NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रचण्डको उत्तराधिकारी को ?

काठमाडौं ।  माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी तयार नगरिएको भन्दै नेतृत्वको आलोचना भएको छ । तीन दशकभन्दा बढी पार्टी प्रमुख रहेका दाहालको कार्यशैलीको नेताहरूले खुलेर आलोचना गरेका छन् ।

चार दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै नेताहरूले ‘उही माओवादी, उही क्रान्तिकारी प्रचण्ड’ नरहेको बताएका छन् । उनीहरूले पार्टीमा आन्तरिक लोकतन्त्र धरापमा परेको, सामूहिक निर्णय प्रक्रिया त्यागिएको, नातावाद हावी भएको, इमान्दार नेता–कार्यकर्तालाई पाखा लगाइएको, अवसरवादी चलखेल भएको आरोप लगाउँदै सुधारको थालनी नेतृत्वबाटै हुनुपर्ने माग गरेका छन् ।

करिब डेढ वर्षपछि बसेको बैठकमा नेताहरूका आलोचना र सुझावलाई अध्यक्ष दाहालले चार दिनदेखि डायरीमा टिपिरहेका छन् । सबै केन्द्रीय सदस्यले बोलिसकेपछि उनले आइतबार त्यसको जवाफ दिनेछन् । बैठकमा शनिबार उपमहासचिव वर्षमान पुनले दाहालको विकल्प तत्काल कसैले नखोजेको बताउँदै उत्तराधिकारी तयार नगरेकामा असन्तुष्टि व्यक्त गरे । उनले उत्तराधिकारी निर्माणको विधि विकास गर्नुपर्ने बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,’ उनले भने, ‘तर उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’

माओवादीले लिएको बाटो सही भए पनि विधि नहुँदा काम प्रभावकारी नभएको बताए । ‘पार्टीमा समस्या विचारको नभई विधिको हो, पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्छ,’ उनको भनाइ थियो । विधान सम्मेलन गरी सांगठनिक समस्या हल गर्नर्पुर्ने उनको भनाइ थियो । पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना भएकाले हाल सरकारको मोर्चा बलियो बनाएर जानुपर्नेमा उनले जोड दिए ।

पुनले आफ्नै पार्टीका नेता भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए पनि उन्मुक्ति दिन नहुने विचार राखे । ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ, अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ,’ पुनको भनाइ थियो, ‘कुनै पनि हालतमा यो अभियान रोकिनु हुँदैन, छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ ।’ उनले भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको बताए ।

पार्टी सुदृढीकरण अभियानका लागि पुनसँग सहकार्यको सहमति गरेका अर्का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र लोकतान्त्रिक संस्कारलाई स्वीकार गर्नुपर्ने बताए । लिखित धारणा राख्दै उनले दाहालले नै धार छुट्याएको आरोप लगाए । ‘अध्यक्ष कमरेडले बेला–बेला त्यसमै धार लाइदिनुहुन्छ, तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ,’ उनले भने, ‘अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ । हामी तपाईंकै हौं, दुई जना (आफू र वर्षमान पुन) मध्ये महासचिव जसलाई बनाए पनि मान्य हुन्छ भनेर अनुरोध गर्दा नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’

उनले कठिन परिस्थितिमा अध्यक्ष दाहालसँगै उभिए पनि अविश्वास गरेको भन्दै गुनासो गरे । ‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु,’ उनको प्रश्न थियो, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुनचाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन ? तल–तल कुनचाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ?’ उनले विधि, विधान, पद्धति, प्रणाली मिचिएको बारे उठाउनैपर्ने कुरा उठाउनुलाई कमजोरी मान्न नसकिने बताए ।

उनले सरकारको सुशासनको अभियानलाई समर्थन गर्दै २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्ने प्रस्ताव संसद्मा गरेको प्रसंग जोडे । ‘पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ तर मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरेर सम्पत्ति फकुवा गरेको पत्र देखाएपछि यसबारे के भएको हो ? सत्य तथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनेको विषयलाई अपराध गरेको जसरी दुष्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ,’ उनले भने । ‘कसका घर कति छन् ? कसका के–के व्यवसाय छन् ? कसको बैंक ब्यालेन्स कति छ ? छानबिन गरौं, म तयार छु,’ उनको भनाइ छ, ‘कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनका लागि मार्गप्रशस्त गर्ने मै हुँ ।’ उनले पुस्तान्तरणका लागि पदाधिकारीले त्याग गर्नुपर्ने बताए । ‘अहिलेका पदाधिकारी र स्थायी समितिका कम्तीमा एक तिहाइले सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्छ,’ उनले भने, ‘नेतृत्वले अविश्वास र आशंकाले होइन, विश्वासका आधारमा व्यवहार गर्ने पद्धति विकास गर्नुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।