गुप्तचरका अधिकृतकै नक्कली प्रमाणपत्र

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको भन्दै आयोगले बस्नेतलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । छानबिन सुरु भएपछि बस्नेतले भने राजीनामा दिएका थिए । उनी राजनीतिक पावरका भरमा भर्ती भएका कर्मचारी हुन् ।
प्रतिक्रिया