साढे दुई करोडका लागि नक्कली बिहे गरेर हत्या, यसरी टुट्यो सपनाको सपना

काठमाडौं । बिमा ठगीका लागि नक्कली बिहे गरेर युवकको हत्या गरेको घटनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ६ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बिमा रहक खानका लागि कानूनी रुपमा श्रीमती बनेकी सपना मल्लसहित संजीव अर्याल, छवीकुमारी खत्री, दिपक केसी, सरहदार अहद खाँ र टोपबहादुर क्षेत्रीविरुद्ध मुद्दा दायर भएको हो । यसअघि उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गत वर्ष साउनमा मुद्दा दायर गरेको थियो ।
सपनाविरुद्ध दुई करोड ५० लाख, संजीवलाई ८०) लाख ३६ हजार, छवी कुमारीलाई १७ लाख ४६ हजार, दिपकविरुद्ध ६० लाख बिगो कायम गरिएको छ । त्यस्तै, अहमद खाँविरुद्ध २० लाख बिगो कायम गरि विभागले मुद्दा दायर गरेको हो । सञ्जीवन नेतृत्वको गिरोहले सपनाको बाँके कोहलपुरका सर्जन विकसँग कानुनी रुपमा बिहे गराई उनको दुर्घटना भएको देखाएर उनको हत्या गरी बीमा रकम निकालिर बाँडेर लिएका थिए ।
पछि नेपाल पुनर्बिमा कम्पनीले शंका लागेर प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो । ठूलो रकमको बीमा गरेलगत्तै शंकास्पद मृत्यु भएकाले पुनर्बिमाका कर्मचारीले शंका गरेर प्रश्न उठाएपछि अनुसन्धान सुरु भएको थियो । कुनै पनि बिमा कम्पनीले बिमाको जोखिम वहनका लागि पुनर्बिमा गरेको हुन्छ । यसको पुनर्बिमा नेपाल रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीमा गरेको थियो । पुनर्बिमाले पनि छानबिन विस्तृत अध्ययन गरेर मात्र दाबी भुक्तानी दिन्छ । एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बिमा हुनु, बिमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने भएकाले घटना शंकास्पद बनेको थियो ।
सोही आधारमा पुनर्बिमाले रिलायन्स लाइफ इन्स्योरेन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले पनि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका थिए । अनुसन्धानमा बिमाकै लागि हत्या भएको पुष्टि भएको थियो ।
२ वैशाख ०७८ राति ११ बजे बसको ठक्करबाट घाइते बनाइएपछि सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे.१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे.१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो । घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै योजनाकार सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए ।
केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै पूर्वयोजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो । ठक्कर दिँदा मृत्यु हुने पक्का नभएपछि उनलाई पछि तानेर टायरले किचेर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनापछि गाडीचालक टोपबहादुर भागेका थिए ।
प्रहरीले पनि त्यस बेला घटनाको विस्तृत अनुसन्धान गरेन । घटनास्थलमा शंका गर्ने प्रशस्त ठाउँ थिए । बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा रुटको बस नै चल्दैन । राति ११ बजे त्यो सडकखण्डमा किन बस गयो भनेर शंकाको सामान्य दृष्टिले समेत प्रहरीले हेरेको छैन । रातको समयमा सडक सुनसान हुने भएकाले हत्याका लागि सो ठाउँ छानिएको थियो । चालक क्षेत्रीले घर फर्कने क्रममा ६ जना स्थानीयले बस रोकेर त्यता पु¥याइदिन आग्रह गरेकाले आफू त्यो सडकमा गएको बयान दिएका छन् । त्यो विषयलाई पुष्टि गर्न प्रहरीले चासो नदिँदा यति ठूलो अपराधका अभियुक्तले उन्मुक्ति पाएका हुन् ।
हाल अनुसन्धानका क्रममा त्यसरी बसको ठक्करबाट हत्या गराउन चालकलाई नौ लाख रुपैयाँ दिने समझदारी भएको थियो । त्यसमध्ये तीन लाख रुपैयाँ दिएको पुष्टि भइसकेको । नक्कली श्रीमती सपनासहित मुख्य योजनाकार सञ्जीव, हत्यामा संलग्न गाडीचालक क्षेत्री, बिमा अभिकर्ता सरदर अहमद खाँ र अन्य दुई सहयोगी दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरी सिआइबीले मुद्दा दायर गरेको थियो ।
यसरी टुट्यो सपनाको सपना
यसरी नक्कली बिहे गरे वापत सपना मल्लाई विदेश पठाउने आश्वासन दिइएको थियो । उनी तयार भइन् । ९ साउन बिहानै चार साथीहरूका साथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थी भिसामा जापान जाँदै थिइन् । उनको नयाँदिल्लीको ट्रान्जिट थियो । नयाँदिल्लीबाट जापानका लागि उड्न खोज्दा भारतीय अधिकारीहरूले रोकेर नेपाल फर्काइदिएपछि उनको जीवनकै ठूलो खुसी पीडामा परिणत भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिआइबीको टोली उनलाई लिन पुग्दा सपनाको सबै सपना टुटिसकेका थिए ।
पहिले नै सो घटना सबै ‘सेटल’ भइसक्यो भन्ने उनलाई लागेको थियो, तर ढिलोचाँडो अपराध लुक्नेवाला थिएन । उजुरी परेपछि सपनालाई केही दिनदेखि प्रहरीले निगरानीमा राखिरहेको थियो । ९ साउनमा उनी दिल्ली पुगिसकेको खुल्यो । प्रहरीले भारतीय अधिकारीसँग समन्वय गरी पक्राउ गरेको हो । बिमाबापत आएको साढे दुई करोडमध्ये एक करोड सात लाख ६६ हजार सपना र उनको परिवारले लिएका थिए । ८० लाख ३६ हजार सञ्जीव र ६० लाख दीपक केसीले लिएका थिए । त्यसैगरी सो समूहले अन्य व्यक्तिको पनि बिमा गराएर योजनाबद्ध रुपमा हत्याको योजना बनाएको समेत प्रहरी अनुसन्धानमा खुलेको थियो । यसमा बिमा कम्पनीको पनि कमजोरी देखिएको थियो ।
अभिकर्ताको तालिमपछि जन्मिएको अपराध
घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल हुन् । जसले आफैँ पनि जीवन बिमा अभिकर्ताको तालिम लिएका थिए । मेटलाइफ इन्स्योरेन्सबाट २०६७ सालमा तालिम लिएका थिए । तालिम लिएपछि उनले जीवन बिमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् । सुरुमा उनले आरती भन्ने ललिता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाए । त्यही क्रममा ललिताले सपना मल्ललाई सञ्जीवसँग भेट गराइदिइन् । सपना र ललिता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् ।
सञ्जीवले उनको महत्वाकांक्षा पूरा गरिदिने आश्वासन दिए । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बिमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् । सोही योजनाअनुसार दुईजनाले २ चैत ०७७ मा विवाद दर्ता गराएका थिए । कमजोर आर्थिक अवस्था भएका सर्जनलाई पनि उनले त्यसरी विवाह गर्दा आर्थिक फाइदा हुने आश्वासन दिएका थिए ।
ताजा अपडेट
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
प्रतिक्रिया