खेलकुदपछि दीपकले भरेको व्यावसायिक उडान

‘नेपालमा खेलाडीको भविष्य सुनिश्चित छैन’ भन्ने भाष्य करिब स्थापित जस्तै छ । खेलाडीहरूको एकपछि अर्को पलायनले त यस्ता तर्कहरूलाई थप बल प्रदान गरेकाे छ । तर यसबीच अपवाद बनेर उदाउने खेलाडीहरू पनि उत्तिकै छन् जो खेलकुदमा तरक्की गरेर देशमा सानदार जीवन बिताइरहेका छन् ।
समाजले स्थापित गरेको भ्रमलाई आफ्नै आत्मविश्वास र पौरखले चिरेका खेलाडीमध्ये एक हुन्, तेक्वान्दोका पूर्वखेलाडी, सफल ओलम्पिएन दीपक विष्ट । उनी दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण पदक जित्ने एक मात्र नेपाली खेलाडी हुन् ।ओलम्पिकमा छनोट हुने पहिलो नेपाली पुरुष खेलाडीको रेकर्डसमेत उनकै नाममा छ ।
जीवनको तीन दशकभन्दा बढी समय खेलकुदमा बिताएका विष्टले २० वर्ष त सक्रिय भएर तेक्वान्दो नै खेले । १० वर्ष तालिम तथा प्रशिक्षणमा बिताए । अहिले राष्ट्रिय खेलुकुद परिषदमा राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्वेवारी सम्हालिरहेका छन् ।
दीपक तेक्वान्दोको ट्रेनिङ लिएर आफ्नो खेलयात्रालाई अघि बढाउन चाहन्थे । तर उनीसँग उक्त तालिमका निम्ति आवश्यक पर्ने रकम थिएन । त्यसपछि दीपकले जुक्ति लगाए, काकाको खल्तीबाट २०० रूपैयाँ चोर्ने । जसलाई दीपक आफ्नो खेल जीवनको टर्निङ प्वाइन्ट ठान्छन्
स्थानीय प्रतिस्पर्धादेखि ओलम्पिकसम्म
खेलकुदमा लाग्नै हुन्न भन्ने मानसिकता बोकेको परिवारबाट आएका विष्टको खेलकुदको सुरुवाती यात्रा पक्कै सहज थिएन । सुदूरपश्चिमको दुर्गम जिल्ला कञ्चनपुरमा जन्मिएका विष्टको बाल्यकाल सामान्य थियो । मध्यम परिवारमा जन्मिएका दीपकलाई खान–लाउनको भने कुनै दुःख थिएन । सानैदेखि खेलकुदमा औधी रुचि राख्ने विष्ट कपडाको बल बनाएर खेल्दाको मिठो क्षण अहिले पनि स्मरण गर्छन् ।
दीपक सुरुवातमा भलिबल खेल्थे । परिवारको इच्छाचाहिँ छोरा खेलाडी नभएर इन्जिनियर बनोस् भन्ने थियो । उनका परिवारले इन्जिनियर पढ्नुपर्छ भन्दै महेन्द्रनगरको सिद्धार्थ साइन्स क्याम्पसमा भर्ना गरिदिए । क्याम्पसमा भर्ना भए पनि उनको रुचि पढाइमा कम र खेलकुदमा बढी भयो । खेलमा बढी ध्यान दिएकै कारण बाबुआमाबाट धेरै गाली खानुपरेको दीपकको अनुभव छ । ‘पढ्नुपर्छ, जागिर खानुपर्छ, खेलकुदमा लाग्नै हुन्न भन्ने मानसिकता मेरो परिवारमा थियो । परिवारको कुनै सदस्य नलागेको खेलकुदमा मचाहिँ लागेरै छाडेँ,’ दीपक भन्छन् ।
दीपक खेलकुदमा लाग्दा अहिलेजस्तो सहज परिस्थिति थिएन । अहिले अभिभावकले छोराछोरीलाई आफैं खेलकुदको सामान किनिदिएर, तालिममा पठाएर उत्प्रेरित गर्ने गर्छन् । तर उनले कहिल्यै त्यस्तो अवसर पाएनन् । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तै आफ्नो खेल खेल्ने इच्छा पूरा गर्न उनले काकाको गोजीबाट २०० रूपैयाँ चोरे र तेक्वान्दोमा भर्ना भए । त्यहीबाट उनको खेल जीवन सुरु भयो ।
परिवारको इच्छाविपरीत खेलमा होमिएका कारण विष्टले सुरुवाती दिनमा धेरै आर्थिक संकट झेल्नुपर्यो । उनी नाङ्गो खुट, ट्रयाक सुटबिनै खेल्थे । खेलेको दुई महिनामै उनले एल्लो बेल्टको ग्रेडिङ पासे गरे । दुई महिनामै सफलता हात पारे पनि उनका बाबुआमा उनीप्रति खुसी थिएनन् । तथापि, उनी आफ्नो लक्ष्यमा निरन्तर लागिपरे । सन् १९९६ तिर हेटौंडामा आयोजित राष्ट्रिय प्रतियोगितामा ब्ल्याक बेल्ट खेलाडीलाई जितेपछि जीवन नै बदलिएको दीपकको अनुभव छ । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । आफ्नो खेल जीवनलाई थप निखार्नकै लागि उनलाई तालिमको जरुरी थियो, त्यो गाउँमा सम्भव थिएन । त्यसैले उनी काठमाडौंमा आएर दशरथ रङ्गशालाको डोजाङमा भर्ना भए र पढाइसँगै खेलकुदलाई अघि बढाए ।
सुरुवाती चरणमा निकै संर्घष झेल्नुपरेका विष्टलाई खेलखुदमा एकपछि अर्का सफलता हात लाग्दै गए । सन् १९९९ मा काठमाडौंमा आयोजित साफ खेलकुदमा उनले स्वर्ण पदक नै जिते । सन् २००६ को ओलम्पिकमा ७८ किलो समूहमा काँस्य पदक जितेका विष्ट सन् २००८ मा ग्रीष्म ओलम्पिकमा पनि भाग लिने अवसर पाए । सन् २००८ मा बेइजिङ ओलम्पिकमा नेपाली ध्वजाबाहक फहराउने खेलाडी उनै दीपक थिए । उनले चार पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिती कीर्तिमानसमेत कायम गरेका छन् । खेलकुदमा आज उनी एक सफल प्रेरणादायी व्यक्तित्वको रूपमा चिनिन्छन् ।
खेलकुदबाट नाम, दाम इज्जत पाएकोमा गर्व गर्ने विष्टका बाबुआमाको हेर्ने दृष्टि बदलिएको छ, उनीहरू अहिले छोराको अनपेक्षित सफलताले दंग छन् । ‘खेलकुदबाटै नाम र इज्जत पाएको छु, यही खेलबाटै मैले मेरो, परिवार, गाउँलाई चिनाएको छु । म यहाँसम्म आइपुग्नुमा खेलकुद नै हो । खेलकुदले दिएको यो नाम, दाम र इज्जतप्रति सधैं गर्व महसुस हुन्छ,’ उनले भने ।
खेलपछि व्यवसायतिर
खेलकुदबाट जति नाम, दाम कमाउन सफल भए व्यवसायमा पनि उत्तिकै सफल छन् विष्ट । खेलकुदमै आबद्ध भएर आफ्नो आर्थिक पक्षलाई सबल बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् उनी ।
धेरैजसो खेलाडी, विशेषगरी युवाहरू ‘नेपालमा केही छैन’ भनेर विदेश पलायन भइरहेको परिस्थितमा उनले भने ‘नेपालमा गरे जे पनि सम्भव छ’ भनेर प्रमाणित गरेका छन् । सक्रिय खेल जीवनबाट अवकाशपछि पनि उत्तिकै जुझारु विष्टले व्यवसायतिर हात हाल्ने सोच बनाए । आजभन्दा १२ वर्षअघि उनले तीन जना साथीहरू (आत्मराम श्रेष्ठ, राजु अवस्थी र किशोर जोशी) सँग मिलेर बानेश्वरमा ‘स्पोर्टस युनिभर्स’ सुरु गरे ।
आजको दिनमा आइपुग्दा उनको ‘स्पोर्टस युनिभर्स’ ब्राण्ड नै बनिसकेको छ । यहाँबाट खेलकुदका सामग्रीहरू विभिन्न जिल्लामा सुपथ मूल्यमा सप्लाइ हुन्छन् । ‘स्पोर्टस युनिभर्समा सबै खालका सामानहरू सुपथ मूल्यमा पाइने गरेको छ । धेरैले मन पराइदिनुभएको छ, हामीले राम्रो आम्दानी पनि गरिरहेका छौं, त्यही भएर व्यवसाय आजसम्म टिकिरहेको छ,’ उनले सुनाए ।
सुरुसुरुमा पसलमै बसेर सामान बेच्ने गरे पनि अहिले भने विष्टले व्यवस्थापनको पाटो मात्रै हेर्ने गरेका छन् । उक्त ‘स्पोर्टस युनिभर्स’मा उनले १२ जनालाई त रोजगारी नै दिएका छन् । ‘स्पोर्टस युनिभर्सबाहेक जावलखेलमा पनि उनको केल्मीको व्यवसाय छ । त्यहाँबाट पनि राम्रो आम्दानी गर्दै आएको दीपकले थप ४ जनालाई रोजगारी दिएका छन् ।
पूर्वखेलाडी विष्टले व्यवसायबाट कमाएका केही अंश छुट्याएर आफ्नो जन्मदिन, म्यारिज एनिभरसरीको अवसर पारेर अभावमा भएकाहरूलाई दान दिने गरेका छन् । साथै बेलाबेलामा जिल्लाहरूमा खेलकुद सामग्री पनि बाँड्छन् ।
दोष लाउने र सरकारको मुख ताक्नु भएन
खेलकुदमा राम्रो गरेर टिक्ने थुप्रै खेलाडी नेपालमा छन् । पलेसा गोवद्र्धन, संगिना वैद्य, दीपक विष्टलगायत खेलाडीहरू खेलबाटै स्थापित भएका अनुहार हुन् । यहाँ करोड कमाउने खेलाडीहरू पनि छन् । त्यसैले दीपक खेलकुदमा भविष्य छैन भनेर स्थापित गर्न खोजिएको न्यारेटिभमा सहमत छैनन् ।
खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेर जित्दा विभिन्न पदक तथा पुरस्कार पाउँछन् । नेपाल सरकारले पनि उत्कृष्ट खेलाडीलाई सम्मान र पुरस्कारस्वरूप् नगद पुरस्कार दिने गरेको छ । त्यस्ता पुुरस्कारको समयमै सही सदुपयोग गर्यो भने पनि खेलाडीको आर्थिक पक्ष सबल बन्ने विष्टको भनाइ छ
‘राम्रा खेलाडीहरूको भविष्य म अन्धकार देख्दिनँ, धेरैको भविष्य बनेको छ,’ उनले भने, ‘खेलकुदमा लागेर मात्रै जीवनयापन हुन्छ भन्ने सोचले टिक्न गाह्रो होला, तर केही न केहीमा हात हाल्यो भने कुनै पनि खेलाडीले अरूमा भर पर्नुपर्दैन ।’
विष्ट खेलाडीले खेलपछि पनि केही गर्न चाहेको खण्डमा भने राज्यले माहोल बनाइदिनुपर्ने बताए । केन्द्रीय या प्रदेश सरकारले खेलाडीले चाहेको काम गर्ने वातावरण बनाइदिएको खण्डमा खेलाडीलाई स्वदेशमै टिकाउन सकिने उनको भनाइ छ । त्यसका लागि सरकारले खेलाडी या खेलाडीका परिवारलाई सहुलियत दरमा कर्जा दिने, सामाजिक सुरक्षा कोष, स्वास्थ्य तथा शिक्षामा सुविधा दिने लगायत स्किम ल्याउन सक्ने दीपक बताउँछन् ।
‘बाहिरको खेलाडीलाई जुन प्रकारको सुविधा छ, नेपालमा त्यस्तो केही पनि छैन । खेलाडीको सामाजिक सुरक्षा छैन । सरकारले नीति नै बनाएर खेलाडीको लागि केही सुविधाको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
पुरस्कारको सही सदुपयोग
खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेर जित्दा विभिन्न पदक तथा पुरस्कार पाउँछन् । नेपाल सरकारले पनि उत्कृष्ट खेलाडीलाई सम्मान र पुरस्कारस्वरूप् नगद पुरस्कार दिने गरेको छ । त्यस्ता पुुरस्कारको समयमै सही सदुपयोग गर्यो भने पनि खेलाडीको आर्थिक पक्ष सबल बन्ने विष्टको भनाइ छ ।
‘मैले चारचोटि साउथ एसियन गेममा गोल्ड मेडल जिते, चारचोटि नै सरकारले सम्मानस्वरूप पैसा दियो । मैले खेलकुदमा जितेपछि सम्मानस्वरूप १ लाखदेखि २५ लाखसम्म पुरुस्कार पाए । त्यसको मैले समयमै सदुपयोग गरेँ । जग्गा किने, त्यसमा घर बनाएँ । मैले त्यतिबेला सम्मानस्वरूप पाएको पुरस्कारको सही सदुपयोग नगरेको भए, सायदै म यत्तिको हुँदैन थिएँ होला कि,’ कुराकानीको बिट मादै दीपक प्रशन्न मुद्रामा बोले ।
प्रतिक्रिया