सावधान ! पुरुषलाई पनि हुनसक्छ स्तन क्यान्सर

काडमाडौं । स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरे त्यसताका भक्तपुर क्यान्सर अस्पतालमा काम गर्थिन् । एक दिन उनको चिनजानकै भाइ काखीको गिर्खामा क्यान्सर देखिएपछि अन्य कुनै अस्पतालबाट रेफर भएर उनी भए ठाउँ आइपुगे ।
उनको शरीरको कुन भागमा क्यान्सर छ भन्ने पत्ता लागेको थिएन । डा. घिमिरेले खोज्दै जाँदा नङको आदि भाग कालो भएको भेटियो । ‘सामान्य खेतीपाती गर्ने व्यक्तिको नङ कालो हुँदा माटो पसेको ठानेर ध्यान दिनुभएन् । पछि थाहा भयो, उहाँलाई त क्यान्सर भएको रहेछ,’ डा. घिमिरेले त्यो नमिठो पल सम्झिइन् । डा. घिमिरेका अनुसार हेर्दा सामान्य देखिए पनि क्यान्सर कहाँ, कसरी फैलन्छ ? भन्न सकिँदैन ।
साना–साना लक्षण भएका व्यक्तिमा क्यान्सर पत्ता लागेको धेरै अनुभव छ डा. घिमिरेसँग । भन्छिन्, ‘स–साना कुरामा ध्यान नदिँदा कालान्तरमा त्यसले गम्भीर रुप लिन सक्छ ।’ शरीरमा आएका परिवर्तनलाई हेलचेक्र्याइँ गर्ने हाम्रो स्वभाव रहेको उल्लेख गर्दै उनले यसबाट गम्भीर समस्या निम्तिन सक्ने भएकाले बेलैमा सचेत हुन सुझाइन् । डा. घिमिरेको शब्दमा मानव शरीरका कोषिकाहरूको अनियन्त्रित विकाश नै क्यान्सर हो । ‘क्यान्सरको प्रमुख गुण भनेको एक ठाउँबाट अर्कोमा पलाउनु हो । जस्तो कि टाउकोबाट खुट्टा वा एकचोटि उपचार गरेपछि पनि फेरि उक्त कोषिका पलाउनु नै हो’ उनले भनिन् ।
डा. घिमिरेका अनुसार क्यान्सर शरीरको जुनसुकै अंगमा पनि हुनसक्छ । तर यही कारण क्यान्सर हुन्छ भनेर यकिन गर्न सकिँदैन । डा. घिमिरेले मानिसमा देखिने विभिन्न क्यान्सर, यसका लक्षण, महिला र पुरुषमा देखिने क्यान्सरबारे आफ्नै शब्दमा यसरी बताइन् :
किन हुन्छ क्यान्सर ?
क्यान्सरमाथि निकै धेरै अध्ययन, अनुसन्धान भएका छन् । तथापि, यो रोग लाग्नुको प्रमुख कारण हालसम्म भेटिएको छैन् । त्यसैले यकिनका साथ यही कारण क्यान्सर हुन्छ भन्न सकिने अवस्था छैन । केही चिजहरु छन् जसलाई ‘कारसिनोजन’ भनिन्छ । यसले भने क्यान्सरको सम्भावना बढाउँछ । साधारणतया सुरुको अवस्थामा क्यान्सरका लक्षण देखिँदैनन् । जब क्यान्सर फैलन्छ तब मात्र लक्षण देखिन थाल्छ ।
महिलाहरूमा देखिने धेरैजसो क्यान्सरका लक्षणमा यौन सम्पर्कपछि रगत देखिने, महिनावारीको बीच–बीचमा रगत आउने, महिनावारी सुकिसकेका महिलामा पनि रगत देखिने, यौनांग गन्हाउने, रगत मिसिएको पानी बग्ने, कम्मर तथा पेट दुख्ने, यौनांग चिलाउने तथा घाउ हुने आदि लक्षण देखिन सक्छन् । सुर्ती तथा धुम्रपानजन्य पदार्थको सेवन, वंशाणुगत कारण, अस्वस्थ जीवनशैली र जीवाणले पनि क्यान्सर लाग्ने सम्भावना हुन्छ ।
अन्य लक्षण
