NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

तीन न्यायाधीशमाथि कारबाही अघि बढ्यो

काठमाडौं । न्याय परिषद्को बैठकले तीन न्यायाधीशमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला अदालतका न्यायाधीशहरू राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराईलाई कारबाही प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । आइतबारको न्याय परिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तो समितिले विभागीय कारबाहीदेखि भ्रष्टाचार मुद्दा दायरसम्मको निर्णय गर्न सक्छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले कानुन व्यवसायी रुद्र पोखरेलसँग सहकारी ठगीका इच्छाराज तामाङलाई छुटाउन २ करोड रुपैयाँ घुस ‘डिल’ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसयता उनी जिम्मेवारविहिन छन् ।

काठमाडौं जिल्ला अदालतकै अर्का न्यायाधीश अम्बिकाप्रसाद निरौलामाथि अपहरण मुद्दाका अभियुक्त दुर्गाबहादुर बुढाथोकीलाई उन्मुक्ति दिएको दाबी गरिएको छ । बुढाथोकीले भारतको रासनकार्ड देखाउँदै आफ्ना पहिचान लुकाउने प्रयास गरेका थिए ।

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणको अभियोगमा पक्राउ परेका बुढाथोकीलाई उनले छाडेका थिए । न्यायाधीश परशुराम भट्टराईमाथि धनुषा जिल्ला अदालतमा रहँदा एक हत्या मुद्दाका आरोपितलाई प्रमाणको प्रतिकुल हुने गरी सफाई दिएको आरोप छ ।
तीनैमाथि बिशेष अदालतमा मुद्दा समेत दायर हुनसक्ने न्याय परिषद्का एक अधिकारीले बताए ।