NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

महिला हिंसामा नेपालआजका सञ्चालक माधव गुरागाईं अपराधी ठहर

काठमाडौं । नेपालआज डटकमका सञ्चालक माधव गुरागाईं महिला हिंसा अभियोगमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका छन् । साथै उनलाई अदालतले २० हजार रूपैयाँ जरिवानासमेत सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले गत माघ २९ गते यसबारे फैसला गर्दै गुरागाईंलाई महिला हिंसा मुद्दामा दोषी ठहर गरेको हो ।

अदालतले गुरागाईंले कसुर गरेको ठहर गर्दै २० हजार जरिवाना, सोहीबमोजिम पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ । ६ महिनाअघि यसबारे फैसला सुनाएको अदालतले त्यसको पूर्णपाठ भने भर्खंरै उपलब्ध गराएको छ ।

‘प्रतिवादी (माधव गुरागाईं) ले अदालतमा बयान गर्दा समेत जाहेरवालासँग सम्पर्कका लागि ह्वाट्सएप र भाइबरमार्फत फोन गर्ने प्रयास गरेको, आवेशमा आएर जाहेरीमा उल्लिखित कुरा बोलेको भनी स्वीकार गरी बयान गरेको, मौकाको प्रतिवेदन तथा जाहेरीलाई समर्थित हुने गरी वादीका साक्षीहरू प्रतिवेदन तथा जाहेरवालाले अदालतमा आई वकपत्र गरेको देखिएको तथा प्रतिवादीले जाहेरीमा उल्लेख भएको म्यासेज तथा बारम्बार फोन गर्ने गरेको कुरालाई अन्यथा भन्न नसकेको देखिएको प्रतिवादीको कार्यबाट जाहेरवालालाई मानसिक तनाव तथा हैरानी पु¥याएको भन्ने देखिँदा प्रतिवादी (माधवप्रसाद गुरागाईं) ले आरोपित कसुर गरेकै देखियो,’ अदालतको फैसलामा भनिएको छ ।

व्यक्तिगत चरित्रहत्या गर्ने नेपालआजलाई प्रेस काउन्सिलले सूचीकरणबाट हटायो

महिलामाथि हिंसा गरेको ठहर गरेको अदालतले गुरागाईंलाई विद्युत्तीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम २० हजार रूपैयाँ जरिवाना गर्नुका साथै पीडित राहत कोषमा रु. ८०० क्षतिपूर्ति रकम जम्मा गर्न पनि आदेश दिएको छ । अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(२) मा अदालतबाट दोषी ठहर व्यक्तिबाट रकम असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।

‘…कारणबाट प्रतिवादी माधवप्रसाद गुरागाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम रु. २०,००० जरिवाना हुनुका साथै ऐ. ऐनको दफा ५६ बमोजिम पीडितलाई पुग्न गएको क्षतिसमेतका आधारमा पीडितले प्रतिवादीबाट रु. २०,००० क्षतिपूर्तिबापत रकम भराई लिन पाउने ठहर्छ,’ अदालतको आदेशमा अगाडि भनिएको छ, ‘यसका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(२) बमोजिम प्रतिवादी माधवप्रसाद गुरागाईंबाट क्षतिपूर्ति शुल्क बापत रु. ८०० असुल गरी पीडित राहतकोषमा जम्मा गरिदिने ठहर्छ ।’

व्यक्तिगत चरित्रहत्या गर्ने नेपालआजलाई प्रेस काउन्सिलले सूचीकरणबाट हटायो

पीडक गुरागाईंले फोन, सामाजिक सञ्जाल आदिबाट चार वर्षसम्म पत्रकार कञ्चन न्यौपानेलाई धम्क्याउने, तर्साउने तथा घर, कार्यालयसम्म पुगेर सताउने गरेका थिए । पीडितले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएपछि ०७८ चैत ८ मा काठमाडौं जिल्ला अदालतमा सञ्चालक गुरागाईंविरुद्ध विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

गुरागाईंलाई अदालतले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम दोषी ठहर गरी सजाय तोकेको हो । दफा ४७ (१)मा विद्युतीय सञ्चार माध्यमबाट महिलालाई जिस्क्याउने, हैरान गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । गुरागाईको हकमा अदालतले तोकेको यो सजाय न्यूनतम हो ।

पत्रकार न्यौपाने पुनरावेदनमा जाने

बिना प्रमाण बदनियतपूर्वक गुरागाईंले लगाएको आरोपलाई आधार मानेर अदालतले फैसला सुनाएको भन्दै पीडित पत्रकारले काठमाडौं जिल्ला अदालतको न्याय सम्पादनमा असन्तुष्टि जनाएकी छन् ।

पत्रकारलाई दुव्यर्वहार गर्ने गुरागाईंलाई कारबाही गर्न पत्रकार महासंघको माग

उनका अनुसार बयानसमेत बद्नियतपूर्वक परिवर्तन गरिएको छ । नियमतः अदालतले कसैको बयान आफूखुसी परिवर्तन गर्न पाउँदैन । आरोपलाई पुष्टिबेगर फैसलामा उल्लेख गरिएको, बयानसमेत फेरबदल गरिएको, पीडक पक्षको चाहनाबमोजिम न्यूनतम सजाय भएपछि पीडितले फैसलाका सम्बन्धमा पुनरावेदन गर्ने भएकी छिन् ।

दोषी ठहर हुँदासमेत हिंसा यथावत्

काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भई सजाय सुनाइँदासमेत उनले आफ्नो पुरानो चाल–चलनमा कुनै परिवर्तन नगरेको पत्रकार न्यौपानेले बताएकी छन् । उनका अनुसार, अदालतको आदेशपछि पनि उनले फेसबुक, ह्वाट्सएपलगायतबाट अश्लील सन्देश पठाएर तनाव दिने गरेका छन् ।

‘अदालतबाट दोषी ठहर भएपछि सुध्रिने अपेक्षा गरेको थिएँ । तर अहिले पनि उनले अश्लील सन्देश पठाएर हैरानी दिइरहेका छन् । यसले खाटा बसिसकेको मेरो पुरानो घाउ पुनः बल्झन थालेको छ,’ न्यौपानेले गुनासो गरिन् ।

चरित्रहत्या गर्ने नेपालआज डटकम कालोसूचीमा, विज्ञापन र प्रेस पास उपलब्ध नगराउन पत्राचार

अदालतबाट दोषी ठहर भएका गुरागाई धरान–१७ का स्थायी बासिन्दा हुन् । ३० वर्षीय गुरागाईंले केही समयदेखि नेपालआज डटकम नामक अनलाइन सञ्चालन गर्दै आएका छन् । सो अनलाइनले पत्रकारिताको न्यूनतम मूल्य र मान्यताको सीमा रेखा भत्काएर व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक र विद्वेष फैल्याउने, काल्पनिक तथा झुठा सामग्री लामो समयदेखि प्रकाशन गर्दै आएको छ । पत्रकार न्यौपाने नेपालवाच डटकममा कार्यरत रहेकाले गुरागाईंले यसका व्यवस्थापकलाई उनलाई सेवाबाट हटाउन पटक–पटक दबाब दिएका थिए । नेपालवाचले सत्य र न्यायको पक्षमा उभिएर पीडित पत्रकारको न्याय निरूपणमा सहायता गरेपछि उनले कपोलकल्पित, भ्रामक र निराधार आरोप लगाएर नेपालवाच मल्टिमिडिया, यसका सञ्चालक, कर्मचारी तथा पत्रकारको चरित्र हत्या गरेका थिए । पत्रकारिताको आवरणमा नेपालवाचमाथि झुठा, कपोलकल्पित र मनगढन्ते आरोप लगाएर चरित्र हत्या गरेपछि सञ्चारमाध्यमहरूको नियामक निकाय प्रेस काउन्सिल नेपालले ०७८ फागुन १३ मा उक्त अनलाइनलाई कालोसूचीमा राखेको थियो । कालोसूचीमा समावेशपछि पनि सञ्चालक गुरागाईंले उसैगरी व्यक्तिगत चरित्रहत्या र भ्रामक समाचारहरू प्रकाशन गर्ने श्रृंखला यथावत् राख्यो । त्यसपछि ०७९ जेठ २० मा थप कारबाही गर्दै काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाटै हटाउने अर्को निर्णय गरेको थियो । तथापि, उनले अझै पनि पत्रकारिताको न्यूनतम मूल्य र मान्यताविपरीत आफ्नो स्वामित्वको अनलाइनमार्फत व्यक्तिगत रिसइबी र कुण्ठा साँध्न चरित्र हत्या, मानहानि गरिरहेका छन् ।

