NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते
निजामती सेवा अनुभव

गन्हाएको लसुन र राजा वीरेन्द्रको चासो

०५० सालतिरको कुरा हो । अरनिको राजमार्गबाट धुलिखेल हुँदै ट्रकका ट्रक लसुन भित्रिन्थे । यति धेरै लसुन काठमाडौंमा मात्रै खपत हुन्थ्यो कि अन्यत्र बाहिरिन्थ्यो भन्न सकिँदैनथ्यो, तर लसुनलगायत चिनियाँ सामानहरू भने खासा–तातोपानीबाट आइरहन्थे । कुन्नि के कारणले हो, त्यो वर्ष अलि धेरै लसुन भित्रिएको थियो । कतिपयले त्यो लसुन र अन्य चिनियाँ सामान नेपाल भएर भारत जान्थ्यो भन्थे ।

तातोपानी हुँदै तिब्बती कलात्मक सामान, काठका सुुन्दर दराज र गलैंचा पनि आउँथे । कुनै वर्ष त कलात्मक दराजभित्र मानिस नै लुकेर नेपाल आएका हुन्थे रे । स्वतन्त्रता र सार्वभौम तिब्बतको खोजी गर्ने साहसी तिब्बतीहरू कुनै बहानामा नेपाल आउने र शरणार्थी बन्दै अरू मुलुक बाहिरिन्थे रे । उताबाट यसरी मानिस र अवैध रूपमा सामान आउने सुइँको पछि मात्र सीमा नाकामा निगरानी बढाउने नीति लिइएको थियो । राजस्व अनुसन्धान, भन्सार र प्रहरी प्रशासनको उच्च निगरानी हुँदै आएको थियो ।

त्यतिखेर म धुलिखेल नगरपालिकामा कार्यकारी अधिकृतको जिम्मेवारीमा थिएँ । चिनियाँ नाकाबाट के आँउछ भन्ने हामी नगरपालिकाका कर्मचारीलाई खासै चासो हुँदैनथ्यो । नगरपालिकाको काम प्रवेश बिन्दुुमा बेरिएर तेस्र्याएर चुङ्गीकर असुल गर्नमा व्यस्त हुने गर्दथ्यो । जति धेरै सामान भित्रियो, त्यति धेरै राजस्व बढ्थ्यो । किनकि नगरपालिका ऐन, २०४८ अनुसार नगरपालिकामा प्रवेश गर्ने सामग्रीको मूल्यमा एक प्रतिशत चुुङ्गीकर लाग्ने प्रावधान थियो । केन्द्रबाट उपलब्ध गराइने अनुदान त्यति धेरै नहुने भएकाले आफ्नो आय बढाउने भनेको चुुङ्गीकर, सवारी करबाट हुन्थे ।

आर्थिक गतिविधिहरू खासै विस्तार नभएकाले चुुङ्गीकर नै ३६ वटै नगरपालिकाहरूको आय स्रोतको आधार थियो । वीरगञ्ज, विराटनगर र काठमाडौं नगरपालिका चुुङ्गीकरका कारण केही धनी थिए, धेरै सामानहरू यहीबाट भित्रिन्थे । खर्च जिम्मेवारी धान्न चुङ्गीकर उठाउन प्रतिस्पर्धा नै हुन्थ्यो । बागमती अञ्चलका पाँच नगरपालिकाहरू काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा र धुलिखेल संयुक्त चुङ्गीकर तथा सवारी कर व्यवस्थापनमा थिए । यसका लागि काठमाडौंका मेयरको संयोजकत्वमा समन्वय र निर्देशन समिति र कार्यकारी अधिकृतहरू रहेको व्यवस्थापन समिति थियो । संयुक्त समितिले संकलित चुङ्गीकर तथा सवारी कर विभाजन गर्ने सूत्र बनाएको थियो, संकलन भने संयुक्त रूपमा हुुन्थ्यो । धुलिखेल र थानकोट प्रमुख ढाट (कर संकलन डिपो) थिए । ढाटमा कर छली र सुरक्षा समस्या पर्ने भएकोले प्रहरी चोक पनि साथै हुन्थ्यो ।

