछाडि रहेको श्रीवास्तव लुप्त भएर शास्त्री हाबी भयो ।
भारत स्वतन्त्र भएपश्चात शास्त्रीलाई उत्तर प्रदेशको संसदीय सचिवको रूपमा नियुक्त गरिएको थियो। त्यसको केही समयपछि गोविन्दवल्ल्भ पन्त उत्तर प्रदेशको मुख्यमन्त्री नियुक्त भए । गोविन्दवल्ल्भ ले शास्त्रीलाई मन्त्रीमा नियुक्त गरे र प्रहरी एवं यातायात मन्त्रीको जिम्मेवारी दिए ।
यातायात मन्त्री छँदा गरेको केही कामको जस उनलाई दिने गरिन्छ । शास्त्री तिनै व्यक्ति थिए जसले चरम लिंगीय विभेद रहेको भारतमा उतिबेलै महिलालाई कन्डक्टरको रूपमा नियुक्त गरेका थिए ।
कुनै न कुनै नयाँ र स्मरणीय काम गर्ने बानी परेका उनले प्रहरी विभागको मन्त्री भएपछि गरेको काम पनि सदा स्मरण गरिन्छ । त्यो थियो, भीड नियन्त्रणमा लाठीको सट्टा पानीको फोहोरा प्रयोग गर्ने ।
उनी सन् १९५१–१९५६ सम्म केन्द्रीय मन्त्री बनेका थिए । दुर्भाग्य, त्यही समय भारतमा रेल दुर्घटना भएर कैयनको ज्यान गयो । त्यो दुर्घटना शास्त्रीका कारण भएको थिएन । तर रेलसम्बन्धी विभागीय मन्त्री आफू भएको भन्दै उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिए । पछि १९५७ मा उनी पुनः मन्त्री नियुक्त भए र. । यसपटक भने उनले सन् १९६४ सम्म ७ वर्ष काम गरे ।
१९५१ मा जवाहर लाल नेहरूको नेतृत्वमा अखिल भारत कंग्रेस गठन भएको थियो, जसमा उनलाई महासचिवको जिम्मेवारी दिइएको थियो । १९५२, १९५७ र १९६२ मा भएको संसदीय चुनावमा कंग्रेसले अत्यधिक बहुमत हासिल गर्यो । जसमा शास्त्रीको भूमिका उल्लेख्य थियो ।
जवाहरलाल नेहरुको निधनपछि ९ जुन, १९६४ मा शास्त्रीको काँधमा देशकै नेतृत्व लिनुपर्ने अभिभारा आयो । उनी प्रधानमन्त्रीमा नियुक्त भए । प्रधानमन्त्री र मन्त्री हुँदा उनले कैयन् सुधारवादी र यादगर कार्य गरेका थिए । त्यसमध्ये रेल मन्त्री छँदा गरेको कामलाई अहिले पनि सम्झने गरिन्छ ।

रेलमन्त्री छँदा लालबहादुरलाई बनारसबाट दिल्ली जानुपर्ने भयो । उनले पहिल्यै टिकट लिए, रेलको । तर कारणवश शास्त्री निर्धारित समयमै रेल स्टेशन पुग्न सकेनन् ।
स्टेशन मास्टरले शास्त्रीले उक्त रेलको टिकट काटेको थाहा पाएका थिए । उनी रेल मन्त्रीको व्यग्र प्रतीक्षामा थिए । तर शास्त्री निर्धारित समयमा आइनपुगेपछि उनले मन्त्री नआउँदासम्म रेल रोक्न निर्देशन दिए । थितिमा भन्दा वेथितिमा बढी लगाव भएकाले हाम्रोमा यस्तो कुरा सामान्य लाग्छन् । घण्टौं अन्य यात्रुलाई कुराएर आफ्नै कारण प्लेन डिले हुँदासमेत नेताले कुनै अप्ठ्यारो महसुस गरेको देखिँदैन ।
यत्तिकैमा रेल मन्त्री शास्त्री आइपुगे र रेल चढे । त्यसपछि बल्ल स्टेशन मास्टरले रेललाई अघि बढ्न ग्रिन सिग्नल दिए ।
स्टेशन मास्टरलाई लागेको थियो, मन्त्री आफ्नो कामले खुसी भए होलान् । तर उनको अपेक्षाविपरीत रेल मन्त्री निकै रिसाए । हजारौं यात्रीलाई रोकेर दुःख दिएको भन्दै आक्रोसित भए ।
शास्त्रीलाई यो घटनाले निकै छोएको थियो । त्यसैले उनले मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक हित र सुविधाप्रति चरम लापरबाही गरेको भन्दै ती कर्मचारीलाई सेवाबाटै बर्खास्त गरे ।
प्रतिक्रिया