NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आमाको दुःख

सुरू सम्मानबाट नै गरौ । नमन छ, मेरो आमाप्रति, संसारका सम्पूर्ण आमाप्रति अनि मेरी उनीप्रति ।

बाबुआमाका लागि सन्तानको माया अथाह हुने रहेछ । पेटमा आएदेखि सतत चलिरहने अनौठो प्रक्रिया रहेछ यो ।

त्यतिबेला हामी खुसीले गदगद भएका थियौं, जब म ‘बा’ र उनी ‘आमा’ बन्ने चाल पाएका थियौं । त्यसपछिको हाम्रो समय बाहिरबाटै उसको विकासक्रम चिहाउने र यो धर्तीमा स्वागत गर्ने दिनको गन्तीमै बितिरहेको थियो । एक महिनामा योल्क सय्क, ८ हप्तामा इम्ब्रियो हुँदै मुटुको धड्कन जोडले ढुक… ढुक… गर्दा आँखाबाट तप्प खुसीको आँसु खसेको हामीले पत्तै पाएका थिएनौं । रसिलो आखाँ पार्दै उनीतिर हेर्दा उनका आँखामा पनि मेरोजस्तै खुसीका आँसु टल्पिरहेका थिए, सायद त्यतिबेला मेरोजस्तै उनको पनि धड्कन बढेको हुनुपर्छ ।

आफ्नो सन्तानप्रति उनी निकै संवेदनशील थिइन् ।

सायद त्यो समय उनमा खासै जाँगर थिएन । र पनि उनी इम्ब्रियोलाई कहीँ कतैबाट हानि नहोस् भनेर सतर्क थिइन् । प्रोटिन, आइरनयुक्त खाना बरोबर खाइरहन्थिन् ।

२२ हप्तामा हामी अस्पताल पुगेका थियौं, दुवै यानिकी उनी र उनको पेटभित्रको इम्ब्रियोको अवस्था बुझ्न । चिकित्सकको सल्लाहअनुसार सिटी स्क्यान गर्ने निधो भयो । इम्ब्रियोले त मानव शरीरको आकार लिइसकेको रहेछ । यो देखेर मेरो धड्कन ढुक… ढुक… गर्न थाल्यो । त्यो सानो बेबी, जुन मेरी उनीको पेटमा हुर्कँदै थियो, उसको पनि त्यसैगरी ढुक… ढुक… गरिरहेको थियो । त्यस समय मभन्दा पनि धेरै खुसी उनी भएकी थिइन् ।

नयाँ सदस्यलाई यो धर्तीमा स्वागत गर्न हामी अधैर्य थियौं । कहिले मेरो हातमा आउने होला,कहिले मेरो छातीमा टास्ने होला भनेर हामी व्यग्र प्रतीक्षामा सोच मग्न हुन्थ्यौं । २२ हप्ता बित्यो , २३ हप्ता पनि बित्यो । एकदिनको कुरा हो, आँखा फरफराएजस्तै मेरो उनीको पेट फरफराउन थाल्यो । फरफराएको ठाउँमा हात राख्दा नशाबाट १०० को गतिमा रगत बगेर मुटुमा पुग्थ्यो र मुटुको धड्कन बढाउँथ्यो । हामी भावुक बन्थ्यौं । उनी मातृत्व पोखेर पेटभित्रको उसको भोक मेटाउन फलफूल खान्थिन् ।

पेटभित्रको त्यो फुरफुर केही समयपछि हट्यो र पुक्क पुक्क लात हान्न पो सुरु भयो । म हरेक दिन पेटमा हात राखेर लात्ताको पर्खाइमा हुन्थेँ । यो क्रम नदोहोरिँदा चिन्ताले निन्द्रा पनि पर्दैनथ्यो ।

मनको एउटा कुनामा खुसीको सञ्चार हुँदा अर्को कुनामा तरंग चल्थ्यो, धर्तीमा पदार्पण नहुँदै खुसी हुने बाबुआमालाई ठूलो भएपछि तिनैले किन घरबाट निकाल्छन् होला ?

सन्तान र बाबुआमाको सम्बन्धमा देखिने अप्रिय दृश्य सम्झेर टोलाउँदै थिएँ, फेरि उसले पुक्क लात हान्यो । म झसंग झस्किएँ । यतिबेलासम्म हामीलाई थाहा भइसकेको थियो कि योल्क स्याकले इम्ब्रियो हुँदै छोराको रूप धारण गरिसकेको रहेछ ।

छोरा भए पनि छोरी भए पनि पहिलो सन्तान स्वस्थ जन्मियोस् भन्ने हाम्रो चाहना थियो । अन्ततः छोरा नै जन्मियो । पहिलो सन्तान पाउँदा खुसीले हाम्रो खुट्टा भुइँमा थिएन ।

मौसम न हो, जाडोबाट गर्मी सुरु भयो । उनलाई मौसमी रुघाखोकी र ज्वरोले समात्यो । औषधिले उनको बिमार निको हुनसक्थ्यो । आमाको मन हो, बच्चालाई त्यसको असर पर्ने भयले त्यसलाई उनले टारिन् । अन्ततः तातोपानी र पोषणयुक्त खाना खाएरै उनले समस्या ठीक पारी छाडिन् ।

आमा को हुन् र कसलाई आमा भनिदो रहेछ भन्ने मात्र नभएर यो नाताको महत्त्व बुझ्ने मौकासमेत मैले पाएँ । आमा बन्न सोचेजस्तो सजिलो छैन । यसका लागि त्याग, तपस्या, जिम्मेवारी, दया, माया करूणा र धैर्यता अपरिहार्य हुन्छ । सायद म भएको भए त्यत्रो अभिभारा बोक्न सक्ने थिएन होला । सलाम र सम्मान छ, मेरी आमा र संसारका सबै आमाहरूलाई ।

ताजा अपडेट

नेपालवाच विशेष