शिक्षा बहस : कस्तो हुनुपर्छ कक्षा कोठाको सिकाइ ?
काठमाडौं । उच्च शिक्षाका लागि विदेशिने निकै कमको रोजाइमा शिक्षा विषय पर्छ । यसरी जानेमध्ये नगण्यको सोच हुन्छ, स्वदेश फर्किएर शिक्षण पेसा अँगाल्ने ।
तर समृद्धि कार्कीलाई सिकाइका विधि सिक्न विदेश जाने रहर जागेर आयो । फर्किएर नेपालको शिक्षा क्षेत्रमा योगदान दिने उद्देश्य साथ उनी अमेरिका जाने निर्णयमा पुगिन् ।
यो निधो गर्दा उनले सबैभन्दा धेरै सामना गरेको प्रश्न थियो– त्यति धेरै पैसा तिरेर ‘टिचिङ’ विषय अध्ययन गर्न अमेरिका जाने ?
अमेरिकामा अध्ययन सकाएर विगत तीन वर्षदेखि नेपालमा अध्यापन कार्यमा सक्रिय कार्कीसँग शिक्षण पेसालाई नेपालमा निकै हलुका रूपमा लिने गरेको अनुभव छ । अमेरिका अध्ययनमा जाने क्रममा आफूले सामना गरेका प्रश्न त्यसकै दृष्टान्त भएको उनको बुझाइ छ ।
कार्कीको विचारमा सिकाइमा शिक्षण शैलीको भूमिका महत्त्वपूर्ण हुन्छ । तर यसतर्फ संवेदनशीलता नदेखिएको उनको अनुभव छ । कार्की हरेक विद्यार्थीको पढ्ने र सिक्ने क्षमता फरक हुने भएकाले यसलाई शिक्षकले मनन गर्नुपर्ने बताउँछिन् । ‘एकै कक्षामा विद्यार्थीको सिक्ने शैली र क्षमता फरक हुन्छ । शिक्षकहरूले यो कुरा बुझ्न सक्नुपर्छ,’ उनले भनिन् ।
आफ्नो विद्यार्थीमाथि शिक्षकले विश्वास गर्न सक्नुपर्ने अर्को सुझाव पनि उनको छ । उनका अनुसार, शिक्षकले विद्यार्थीलाई ‘तिमीले गर्न सक्छौ’ भन्ने आत्मविश्वास जगाउन सक्नुपर्छ । हाम्रोमा शिक्षक र विद्यार्थीबीचको सम्बन्धमा केही ग्याप देखिएको उनको बुझाइ छ ।
नेपालको शिक्षा ‘विद्यार्थीकेन्द्रित’ नभएको उनको गुनासो छ । उनका अनुसार, शिक्षकले आफ्ना विद्यार्थी कस्ता छन् भन्ने बुझेर उनीहरूलाई सहज हुनेगरी पढाउनुपर्छ । ‘हाम्रोमा अगाडि शिक्षक र पछाडि विद्यार्थी बसेर संवाद हुन्छ,’ उनले अगाडि थपिन्, ‘यसमा शिक्षकले मात्रै आफ्नो कुरा विद्यार्थीलाई सुनाउँछन् । तर विद्यार्थीकेन्द्रित कक्षाकोठामा शिक्षकले विद्यार्थीका पनि कुरा सुन्छन् ।’
विद्यार्थीहरूलाई ज्ञान मात्रै बाँड्ने भन्दा पनि सीप विकास गर्नेतिर केन्द्रित केन्द्रित हुनुपर्ने उनको भनाइ छ । ‘यसको अर्थ किताब नै नपढाउने भन्ने हैन । तर किताबमा पढाएको विषयलाई सीपसँग जोडौं,’ उनले भनिन्,‘सही उत्तर भन्नुभन्दा पनि सही उत्तरसम्म पुग्न सक्ने सीप विकासमा जोड दिऔं ।’
एजुकेसन डायलगको आजको श्रृंखलामा प्रस्तोता तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले विदेशमा काम गर्दाका अनुभव, सिकाइ र नेपालमा सुधार्नुपर्ने तौरतरिकाबारे कार्कीसँग कुराकानी गरेका छन् :
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया