NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

परिकल्पनादेखि प्रभावसम्म : शिक्षा रुपान्तरणमा टिच फर नेपाल

काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षकलाई ‘फेलोसिप’ दिएर पठाउने टिच फर नेपालकी सहसंस्थापक तथा सिइओ स्वस्तिका श्रेष्ठलाई कसैले भेट्ने वित्तिकै प्रश्न गर्थे, ‘सरकारले गर्ने काम किन गरिरहनुभएको ?’

प्रश्नसँगै उनीहरूले सुझाउथे – तपाईहरुले त सरकारलाई घच्घच्याउने पो त !

स्वभावैले हठी र आफ्नै प्रयासमा परिवर्तन गर्नुपर्छ भन्ने सोच राख्ने श्रेष्ठलाई यस्ता सुझाव गौण लाग्थे । किनभने बाल्यवस्थामै उनका बाबुले सिकाएका थिए, ‘पेटभरी त चराले पनि खान्छ । मान्छे भएपछि केही गर्नुपर्छ ।’

बाल्यकालमै बुबाले मष्तिष्कमा भरिदिएको यो चेतनाले हुनुपर्छ, उनलाई समाजका लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो । शिक्षामा सुधार गर्यो भने धेरै समस्या सुध्रिन्छ र त्यसका लागि आफैं पनि खटिनुपर्छ भन्ने चेतना उनलाई बुबाले दिएको यही दिव्योपदेशबाटै आएको हो । यही सोचाइका साथ टिच फर नेपालको स्थापना गर्दा उनीहरूले विभिन्न समुदायमा पुगेर त्यहाँका मान्छेसँग कुराकानी गरे । त्यो क्रममा हरेक अभिभावकको चिन्ता आफ्नो भन्दा पनि आफ्ना बच्चाको जीवन फरक हुन्छ कि हुन्न भन्नेमा रहेको पाइयो ।

भावी पुस्ताको जीवन फरक र थप स्तरीय हुनका लागि सुधार हुनुपर्ने मुख्य कडि शिक्षा नै हो भन्ने कुरामा उक्त समुदाय भ्रमणपछि आफू थप स्पष्ट भएको श्रेष्ठले बताइन् । यही उर्जाका साथ आजभन्दा दश वर्षअघि मुलुकका सामुदायिक विद्यालयमा विभिन्न विधामा दख्खल राख्ने दक्ष शिक्षक पठाउने ‘फेलोसिप’ सुरु गर्दा शिक्षा सुधारको समाधान सहज लागेको थियो श्रेष्ठलाई ।

तर दशक बढीको अनुभव बटुलेपछि उनको सोचाइमा पनि परिवर्तन आएको छ । हिजो एउटा शिक्षक या कक्षाकोठामा सुधार आए, शिक्षा सुध्रिन समय लाग्दैन भन्ने बुझाइ अहिले थप फराकिलो भएको उनले सुनाइन् । ‘दश वर्षअघि त समस्याको समाधान पनि सजिलो लाग्थ्यो । शिक्षक, नीति, प्रधानाध्यापक, अभिभावकमात्रै नभएर वास्तवमै सार्वजनिक शिक्षा जटिल रहेछ भन्ने बुझेका छौं,’ उनले भनिन्, ‘एकैपटक सुधार गर्छौं भन्ने थियो । यसका लागि धेरै लामो समय काम गर्नुपर्र्छ, अझै समय लाग्छ भन्ने आभास भएको छ । धेरै अगाडि बढ्नु छ भनेर थप स्पष्ट भएका छौं ।’

टिच फर नेपालले दुई वर्षका लागि विभिन्न विद्यालयमा शिक्षकहरूलाई पठाउँदा सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्यामात्रै टरेको छैन । यसले शिक्षकहरूको आफ्नै नेतृत्व विकासमा पनि सहयोग पुर्याएको छ । यो दश वर्षको अनुभवबाट श्रेष्ठले बुझिसकेकी छन् – नेतृत्व लिन सक्ने शिक्षक कक्षाकोठामा पुगेको खण्डमा दुई वर्षमा पनि सामुदायिक विद्यालयमा धेरै परिवर्तन सम्भव छ । कक्षाकोठामा फरक–फरक पृष्ठभूमिका शिक्षक पुग्नुपर्छ भन्ने मान्यतालाई निरन्तरता दिएको छ टिच फर नेपालले ।

उनै श्रेष्ठसँग यसपटकको एजुकेसन डायलगको श्रृंखलामा लामो बहस गरिएको छ । कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले श्रेष्ठसँग नेपालको सामुदायिक शिक्षाको अवस्था, विद्यालय ‘ड्रप आउट’ को समस्या, शिक्षा सुधारका लागि काम गर्दाका चुनौती, नेतृत्वका चुनौतीलगायत विभिन्न विषयबारे कुराकानी गरेका छन् ।

हेरौं श्रेष्ठसँग गरिएको संवादको पूरा भिडियोः