सरकारको नीतिका कारण चिनियाँ वस्तुहरू धेरै परिमाणमा भित्रिएका थिए । दशैं आसपासको समय खासाबाट धुलिखेल हुँदै काठमाडौं आएका लसुनमा नगरपालिकाले नियमानुसार चुुङ्गीकर उठाउन खोज्यो । तर व्यापारीहरूले त्यो लसुन धुलिखेल र काठमाडौैं उपत्यकामा खपत नहुने भएकाले कर नदिने अडान राखे । ढाटमा एक, दुई गर्दै भोलिपल्टसम्म ट्रकको लाइन खावासम्म पुुग्यो । यो क्रम करिब ७÷८ दिन रहँदा लसुन बोकेका ट्रकको लाइन तीनपिप्लेसम्म पुुग्न गयो । यातायातलाई पनि अवरोध पुगिरहेको थियो । व्यापारीहरू अब संगठित रूपमा अवरोध गर्न र चुङ्गीकरको अवज्ञा गर्न लागि परे । हिमाल व्यापार संघ, उद्योग वाणिज्य महासंघ र धुलिखेलका स्थानीय आपूर्तिकर्ताहरू मिलेर प्रतिकार समिति गठन गर्न पुुगे । नगरपालिकाका केही सदस्यहरू र कर्मचारी पनि अप्रत्यक्ष रूपमा नगरपालिकाको विरुद्धमा थिए । तर देखिएर विरोध गर्दैनथे ।

मेयर बेलप्रसाद श्रेष्ठ समस्याको सहज समाधान गर्न प्रयत्नशील थिए । पाँचै नगरपालिकाका मेयरहहरूसँग र मन्त्रालयसँग पनि अनौपचारिक/औपचारिक छलफल गर्न दिनरात खटेका थिए । हरेक असजिला समस्याको सरल समाधान खोज्ने मेयर श्रेष्ठको प्रयास सफल भएको थिएन । नगरपालिकामा बिहान–बेलुका छलफल र संवाद भइरहेको थियो । म पिताजीको बरखीमा भएकोले पानीसमेत बारेको थिएँ । दिनरात भोकै काम गरिरहेका थियौं । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहायोगका लागि सहयोग मागिरहेका थियौं । तर कुन्नि किन हो, प्रशासनिक सहयोग भएको थिएन । त्यतिखेर प्रमुख जिल्ला अधिकारी देवीप्रसाद भट्टराई र प्रहरी प्रमुखमा अर्जुनजंग शाही हुनुुहुन्थ्यो । मौखिक रूपमा सहयोगको आश्वासन भने हुने गरेको थियो । गर्मीको समय भएकाले ट्रकमा भएका लसुन कुहिन थालेका थिए । पूरै धुलिखेल र सडक आसपासका गाउँमा लसुनको गन्ध डुङडुङ्ती फैलिएको थियो । मेयर र म निकै छट्पटिएका थियौं । नगरपालिकाभित्रैबाट हामीहरूलाई सहयोग नभएको हो कि भन्ने लागिरहेको थियो । तर सबैको सहयोग लिनुको विकल्प थिएन ।

