NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ९ गते

भ्रष्टाचार आरोप लागेका पूर्वसचिव योजना आयोगको सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त एक सदस्यमा डा. रमेशप्रसाद सिंह नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत जेठ २४ गते बसेको बैठकले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका सिंहलाई सदस्य नियुक्त गरेको हो ।

उपेन्द्र यादवको कोटाबाट आयोगको सदस्यमा नियुक्त उमाशंकरले राजीनामा दिएसँगै सदस्य पद रिक्त थियो । सिंहलाई अशोक राई नेतृत्वको दलको कोटाबाट सदस्य बनाइएको बताइन्छ ।

नियुक्त भए पनि उनले पदभार ग्रहण गरिसकेका छैनन् ।

०७२ मा लागेको थियो भ्रष्टाचार आरोपी

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सुशासनको नारा अघि सार्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउँदै आएको छ । तर आफ्नै प्रतिबद्धतासँग तादम्यता नहुने गरी सरकारले भ्रष्टाचारको बात लागेका सिंहलाई राष्ट्रको योजना बनाउने महत्त्वपूर्ण अंग आयोगको सदस्य बनाएको छ ।

सिंह ०७२ सालको भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपाल अनियमिततामा मुछिएका पात्र हुन् । उनी त्यतिबेला सहरी विकास मन्त्रालयका सचिव थिए ।

त्रिपालमा भ्रष्टाचार भएको आरोपसहित उनीविरुद्ध मुद्दा परे विशेष अदालतबाट सफाइ पाएका थिए । तर पछि त्रिपालका तीन आपूर्तिकर्ता भुक्तानी रोकिएको भन्दै उच्च अदालत गए, जसमाथि फैसला गर्दै उच्चले तीन महिनाभित्र भुक्तानी गर्न भनेको थियो । तर सिंह उच्चको आदेशमा चित्त नबुझाइ सर्वोच्च गए । जुन मुद्दा अहिलेसम्म किनारा लागेको छैन ।