NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

राज्ययन्त्रमा मात्र होइन पार्टीमा पनि संघीयताको अभ्यास हुनु पर्छ : अध्यक्ष श्रेष्ठ

ललितपुर । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले राज्ययन्त्रमा मात्र होइन, आफ्नो संगठनात्मक काममा पनि सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएको छ ।

उनले उक्त कुरा समाजवादी महिला सङ्घको बागमती प्रदेश समिति पुनर्गठन कार्यक्रममा बताएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जनता समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद र सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रिकरणबारे प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।

सङ्घीय शासन हुने वित्तिकै महिलाहरूको अधिकार प्राप्त नहुने भन्दै उनले भने, ‘अमेरिका, स्वीट्जरल्यान्डजस्ता लोकतान्त्रिक देशमा सङ्घीय शासन आएपछि पनि महिलाहरूले पुरुष सरह अधिकार पाएनन् ।

सन् १७८९ मा सङ्घीयतामा गएको अमेरिकामा महिलाहरूले करिब १३० वर्षपछि सन् १९१९ मा मात्र मतदानको अधिकार पाए भने स्वीट्जरल्यान्डमा करिब १२३ वर्षपछि सन् १९७१ मा मात्र मताधिकार पाए । तर नेपालका महिलाहरूले लोकतन्त्रको वहालीपछि भएको प्रत्येक निर्वाचनहरूमा समान मताधिकार पाए ।’ महिलाहरूको अधिकार पनि सङ्घीयतामा नै सुरक्षित हुन्छ ।

महिलाहरूको अधिकार पनि सङ्घीयतामा नै सुरक्षित हुने बताउँदै उनले भने, ‘नेपालमा एकात्मक व्यवस्थामै पनि महिलाहरूले मताधिकार र थोरै भए पनि आरक्षण पाए । तर एकात्मक व्यवस्थामा नै प्राप्त हुन सक्ने महिलाहरूको पहुँच र प्रतिनिधित्वका अधिकारहरू सङ्घीय आन्दोलनको फलस्वरूप मात्र प्राप्त भए । नेपालको सङ्घीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेण्टी, नेपालको संविधानको धारा ३८ मा प्रत्येक महिलालाई बिनालैङ्गिक भेदभाव समान हक, राज्ययन्त्रहरूमा समानुपातिक प्रतिनिधित्व आदि सङ्घीयताको देन हो । त्यसैले नेपालमा सङ्घीयता र महिला अधिकारबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ ।’

पार्टीले २०७४ सालको निर्वाचन घोषणापत्रमा महिलाहरूका लागि प्रत्यक्ष निर्वाचनमै संसदीय निर्वाचन क्षेत्र आलोपालो आरक्षित गर्ने कुरा उल्लेख गरेको र हाल निर्वाचन आयोगले पनि यो व्यवस्था कार्यान्वयन गर्ने प्रस्ताव अगाडी बढाएको कुरा समेत उनले बताए ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले राज्ययन्त्रमा जर्मनहरूको एकल जातीय नेतृत्व र वर्चश्वको विरुद्ध सन् १८४७ मा भएको गृहयुद्धपछि तात्साजुङ् (संसद) बाटै झण्डै विभाजित भइसकेको स्वीट्जरल्यान्डलाई विद्रोही पक्षसँग भएको सहमतिको आधारमा सन् १८४८ मा नयाँ सङ्घीय संविधान जारी गरी सङ्घीयता, समानुपातिकता र समावेशिताको माध्यमबाट देशलाई पुनः एकतावद्ध बनाउन सफल भएको र आज स्वीट्जरल्यान्ड विश्वभरि शान्तिप्रीय मुलुकको रूपमा चिनिएको कुरा पनि बताए ।

उनले भने, ‘नयाँ भनिएका रास्वपा, नागरिक उन्मुक्ति, जनमत जस्ता पार्टीहरू अरुले मञ्च बनाइ सकेपछि नाच्न आएका हुन् । आफैले मञ्च बनाउनु पर्दाको पीडाको उनीहरूलाई अनुभव छैन । सङ्घीय गणतन्त्र ल्याउनका लागि नेपाली जनताले लोकतान्त्रिक तथा बामपन्थी दलहरूको नेतृत्वमा तीन तीन पटक जनआन्दोलन, त्याग र बलिदान गरे, यो कुरा नयाँशक्ति भनिएकाहरूलाई थाहा छैन ।’

महिला सङ्घका नेतृ दिना लामाको अध्यक्षता र सजनी तामाङको सञ्चालनमा भएको पुनर्गठन कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य सुशिला श्रेष्ठ, महिला विभाग प्रमुख लिला सिटौला, महिला सङ्घका अध्यक्ष निर्मला यादव, १ नं प्रदेशका स्वास्थ्यमन्त्री निर्मला तावा, महासचिव भवगती सुवेदी लगायतका वक्ताहरूले पनि महिला अधिकार तथा सशक्तिकरण र समितिहरूको गठन पुनर्गठनका आवश्यकताबारे बाेलेका थिए ।