NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पानी जहाज कम्पनीका लागि कोरिया पठाउन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं । इपिएस कोरिया शाखाले पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि कामदार पठाउन भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि आह्वान गरिएको भाषा परीक्षामा इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ । भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ । तर कामदारको मागअनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षणमा सहभागी भइ उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्नेछन् ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।