ऋणपत्रमा लगानी गर्दै हुनुहुन्छ ? पहिले यसबारे बुझ्नुहाेस्

काठमाडौं । बैंकहरूले मुद्धती खाताको ब्याजदर निरन्तर घटाइरहेका छन्। बैशाख महिनामा पनि अधिकांश बैंकहरूले ब्याजदर घटाए भने केहीले अघिल्लो महिनाको दरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घट्ने क्रम भने यो महिनामात्र होइन, गत वर्षदेखि नै चलिरहेको छ। २०७९ साल असोजमा मुद्धती खाताको ब्याजदर १२ प्रतिशत भन्दा माथिसम्म पुगेको थियो। सोही बैशाखदेखि ब्याजदर घट्ने क्रम रोकिएको छैन।
मुद्धती खाताबाट ब्याज पाइरहेका बचतकर्ता बैंकको यस्तो निर्णयबाट निरुत्साहित बन्दै गएका छन्। खासगरी, गत असोजदेखि नै बैंकहरूले मुद्धती खाताको ब्याजदर अधिकतम ७ र न्युनतम ४ प्रतिशतमा झारेका छन्। यस्तो अवस्थामा, बैंकमा पैसा राखेर लाभ उठाउनेहरूका लागि नयाँ विकल्प हुन सक्छ ऋणपत्र अर्थात डिबेन्चर । तर, सर्वसाधारणले यसको बारेमा पर्याप्त जानकारी नपाएका कारण अझै पनि यसप्रति आकर्षण देखिएको छैन।
ऋणपत्र भनेको एक वित्तीय उपकरण हो, जसमा लगानीकर्ताले ऋणी संस्थालाई निश्चित अवधिका लागि पैसा दिन्छन् र त्यसको बदलामा तय गरिएको ब्याज प्राप्त गर्छन्।
ऋणपत्र जारी गर्ने संस्थाले कति वर्षको अवधि राख्ने भन्ने कुरा आफैं तय गर्छन्। कुनै संस्थाले पाँच वर्षको ऋणपत्र निष्काशन गर्न सक्छन् भने अर्कोले दस वा यो भन्दा लामो समयसम्म पनि गर्न सक्छन् । सर्वसाधारणबाट आवश्यक रकम उठाउने र त्यसको बदलामा तोकिएको अवधिसम्म ब्याज भुक्तानी गर्ने प्रक्रिया यसमा लागू हुन्छ।
साधारण रूपमा भन्नुपर्दा, ऋणपत्रमा लगानी गर्नु भनेको क्रृणपत्र जारी गर्ने संस्थालाई ऋण दिनु हो, जसको प्रतिफलस्वरूप लगानीकर्ताले निश्चित ब्याज पाउँछन्। ऋणपत्रमा लगानी गर्न चाहनेले न्युनतम २५ कित्ता खरिद गर्नुपर्ने हुन्छ, र एक कित्ताको मूल्य एक हजार रुपैयाँ तोकिएको हुन्छ।
सरकारले पनि समयसमयमा ऋणपत्र जारी गर्ने गर्छ । सरकारी ऋणपत्रमा लगानी गर्दा संगठित संस्थाको तुुलनामा कम जोखिमयुुक्त हुुन सक्छ । संगठित संस्थाको वित्तीय अवस्था केही कारण खराब हुुन पुग्यो वा संस्थाले आर्थिक संकट भोग्नु परेको खण्डमामा संस्था ब्याज दिन असमर्थ पनि हुुनसक्छन् । तर सरकारले जारी गरेको ऋणपत्रमा यो अवस्था सृजना भइहाले पनि सरकारले नै सो रकम व्यहोर्छ ।
यसकारण पनि सरकारले निश्ष्कासन गर्ने ऋणपत्र सुुरक्षित हुुनसक्छ । पछिल्लो समय यस्ता ऋणपत्रको ब्याजदर मुद्धती खाताको भन्दा उच्च देखिएको छ। बैंकमा पैसा राखेर सुरक्षित तरिकाले ब्याज कमाउने सोच राख्नेहरूका लागि ऋणपत्र अझ प्रभावकारी विकल्प बन्न सक्छ।
यो विकल्प विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरूका लागि पनि उपयोगी छ, किनभने उनीहरूका नाममा समेत यस्ता ऋणपत्र जारी गरिएको पाइन्छ।
नेपालवाचको टेलिभिजन प्रस्तुती कुरा पैसाको यस अंकमा ऋणपत्रको समग्र आयाममाथि प्रस्तोता निरज गिरीले एनआइएमबि एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुुंगानासँग छलफल गरेका छन् ।
ऋणपत्र कसरी र कसले निष्काशन गर्छ, सर्वसाधारणले यसमा कसरी आवेदन दिन सक्छन्, र यसको प्रक्रियाबारे अझै विस्तृत रूपमा बुझ्न यो भिडियो हेर्नुुहोस् :
प्रतिक्रिया