७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई खाना खाँदा सर्किर्नेजस्ता समस्या हुनसक्छ । तर योभन्दा कम उमेर अर्थात् ५० वर्ष नकटेका व्यक्तिमा खाना खाँदा सर्किने, खाना निल्न गाह्रो हुने जस्ता समस्या कहिलेकाहीँ क्यान्सरको लक्षण हुनसक्ने भएकाले सचेत हुनुपर्छ । त्यसैगरी, क्यान्सरका कारण शरीरमा गिर्खा देखापर्ने, असाधारण रक्तश्राव हुनेजस्ता समस्या देखिन सक्छन् । शरीरमा भएको सानो घाउबाट अत्यधिक रगत बगेको छ भने पनि क्यान्सरको आशंका गर्नु पर्छ । क्यान्सरका कारण शरीरको तौल घट्ने पनि हुन्छ ।
महिलामा अधिक देखिने क्यान्सर
महिलामा पाठेघरको मुखको क्यान्सर अत्यधिक हुने गरेको छ । महिलाहरूमा सबैभन्दा धेरै यही भागको क्यान्सर हुने गरेको तथ्यांकले देखाउँछ । ४० वर्ष उमेर समूहका महिलामा प्रायः पाठेघरको मुखको क्यान्सर बढी हुने गरेको पाइएको छ । योसँगै, स्तन क्यान्सर, डिम्बासयको क्यान्सर, यौनाङको क्यान्सर र छालाको क्यान्सर पनि देखिने गरेको छ ।
विश्वमा स्तन क्यान्सर पहिलो नम्बरमा छ भने नेपालमा पाठेघरको मुखको क्यान्सर । यसपछिको दोस्रो नम्बरमा स्तन क्यान्सर आउँछ । सुन्दा अनौठो लाग्न सक्छ तर स्तन क्यान्सर संक्रमित हुनेमध्ये २ प्रतिशत पुरुष छन् । स्तन क्यान्सर भन्ने बित्तिकै यो पुरुषलाई हुँदैन् भन्ने भ्रम रहेको छ । यो सत्य होइन । स्तन क्यान्सर महिलामा मात्र नभएर पुरुषमा पनि हुन्छ ।
कतिपय महिलामा पाठेघर निकालेमा पाठेघरको क्यान्सर हुँदैन् भन्ने पनि छ जुन सरासर गलत हो । पाठेघर निकालेका महिलामा पनि क्यान्सरको सम्भावना हुन्छ । महिलामा हुने क्यान्सरमध्ये अर्को डिम्बासयको क्यान्सर हो । पेट फुल्ने तथा ग्यास्टिकजस्तो लक्षण यसमा देखिने हुँदा धेरै जना ग्यास्टिकको औषधि खाने गर्छन् । त्यसैले यो एक साइलेन्ट किलर पनि हो । यसमा लक्षण सोझै ग्यास्टिकको हुन्छ ।
के क्यान्सर अगाडि नै थाहा पाउन सकिन्छ ?
क्यान्सर भएको थाहा पाउने पहिलो आधार नै लक्षण हुन् । यी लक्षणबाट नै हामी सजग हुनुपर्छ । लक्षणहरू देखिँदादेखिँदै पनि बेवास्ता गर्यो भने यसले गम्भीर रूप लिन सक्छ । त्यसैले शरीरमा सामान्य बदलाव आउनासाथ चिकित्सकको परामर्श लिनुपर्छ । कहिलेकाहीँ सामान्य खोकी, स्वरमा आएको परिवर्तन, अनुहारमा देखिएका कोठी जस्ता साना साना परिवर्तन पनि क्यान्सरको लक्षण हुन सक्छन् । सामान्यतया क्यान्सर शरीरको सबै अंगमा हुन सक्छ । तथापि, ६० वर्षमाथिका व्यक्तिमा यौनांगको क्यान्सर अत्यधिक देखिन्छ ।
क्यान्सरमध्यैकै कम घातक पाठेघरको मुखको क्यान्सर
माथि उल्लिखित क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर कम घातक मानिन्छ । पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा १५/२० वर्ष अगाडि नै सामान्य परीक्षण र उपचारले बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सरबाट बच्न भिआइए र एचपिभी टेस्ट आवश्यक हुन्छ । जुन परीक्षण विभिन्न जिल्लाहरूमा अभियानकै रूपमा सञ्चालन गरिएको छ । धेरै जिल्लामा भिआइए विधि पुगिसकेकोसमेत छ । सन् २०३० सम्म सरकारले पाठेघरको मुखको क्यान्सर निर्मूल पार्ने लक्ष्य लिएको छ यसमा हामीले पनि हातेमालो गर्न जरुरी छ ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया