NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

किन नाम फेर्न चाहन्छ माओवादी ?

काठमाडौं । माओवादी नामबाट राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रको आफ्नो नामप्रति मोह कम हुँदै गएको छ । माओवादी नामले दस वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गरेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि पाँच आवधिक निर्वाचनमा सहभागी भइसकेकाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी नाम उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सकिने निर्णय गरेको हो ।

एमाले र माओवादीसँग २०७५ जेठमा पार्टी एकता भएपछि माओवादी नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । २०७७ फागुन २३ मा सर्वोच्च्च अदालतले नेकपा पहिले नै दर्ता भइसकेको भन्दै एमाले र माओवादीको एकता खारेज गरिदिएको थियो । भदौ २५ मा पदाधिकारी बैठकले अरू कम्युनिस्ट पार्टीसँग एकता सफल पार्न माओवादी नाममा आगामी महाधिवेशनसम्म नाम फेर्ने निर्णय गरेको छ । माओवादी तीनमहिने अभियानपछि मंसिर वा पुसमा विशेष महाधिवेशन गर्ने भएको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोस्टमा रहेको माओवादी केन्द्रका बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिनेछ’ पदाधिकारी बैठकको निर्णयमा भनिएको छ ।

पार्टी विधानमा भने मार्क्सवाद–लेनिनवादका साथै माओवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा व्याख्या गरेको छ । ‘मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो । पार्टीले आजको समाजमा रहेका वर्गहरूको अस्तित्व, वर्गहरूबीचको अन्तरविरोध र वर्ग संघर्षलाई समाज विकासको अनिवार्य एवं मुख्य आधार मान्दछ,’ माओवादीको विधानमा भनिएको छ । एमालेसँग एकता भएपछि उसले त्यतिबेला माओवाद छाडेको थियो । सर्वोच्चले दुई पार्टी अलग गरेपछि पुनः माओवादलाई अँगालेर विधानमा उल्लेख गर्‍यो । २०५२ फागुनमा सशस्त्र युद्ध सुरु गर्नुअघि तत्कालीन नेकपा एकता केन्द्रले नाम परिवर्तन गरी नेकपा माओवादी गर्‍यो । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङको नामबाट पार्टी निर्माण गरी माओवादीले दस वर्ष सशस्त्र युद्ध सुरु गर्‍यो । माओवादीकै नामबाट १० वर्ष सशस्त्र युद्ध र १८ वर्ष शान्तिपूर्ण राजनीतिमा आएर सजिलो हुने नाम राख्ने तयारी गरेको छ ।

आमनिर्वाचनअघि माओवादी र पूर्वमाओवादी नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकताको तयारी थियो । माओवादी नाम परिवर्तन गरी नेकपा (समाजवादी) नाम राख्ने अनौपचारिक निर्णय भए पनि निर्वाचनको परिणाम आएपछि एकता अवरुद्ध भएको छ । हालै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले नेसपा अध्यक्ष महिन्द्र राय यादवलाई पत्र पठाई ‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिट पार्टीको पछाडि कोस्टभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने’ बताएका छन् ।