‘भाइरल म्यान’ विजय शाही मेघा अस्पतालको ब्राण्ड एम्बेस्डर!

काठमाडौं । किताबका पाना पल्टाएको भरमा सबै कण्ठस्थ हुने अनौठो जिकिर गरेर केही समयअघि कालीकोटका युवक विजय शाही निकै चर्चामा आए ।
मेमोरी किङका रूपमा प्रस्तुत गर्दै सञ्चारमाध्यममा कथित अलौकिक क्षमता देखाउन उनलाई भ्याइ–नभ्याइ भयो । कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्र शाही नेतृत्वको सरकारले ‘मेमोरी किङ’को पगरी गुथाउँदै मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेरै २ लाख रूपैयाँसहित पुरस्कृत नै गर्यो । तर कालान्तरमा एक विदेशीले उनको नकाव उतारिदिए, यसअघिको दाबी झुरो रहेको प्रमाणित गरिदिए ।
शाहीले तीन घण्टा पद्यासन गर्ने, अंग्रेजी र नेपाली ‘फर्मुला’मार्फत आफूजस्तै सीप सिकाउने भन्दै कर्णालीका एक सय ४० भन्दा बढी युवाबाट ७ लाखभन्दा बढी रकम ठगी गरेको समाचार सार्वजनिक भएको थियो । उनले एक पटक आफ्नै मृत्युको अफवाह पनि फैलाएका थिए ।
यसपछि लामो समय सामाजिक सञ्जालबाट अलप भएका शाही मरेको मान्छे जीवित पार्ने अर्को फण्डा लिएर सार्वजनिक भए । मानिसमा आफ्नो अनुसन्धान प्रयोग गर्न नपाएको बताउने शाहीको फत्तुर छ– मरेको चरामा आफूले पत्ता लगाएको औषधि शत प्रतिशत प्रभावकारी देखिएको छ ।
आफूसँग हुँदै नभएको कथित् विद्धता प्रस्तुत गर्दै आइरहेका उनै शाहीले आमसर्वसाधारणलाई गुमराहमा पार्न फेरि अर्को झुटको सहारा लिएका छन् । आफूप्रतिको अविश्वास चिर्न उनले ललितपुरस्थित मेघा अस्पतालको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएको झुटो प्रचार गरिरहेका छन् ।
यसै वर्षको साउन महिनादेखि अस्पतालले आफूलाई ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको शाहीको दाबी छ । उनले मेघा अस्पतालको लोगो रहेको परिचय पत्रको भिडियो नै सामाजिक सञ्जाल टिकटकमा पोस्ट् गरेका छन् ।
उनले सार्वजनिक गरेको परिचय पत्रमा ०८० साउन १ गतेबाट ०८१ असार ३१ गतेसम्मका लागि एम्बेस्डर तोकिएको उल्लेख छ । परिचय पत्रमा लोगो भए पनि आधिकारीक हस्ताक्षर भने छैन ।
मेघा अस्पताल प्रशासनले ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको शाहीको दाबी झुटो भएको प्रष्ट पारेको छ । शाही मरेको मान्छे बचाउने प्रयोग गर्न आफ्नो अस्पतालको सम्पर्कमा आएको तर ब्राण्ड एम्बेस्डरमा नियुक्त नगरिएको अस्पतालको भनाइ छ ।
‘उहाँ एक पटक मरेका चराहरु बचाएको छु । मान्छेमा पनि यो परीक्षण गर्छु भनेर अस्पताल आउनु भएको थियो । त्यसपछि उहाँसँग कुनै कुरा भएको छैन । त्यो कार्ड फेक हो । त्यसमा अस्पतालका कुनै पनि अधिकारीको हस्ताक्षर छैन,’ अस्पताल प्रशासनले नेपालवाचसँग भन्यो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया