NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोटेश्वरको दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मुनि भरैव बस पकेट नजिक सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भउको छ । तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२६ प ६००२ नम्बरको स्कुटर शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं पेप्सिकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सप्तरी, गुल्मी, रुपन्देही, महोत्तरीमा भएका दुर्घटनामा पनि मृत्यु भएको छ ।

सप्तरी, हनुमाननगर कंकालिन नगरपालिका–१ सखरदहीस्थित सडकमा प्रदेश ३–०१–०२२ च १३५० नम्बरको कार अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सोही नगरपालिका–१२ बस्ने सलमान अलीको छोरा ५ वर्षीय अहमद शेखको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ९ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी, चन्द्रकोट गाउँपालिका–७ ठुला रघुस्थित सडकमा लु.४ त ७७९० नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय ढक बहादुर घर्तीको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, मायादेवी गाउँपालिका–१ ऐरौलीस्थित सडकमा रोकी राखेको लु.३ त ६७३३ नम्बरको ट्याक्टरमा लु.३९ प ४१३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ महदेवा बस्ने ३० वर्षीय लक्ष्मण कहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य ३ जना उपचार पश्चात डिष्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

महोत्तरी, सोनमा गाउँपालिका–३ खखनास्थित सडकमा बीआर ३० क्यू ४३८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सर्लाही पर्सा गाउँपालिका बस्ने ३३ वर्षीय आलम साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडमी पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको थप उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ ।