यी हुन् यो वर्ष उत्कृष्ट काम गर्ने प्रहरी कार्यालय

काठमाडौं । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने कार्यालयका प्रमुखलाई सोमबार पुरस्कृत गरेका हुन् । ६८ औं प्रहरी दिवस २०८० का अवसरमा पुरस्कार वितरण गरिएको थियो ।
ट्राफिक प्रहरीतर्फ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, नेपाल प्रदेश प्रहरी कार्यालयमा जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, तामिल केन्द्रमा प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्मा तथा गणमा प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकीले पुरस्कार पाएका छन् ।
जिल्लातर्फ जिल्ला प्रहरी कार्यालय सुनसरी उत्कृष्ट भएको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी महानिरीक्षकबाट पुरस्कृत भएका छन् । त्यस्तै, इलाकातर्फ ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा र प्रहरी चौकीमा इलामको श्रीअन्तु काप्रहरी वरिष्ठ नायव निरीक्षक किरण प्रसाई उत्कृष्ट भएका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ सर्वप्रथम हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्तवना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र बिकले प्राप्त गरेका छन् ।
नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ डा. छायादत्त न्यौपाने‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई नगद पुरस्कार भएका छन् । नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी स्कुल साँगा काभ्रेका शिक्षक भरत सिग्देल, ६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ परिकल्पना गर्ने प्रहरी सहायक निरीक्षक अमृत राना पनि पुरस्कृत भएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्या्उने अवकास प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकास प्राप्त प्रहरी निरीक्षक श्याने राना र विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको समयमा र डेङ्गु नियन्त्रणको लागि नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराई सहयोग गर्ने समाजसेवी रमेश केसीलाई सम्मानपत्र गरेका छन् ।
उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक प्रहरी नायव निरीक्षक रेशम बहादुर बानिया, प्रहरी जवान सरिता थारू, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री र उत्कृष्ट खेलाडीतर्फ प्रहरी प्रहरी जवान विशाल सिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान प्राप्त गरेका छन् । यो वर्षको प्रहरी ब्याटन भने गण्डकी प्रदेश प्रहरी कार्यालयले पाएको छ । जून पुरस्कार मंगलबार प्रधानमन्त्रीबाट दिने तयारी छ । त्यस्तै, उत्कृष्ट अनुसन्धानकर्ता, पूर्णशान्ति पुरस्कार पनि मंगलबार नै दिन लागिएको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले आगामी दिनमा समेत गुणस्तरको कार्य सम्पादन हुने विश्वास व्यक्त गरे । संगठनले सुम्पेको जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको इमानदारी, लगनशीलता र प्राप्त परिणामको उच्च मूल्याङ्कन भएको उल्लेख गर्दै पुरस्कृत हुने प्रहरी कर्मचारीहरूबाट प्रदर्शन भएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने उनको भनाई छ ।
प्रहरी संगठनबाट प्रदान गरिने सेवाहरू जनमुखी, पारदर्शी, स्वच्छ, छिटो छरितो, प्रभावकारी र नागरिक एवं सेवाग्राही स्वीकार्य ढंगबाट उपलब्ध गराउन सकेमा मात्र प्रहरीप्रतिको जनविश्वासमा अभिवृद्धि हुने उनको भनाई थियो । ‘क्षणिक लाभ हानी, व्यक्तिगत सफलता असफलताको संकिर्णता कार्यसम्पादनको गुणस्तरको परम शत्रु हुन्,’ उनले भने,‘तसर्थ यी भन्दा माथि उठेर सामूहिक रूपमा एकसाथ उभिई व्यावसायिक निष्ठाकासाथ अविचलित रही राज्यप्रतिको सेवाभावको मनोवृतिगत रूपान्तरण अहिलेको टड्कारो आवश्यक्ता हो ।’ नेपाल प्रहरीलाई थप सुदृढ सबल र सक्षम बनाउनका लागि पद्धति र प्रणाली महत्वपूर्ण रहेकोले सबैको सकारात्मक सहयोग र साथ आवश्यक रहेको उनले बताए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया