जागिर छाडेर कृषिमा रमाएका राधाकृष्ण
वार्षिक कमाइ नै १० लाख
काभ्रेको बनेपा नगरपालिका–४, नालाका कृषि व्यवसायी राधाकृष्ण श्रेष्ठ १० वर्षअघि निजी संस्थामा जागिरे थिए । तर जागिरको कमाइ निराशाजनक थियो । महिना मरेपछि मुस्किलले मात्रै तीन हजार रूपैयाँ हाता लाग्थ्यो ।
उनी जागिरे भए पनि परिवारको पेशा भने कृषि थियो । बुवाले गोलभेंडा खेती गर्थे । कृषिकर्मबाट परिवारको दैनिक गुजारा हुँदै आए पनि यसबाट हुने कमाइबारे राधाकृष्ण जानकार थिएनन् । बिदा मनाएर घरमै बसिरहेका राधाकृष्णले एक दिन एक डोको गोलभेंडा लिएर बजार जानुपर्ने भयो । बजारमा गोलभेंडा बिक्री गरिसकेपछि जब उनले गौर गरी पैसा नियाले, तीनछक परे । नपरुन् पनि किन ? जागिरबाट एक महिनामा हात पर्ने बराबरको रकम एक डोको गोलभेंडाबाटै कमाइ भएको थियो ।
श्रेष्ठ आफ्नो जीवनका लागि यो घटना एउटा अनपेक्षित कुइँनेटो बन्न पुगेको र जागिरबाट व्यावसायिक कृषिकर्मतिर लागेको सुनाउँछन् ।
जागिरबाट व्यावसायिक तरकारी खेती गर्ने सोचमा पुगेका श्रेष्ठका लागि अगाडि बढ्न सहज भने थिएन । व्यावसायिक खेतीका लागि जग्गा आवश्यक पथ्र्यो जुन श्रेष्ठसँग थिएन । जागिरबाट व्यवसायतर्फ पहिलो पटक आकर्षित भएकाले स्वाभाविक रूपमा आँट पनि कम थियो । तर निरुपाय नै भने थिएनन् । राधाकृष्णले निर्णय लिए, जग्गा भाडामा लिने र मिल्ने साथीसँग साझेदारी गर्ने । तीन जनाको टिम बनाएर प्रारम्भमा उनीहरूले गोलभेंडा लगाए । प्रतिफल राम्रै मिल्यो । सब ठीकठाक चलिरहेकै थियो । त्यसैक्रममा अचानक प्राकृतिक विपत्ति आयो, फार्ममा ठूलो क्षति भयो । यो पाँच वर्षअघिको कुरा थियो ।
फार्ममा क्षति पुगेपछि अब के गर्ने भन्ने ठूलो द्विविधामा उनी परे । मनमा अनेक तर्क खेल्थे । बीचमा फेरि जागिर नै सुरु गर्ने कि भन्ने सोच पनि आयो । अन्ततः जानेको व्यवसायलाई नै निरन्तरता दिने सोचको जित भयो ।
श्रेष्ठले सुरुवातमा साझेदारीमा व्यवसाय सुरु गरेका थिए । यो पटक उनी एक्लै व्यवसाय गर्ने निर्णयमा पुगे । २९ रोपनी जग्गा भाडामा लिएर गोलभेंडा लगाए । दोस्रो पटक व्यवसाय गर्दा उनले कर्जा लिएका थिए जुन यही व्यवसायको मद्दतमा भुक्तानी गरिरहेका छन् ।
सुरुमा गोलभेंडा मात्रैको व्यवसाय गरेका श्रेष्ठले अहिले यसलाई विस्तार गरेर काउली, काँक्रो, भ्यान्टे खुर्सानीदेखि फूलखेती र अलिअलि सागसमेत लगाएका छन् । यसबाट सबै खर्च कटाएर वार्षिक ८ देखि १० लाख रूपैयाँ बचत भइरहेको उनी सुनाउँछन् ।
‘कृषि क्षेत्रमा सधैं एकनास हुँदैन, बेला–बेला प्राकृतिक प्रकोपले दुःख दिन्छ । तर पनि अहिलेसम्म सबै खर्च कटाएर वार्षिक ८ देखि १० लाख रूपैयाँ बचत भइरहेको छ,’ प्रफुल्ल मुद्रामा उनले आफ्नो प्रगति सुनाए ।
श्रेष्ठले २८ लाख लगानीमा यो व्यवसाय सुरु गरेका थिए । अहिले त्यसलाई विस्तार गरेर ५० लाख पु¥याएका छन् । कृषिमा भित्रिएको नवोदित प्रविधि एग्रिग्रेसन सिस्टम, थोपा मिसिन, लिप्टिङ सिस्टमलगायतका कारण लागत बढेको उनको भनाइ छ ।
नवप्रवेशीलाई सुझाव
व्यावसायिक तरकारी खेतीमा अवसर र चुनौती दुवै देख्ने श्रेष्ठ नजानी, नबुझी लहैलहैमा कृषि फार्म सञ्चालन गर्न नहुने बताउँछन् । ‘व्यावसायिक रूपमै तरकारी खेती गर्ने कुरा सहज छैन, त्यसमा भिजिएन, बिरुवाको व्यवहारबारे थाहा पाउन सकिएन भने नाफा कमाउन गाह्रै हुन्छ,’ नवप्रवेशीलाई उनको निःशुल्क टिप्स छ, ‘बिरुवाको रूप, रङ, र अनुहार हेरेर हामीले समस्या पत्ता लगाउन सक्नुपर्छ र उपचार गर्नुपर्छ, त्यसरी खेती गर्न सकियो भने राम्रै आम्दानी निकाल्न सकिन्छ ।’
बजारको दुःख
कृषिमा चुनौती नै चुनौती छन् । किसानले बीउबिजनदेखि रोगव्याधिको प्रकोप खेप्दै आइरहेका छन् । सबैभन्दा ठूलो चुनौती भने बजारको छ । बजारमा किसानमाथि ज्यादति नै भइरहेको छ । रगत, पसिना बगाएर किसानले उत्पादन गरेको उपजमा बिचौलियाले क्षणभरमै किसानले भन्दा बढी मुनाफा निकालेर उपभोक्तासम्म पु–याउँछ । काम गर्ने कालु, मकै खाने भालु भनेजस्तो स्थिति बजारको छ ।
उत्पादित वस्तुले उचित मूल्य नपाएका कारण किसानहरू पेशाबाट पलायन भइरहेका छन् । श्रेष्ठ बजारको समस्या पेचिलो भए पनि किसान आफैं सचेत हुनुपर्ने सुझाउँछन् ।
‘उत्पादन मात्रै गरेर हुँदैन, त्यसको लागि बजार हेर्नुपर्छ । हामीले उत्पादन गरेको सामान देशभरि कहाँ राम्रो भाउ छ ? बुझेर पठाउनु पर्छ,’ बजारको झमेलाबाट जोगिने उपाय सुझाउँदै श्रेष्ठ बोले । बजारबारे केही थाहा नहुने किसानले व्यापारीको भरमा आफ्नो उत्पादन जिम्मा लगाउन नहुने अर्को सुझाव पनि उनको छ ।
बजार व्यवस्थापन गरेर आफ्नो सामान सिधै उपभोक्तासामु पुर्याउन सके बीचको मार्जिन आफैंले लिन सकिने श्रेष्ठको भनाइ छ । त्यस्तै बजार व्यवस्थापनलगायत सबै काम एक्लैले गर्नुभन्दा पनि बाँडफाँट गर्नु उपयुक्त हुन्छ । सबै काम आफैं गर्छु भनेर लाग्दा बिग्रने भएकाले आफूले बजार व्यवसस्थानको जिम्मा अर्कैलाई दिएको उनले सुनाए ।
आधुनिकीकरणका कुरा
कृषिप्रधान देश नेपालमा गुन्द्रुकदेखि बेसारसम्म आयात भइरहेको छ । चाहेर पनि धेरै कृषक पराम्परागत कृषि प्रणालीबाट माथि उठ्न सकेका छैनन् । कृषि र कृषकका निम्ति राज्यले सही नीति नअगाल्दा कृषिमा आधुनिकीकरण अपेक्षित हुन सकेको छैन ।
कृषि व्यवसायी श्रेष्ठ कृषिमा नयाँ प्रविधिअनुसारको काम गर्न कृषकको प्रयास र प्रयत्नले मात्र नपुग्ने निचोड सुनाउँछन् । ‘एक जना किसानले अहिलेको प्रविधि भित्र्याएर एक रोपनी क्षेत्रफलमा काम गर्ने हो भने तीन लाखदेखि साढे तीन लाख खर्च हुन्छ, टनेल त्यही अनुसारको हुनुपर्यो, सिँचाइ त्यही अनुसारको हुनुपर्छ । त्यसैले नयाँ प्रविधि भित्राएर किसानले मुनाफा आर्जन गर्न सक्दैन,’ आधुनिकीकरणका छेकबार देखाउँदै उनले भने ।
आधुनिक प्रविधि भित्र्याएर कृषि व्यवसाय गर्नलाई राज्यले त्यहीअनुसारको नीति ल्याउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ । कृषकको लागि सरकारले अनुदानको प्रबन्ध गरेको भए पनि त्यसबाट वास्तविक किसान लाभान्वित हुन नसकेको श्रेष्ठको अनुभव छ । श्रेष्ठ हचुवाको भरमा अनुदान दिनुको साटो वैज्ञानिक ढंगले वास्तविक किसान लाभान्वित हुने गरी वितरण गर्नु उचित हुने बताउँछन् ।
‘जिल्ला–जिल्ला, पालिकाहरुमा कृषि शाखाहरूले आफैं फिल्डमा गएर खेती गर्ने कृषको आवश्यकता पहिचान गरेर त्यो अनुसार दियो भने किसानलाई राहत हुन्छ र उनीहरूको आयआर्जन बढ्छ,’ उनले भने ।
युवा विदेसिने क्रम यसरी बढेको छ मानौं देशमा कुनै सम्भावना नै छैन । श्रेष्ठ विदेश पलायन भएका युवालाई रोक्ने ल्याकत कृषि क्षेत्रसँग भए पनि त्यो सम्भावना उपभोग गर्न ढिलो भइसकेको बताउँछन् ।
‘कृषि व्यवसाय गरेर नेपालमा मासिक ४०/५० हजार रूपैयाँ कमाउन सम्भव छ,’ उनले भने, ‘एक जना व्यक्तिले १०/१२ रोपनी कब्जा गरेर एक दुई जनालाई रोजगारी दिएर काम गर्ने हो भने कृषिमा राम्रो सम्भावना छ ।’
खेती गर्ने तरिका
कृषि व्यवसाय गर्न चाहने कृषकमा इच्छाशक्ति मात्र नभएर मल, बीउबिजन, माटोसम्बन्धी आवश्यक ज्ञान, सीप र अनुभव चाहिने श्रेष्ठको अनुभव छ । त्यस्तै एउटै खेतीमा मात्रै केन्द्रित नभएर सम्भावना बोकेका अन्य पनि गर्नु पर्छ । ‘खाने मान्छेभन्दा पनि उत्पादन बढेपछि बजार स्लो हुन्छ । कि त राज्यले नीति बनाएर तरकारी निर्यात गर्न सक्नुपर्छ । त्यही कृषि गर्दा क्षेत्रफलको आधारमा चार पाँच भाग लगाएर गर्नुपर्छ,’ उनले भने । बजारको समस्याले दुःख नदियोस् भन्नका खातिर आफूले सिजनअनुसार तरकारी लगाइरहेको उनले सुनाए । त्यसबाहेक कृषि व्यवसायमा सफल हुनको लागि निरन्तरता, धैर्यता र खेतीमा विविधता आवश्यक हुने उनी बताउँछन् ।
जुनसुकै व्यवसायमा नाफासँगै घाटा हुने सम्भावना रहेकाले विरुवालाई चाहिने पोषक तत्व, सम्भावित रोगव्याधि, मल बीउबिजन कीरालगायतबारे ज्ञान हुनुपर्ने श्रेष्ठ बताउँछन् । ‘कृषि कर्ममा व्यावसायिक ढंगले आउने हो भने आधारभूत ज्ञान त लिनैपर्छ,’ तरकारी खेतीबाट तरक्की गरिरहेका श्रेष्ठले कुराको बिट मारे ।
प्रतिक्रिया