उनको अपराध यतिमै सीमित छैन, श्रमजीवीहरुको पारिश्रमिक नदिने, पारिश्रमिक माग्ने पत्रकारहरूलाई पाकिस्तानी एजेन्टलगायतको आरोपमा लाञ्छित गर्ने, आफ्नै कर्मचारीको पैसा ठग्ने, स्वार्थपूर्तिका लागि उद्योगी, व्यवसायी तथा विभिन्न पेशाकर्मीहरूको चरित्रहत्या गर्नेलगायत कार्य पनि उनले निरन्तर गर्दै आइरहेका छन् । श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीका अनुसार, गुरागाईंले विगतमा नेपालआजमा काम गरेका ९ पत्रकारको नौ लाख रूपैयाँभन्दा बढी पारिश्रमिक दिन बाँकी छ । पत्रकारलाई श्रमको मूल्य नदिएर अन्याय गरेका गुरागाईंले आफ्नो अनलाइन दुरूपयोग गरेर पारिश्रम माग्ने पत्रकारको चरित्र हत्या गर्दै आइरहेका छन् ।

पत्रकारहरुको पारिश्रमिक नदिएको विषयमा त नेपाल पत्रकार महासंघ, सूचना विभाग, प्रेस काउन्सिल आदि निकायमा उनीविरुद्ध पटक–पटक निवेदन नै दर्ता भएका छन् । नेपालआजको कार्यालय रहेको बानेश्वर पञ्चकुमारी मार्गमा श्रमजीवी पत्रकार संघ नेपालले यसअघि धर्ना नै दिएको थियो । श्रमजीवीको पसिनाको मूल्य नदिने तथा चरित्रहत्याको श्रृंखला सञ्चालन गर्ने नेपालआजविरुद्ध अर्को चरणको संघर्षको कार्यक्रम चाँडै सुरु गरिने अध्यक्ष जैसीले जानकारी दिए ।

अहिले पनि कुनै अज्ञात स्थलबाट नेपालआजले संदिग्ध सामग्रीहरु आफ्नो अनलाइनमा प्रकाशन गर्दै आएको छ ।

नेपालआजलाई महासंघको चेतावनी–आचारसंहिता मिचेर आइन्दा नियोजित समाचार नलेख्नू

उनीविरुद्ध आधारहीन र कपोलकल्पित समाचार लेखेर व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको मुद्दा विभिन्न अदालतमा विचाराधीन छन् ।

महिला हिंसाको उजुरीपछि मिडिया सञ्चालक माधव गुरागाईं फरार

यसअघि महिला पत्रकारमाथि गरेको दुर्व्यवहारको विरोधमा उनीविरूद्ध सञ्चारिका समूह, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका थिए ।

आफूविरुद्धको मुद्दाका साक्षीलाई धम्क्याएका गुरागाईंले आफ्नो अनलाइनबाट सम्प्रेषण गरेका आधारहीन, कपोलकल्पित र भ्रामक समाचारहरू अझै हटाएका छैनन् । मुद्दा अदालतमा विचाराधीन हुँदा पनि उनले पीडितलाई थप पीडा दिइरहने काम गरिरहेका छन् ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