NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

‘मुख्यसचिवले कुन आधारमा मातहतका कर्मचारीसँग आदर्शको कुरा गर्ने ?’

काठमाडौं । नेपाल सरकारका निलम्बित गृहसचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नु केही दिनअघिमात्रै आफू मातहतका सिडिओलाई नैतिकताकाे पाठ सिकाए । ‘तिमीहरु के गर्छौ पैसा कमाएर ? यस्तो गर्ने ?’ यो भनाईलाई अहिले उनको आफ्नै अवस्थाले गिज्याइरहेको छ ।

प्रशासनमा ‘रोल मोडल’ मानिनुपर्ने वर्तमान मुख्यसचिव बैकुण्ठ अर्याल पनि आरोपहरुबाट अछुतो छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरण, राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेट–वे) खरिद लगायतका प्रकरणमा उनीमाथि अनुसन्धान चलिरहँदा पनि उनले नैतिकताका आधारमा राजीनामा दिएनन् ।

नेपाल सरकारका पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली प्रश्न गर्छन्, ‘उहाँले कुन आधारमा मातहतका कर्मचारीलाई आदर्शको भाषण दिने ? मिल्छ ? त्यो नैतिक शाहस उहाँमा हुन्छ ?’

आरोप लागेका सबै कुरा सत्य हुँदैनन् । तर त्यसको सफाइ चाँडो लिनुपर्ने उनको मत छ । यी सबै समस्याको हल गर्न प्रणाली नै विकास गर्नुपर्ने कुरामा उनले जोड दिएका छन् ।

मैनाली सचिव हुँदा एथिक्स कमिसनको अवधारणाबारे चर्चा भएको थियो । त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त थिए । उनले त्यतिबेला सबै मन्त्रालयमा ‘सुशासन युनिट’ खडा गरेका थिए । सुशासन युनिट र एथिक्स कमिसन दुवै राख्न सम्भव थिएन । नैतिकतामात्रै हेर्नेगरी स्वतन्त्र ढंगको एथिक्स कमिसन बनाउने विषय उठ्यो । तर यो विषय त्यत्तिकै सेलयो ।

उनका भनाईंमा हाम्रो यान्त्रिक संगठनहरु नै नैतिकताको लागि सकारात्मक छैन । त्यहाँभित्रका स्थापित परम्पराले नै कर्मचारीलाई नैतिक हुन दिँदैन । उनका अनुसार त्यस्ता संस्थाहरुमा नैतिक संगठन, त्यसका लागि ‘कोड अफ कन्डक्ट’ जस्ता पूर्वाधार, त्यो हेर्ने संयन्त्र हुनुपर्छ । नैतिक मूल्य मान्यतामा एकले अर्कालाई निर्देश गर्नुपर्छ । सुशासन ऐन जस्ता कानुनमा भएका प्रावधानले प्रशासनमा कर्मचारीको नैतिकतालाई पूर्ण रुपमा समेट्न सक्ने उनले बताए । नैतिकताको कसीमा ल्याउनका लागि ऐनमै भएका कतिपय प्रावधानहरुसमेत कार्यान्वयनमा छैनन् ।
नैतिक प्रश्न आफैंमा अति अप्ठेरो हो र यसको परिपालना पनि उत्तिकै कठिन छ । नेपालको सन्दर्भमा मुहान नै नैतिकताको कसीमा कमजोर भएका कारण प्रशासनमा नैतिकता खस्कदैं गएको उनको सार छ । राजनीतिलाई उनले त्यो मुहानको रुपमा व्याख्या गरेका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज) का प्रमुख राजन खनालको बुझाइमा शासन गर्न रहर गर्ने तर दक्षता भएन भने त्यहाँ नैतिक विचलनको खतरा हुन्छ । किनभने योग्यताबिनाको अवसर व्यर्थ छ र अवसरबिनाको योग्यता खेर जान्छ । लामो समयसम्म कुनै पनि खराब अभ्यास गर्न थालियो भने त्यो पनि संस्कारकै रुपमा विकास हुँदै जान्छ । तर यस्ता संस्कृतिहलाई पनि हतोत्साही बनाउनका लागि अब प्रविधिमार्फत अर्को प्रणालीको विकास गर्न सकिने उपाय उनले सुझाए । अर्कोतर्फ नैतिकताको सुधार घरबाटै र विद्यालय तहबाटै थप बलियो रुपमा गर्न सकिने उनले बताए ।

प्रशासनमा खस्किदैं गएको नैतिकताका विषयमा प्रशासनका कुराको पछिल्लो अंकमा चर्चा गरिएको छ । हेरौं भिडियोको पूरा अंश ।