स्थानीय विकास मन्त्री रामचन्द्र पौडेलले पनि समस्या छिटो समाधानका लागि चासो राखेपछि काठमाडौं नगारपालिकाका उपमेयर नवीन्द्रराज जोशीको संयोजकत्वमा पाँचै नगरापालिकाका प्रतिनिधि सदस्य र म सदस्य सचिव भएको वार्ता टोली गठन गरियो । व्यापारीका तर्फबाट रूपज्योतिलाई संयोजक तोकियो । यसअघिको अनौपचारिक वार्तामा पद्यज्योतिले सहजीकरण गरिरहेका थिए । अनौपचारिक छलफलमा पद्यज्योति लचक रूपमा प्रस्तुत हुन्थे । जब औपचारिक वार्ता टोली गठन भयो, त्यसपछि भने वार्ता झनै जटिल भयो । वार्ता टोलीमा दुवै पक्ष आ–आफ्ना अडानमा टसमस थिएनन् । उता लसुन कुहिएर गन्हाउन थालेको थियो । जति दिन वार्ता लम्बियो, त्यति नै लसुन कुहिने सम्भावना थियो । हजारभन्दा बढी ट्रकका लसुन पूरै कुहिएमा त्यसको गलत सन्देश नगरपालिका, सरकार र व्यापारीमा जान्थ्यो । त्यसैले मेयर बेलप्रसाद श्रेष्ठ र म निकै चिन्तित थियौं । चुुङ्गीकरको पछि निर्धारण हुनेगरी व्यापारीबाट धरौटी लिएर ट्रक छाड्ने विकल्प राख्यौं तर व्यापारीबाट त्यसको सिधै इन्कार गरियो । वार्ता संयोजक जोशी काठामाडौंबाट आउजाउ गर्ने कारणले पनि वार्ताले त्यति समय पाएको थिएन । अन्य भन्दा धुलिखेल नगरपालिकाका लागि विवाद छिटो सक्नुपर्ने दायित्व थियो । किनकि, ढाट धुलिखेलमै थियो, कतिपय व्यापारी पनि धुलिखेलतिरकै थिए । बिहान मिल्नमिल्न लागेको वार्ता लन्चपछि झनै जटिल हुन्थ्यो । मागहरू थपिँदै थिए । वार्तामा पक्षहरू माग थप्न उद्यत हुने मनोवृत्तिमा हुँदा रहेछन् । वार्ता जति लम्बियो त्यति जटिलतातर्फ उन्मुख हुने र त्यसपछि असहयोगको मनोविज्ञान बढ्दै जाने खतरा देखियो । भोलि त लसुनको क्षतिपूर्ति माग्ने अवस्था पनि आउन सक्थ्यो । देशभरका व्यापारी आन्दोलित हुने अवस्था बन्न सक्थ्यो । मेयर बेलप्रसाद तपाईंले जे भन्नुहुन्छ भनेर मप्रति भर पर्न थाल्नु भएको थियो । वार्ता संयोजक र अन्य नगरपालिकाका सदस्यहरू पनि धुलिखेलको मामिला हो, कति दिन अल्मलिने भन्न थालेका थिए । मसँग पनि कानूनी उपायबाहेक अरू केही थिएन । हामीले गरेको निर्णय सबै नगरपालिकाले अनुमोदन गर्नुपर्ने अवस्था पनि थियो । स्थानीय समस्याको बोध अन्य नगरपालिकाका सदस्यहरूमा हुने थिएन । जसरी हुन्छ, धुलिखेलले निकास निकाल्नु पर्छ भन्ने मनोविज्ञान विकास हुँदै थियो । केही वार्ता टोलीका सदस्य औपचारिक रूपमा एउटा कुरा र व्यापारीसँग अर्कै कुरा गर्न लागेका थिए । मेयर बेलप्रसादको भद्र र सम्मानित व्यक्तित्वलाई पनि समस्याले प्रभाव पारिरहेको थियो ।

