मौसममा पश्चिमी वायुको प्रभाव, आगामी तीन दिन पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यही मौसमी प्रभावका कारण केही दिनदेखि जारी वर्षा थप लम्बिने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
राजधानी काठमाडौंमा बिहानैदेखि बदली र हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
शुक्रबार पनि वर्षाको क्रम जारी रहनेछ । महाशाखाका अनुसार भाेलि दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहे पनि रातिको समयमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ। रातिको समयमा भने देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया