NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

दशैंमा घर फर्कने लहरः दैनिक एक लाख यात्रु उपत्यकाबाट बाहिरिदै

काठमाडौं ।

दशैं सुरु भएसँगै उपत्यकाबाट दैनिक करिब एक लाख र सर्वसाधरण बाहिरिन थालेका छन् । पछिल्लो तीन दिनमा करिब दुई लाख यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्याङक छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दसैँ मनाउन यात्रु जन्मघर जान थालेका हुन्। सुरुका दुई दिन ५० हजार तथा मंगलबार एक लाखले उपत्यका छाडेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। बाहिरिनेको संख्या दैनिक बढीरहेको उनको भनाई छ ।

असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र सोमबार मात्र करिब एक लाख बाहिरिएका छन् । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ।

चाडपर्वको वेला यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए।

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा समेत घर जाने यात्रुको भिड लागेको छ। नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए।

‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भिड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,’ उनले भने।

दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले जानकारी दिए। सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ।

ताजा अपडेट

नेपालवाच विशेष