वार्तास्थल रहेको मेयर श्रेष्ठको होटल हिमालय होराइजन व्यापारीले खचाखच थियो । होटलको व्यवसायलाई पनि असर परिरहेको थियो । प्रशासनबाट सहयोगभन्दा पनि छिटो समस्याको निकासका लागि दबाब आइरहेको थियो । हामी भने निरूपायजस्ता थियौं । करोडौंका सामान पूरै नष्ट हुने स्थिति आउँदा नैतिक र मानवीय प्रश्न पनि उभिएको थियो । कानून छाड्न सकिने स्थिति पनि थिएन । कार्यालयको कामहरू हप्तादेखि गर्न पाइएको थिएन । भर्खरै काठमाडौं विश्वविद्यालय स्थापना भएको र धुलिखेल अस्पताल स्थापनाको पनि काम हुँदै गरेकाले यी दुई धुलिखेलका गौरवका प्रतिष्ठानको छविलाई शुरुकै दिनमा आघात पुुग्ला कि भन्ने संवेदनशीलता थियो । पर्यटनको शहर भनेर चिनिने धुलिखेलमा हप्तादेखि सभा गोष्ठी भएका थिएनन् । होटेल बुकिङ धमाधम विथ ड्र हुँदै थियो । यसले विदेशमा पर्यटनका विषयमा अर्को सन्देश जान्थ्यो ।
वार्ताको तेस्रो दिन हो, सायद । राजा वीरेन्द्र रानी ऐश्वर्य र कान्छो छोरा निराजनका साथ अचानक होटल हिमलय होराइजन आइपुुगे । राजा वर्षको एक÷दुुई पटक होराइजन होटेलमा व्यक्तिगत रूपमा आउने गर्दथे । मेयर बेलप्रसादसँग राजाको अनौपचारिक सम्बन्ध भएको चर्चा चल्थ्यो । हो रहेछ । राजा आएपछि वार्ताको माहोल एकाएक अन्यत्र मोडियो । हामी सबै राजाको स्वागतमा व्यस्त भयौं । राजा आएको हल्ला भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पनि सुरक्षा बन्दोबस्ती र स्वागतका लागि आइपुुगे । राजाले खावातिर लाम लागेका लसुने ट्रकतर्फ हेरेर यो के भएको बेलप्रसादजी भनेर प्रश्न गरे । मेयरले भने सामान्य जवाफ दिए । त्यत्तिकैमा मेयरको परिवारको विषय, सन्चोबिसन्चोमा राजाको चासो गयो । यसबाट राजा र मेयर बेलप्रसादको सम्बन्ध घनिष्ठ रहेछ भन्ने देखियो । केही पछि डा. रामकण्ठ मकाजूू श्रेष्ठ (मेयरका भाइ) आइपुुगे । राजाले धुलिखेल सामुदायिक अस्पतालको स्थापनाको प्रगतिका विषयमा डा. रामकण्ठसँग चासो राखे । उनले भने नगरपालिकाबाट त्यति सहयोग नभएको ट्युुनमा जवाफ दिए । त्यसपछि राजाले मेयरलाई अस्पताल छिटो सञ्चालनमा ल्याउने विषयमा केही कुरा भने । तर सबै कुरा हामीले सुन्न सकेनौं । राजपरिवार खाजा खान लागेपछि भने होटेल परिसर पूरै शान्त थियो । सायद सुरक्षा व्यवस्था पनि कडा भइसकेको थियो । राजा आएको हल्ला पनि बजार, मिडियासम्म फैलिसकेको थियो ।

दुुई घण्टा जति पछि राजा फर्किन लागे । यही क्रममा बिदाइका लागि मेयर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, डा रामकण्ठ र केही व्यापारी लाइनबद्ध भए । हामी अलि पर थियौं । बिदाइ हुने क्रममा लसुनको समस्यातर्फ इङ्गित गर्दै तत्काल समाधान गर्नु भन्दै बिदा भए । राजा काठमाडौं नपुुग्दै सबै जटिलता एकाएक गरी फुुक्दै गए । हतार–हतार सम्झौता पत्र बनाएर वार्ता टोलीमा देखाएँ, सबैले सहमति जनाए । बरु छिटो सम्झौता गर्न भने । चिया कफी अर्डर गरेर सहमति पत्र टाइप गर्न कार्यालय गएँ । फर्किंदा वार्ता टोलीका सबै महानुभावहरू सौहार्द कुराकानीमा रहेछन् । उहाँले बनाएको किन हेर्नुप¥यो भन्दै सहमति पत्रमा हस्ताक्षर गरिदिए । त्यही दिन रातभरमा तीनपिप्लेसम्मको ट्रकको लाइन क्लिएर भएर धुलिखेल शान्त भयो । परिस्थितिले त्यत्तिकै सिर्जना गरेको समस्या परिस्थितिले समाधान गरिदियो ।