तुलसीपुर उपमहानगरमा यस्तो छ चुनावी अंकगणित, एमालेभन्दा गठबन्धनको मत निकै बढी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा पनि स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । दाङमा रहेका दुई उपमहानगरमध्ये तुलसीपुर पनि एक हो । चुनावको मिति नजिकिँदै गर्दा दलहरू तयारीमा लागेका छन् ।
०७४ सालमा दाङका दुवै उपमहानगरपालिका घोराही र तुलसीपुरमा एमालेले प्रभाव जमाएको थियो । त्यतिबेला गठबन्धन बनेको थिएन । तुलसीपुरको मेयरमा घनश्याम पाण्डे विजयी भए । एमाले अहिले पुरानै नतिजा दोहो¥याउने कसरतमा लागिरहेको थियो । तर, संघीय सत्तामा साझेदारी गरिरहेका दलले गठबन्धन गरेर उसको कसरतमा ब्रेक लगाउन खोजेका छन् । यो नगरमा माओवादी निर्णायक अवस्थामा देखिन्छ । माओवादीसँग मिल्ने दल नै हाबी हुने अवस्था छ ।
०७४ को मतपरिणाम
०७४ मा भएको निर्वाचनमा तुलसीपुर उपमहानगरको मेयरमा एमालेका घनश्याम पाण्डेले कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ९ सय ५४ मतान्तरले पराजित गरे । पाण्डेले २२ हजार ८ सय ५७ र गिरीले १८ हजार ९ सय ३ मत पाए । तेस्रो स्थानमा रहेको माओवादीका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत ल्याएका थिए । यस्तै, राष्ट्रिय जनमोर्चाका शुक्रराज भण्डारीले ५ सय ५७ मत पाएका थिए । उपमेयरमा पनि एमालेकै माया शर्मा निर्वाचित भइन् । उनले २१ हजार ३७ तथा कांग्रेसकी देविका नेपाली घिमिरेले २० हजार १ सय ८५ मत पाइन् । उपमेयरमा एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर ८ सय ५२ मात्र थियो । माओवादी केन्द्रकी सीता वलीले ९ हजार ५१ मत पाइन् । राष्ट्रिय जनमोर्चाकी कमला जिसीले ५ सय ८४ र राप्रपाकी लक्ष्मीकुमारी पुनले ५ सय ८२ मत पाइन् ।
१९ वडा रहेको तुलसीपुर उपमहानगरमा तल्लो तहमा कांग्रेस र एमालेबीच समानजस्तो परिणाम आयो । दुवै दलले समान ९–९ वडाध्यक्ष जिते । एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।
पाँचदलीय गठबन्धनविरुद्ध एमाले
सत्तासाझेदार पाँच दलबीच महानगर र उपमहानगर भागबन्डाको सहमति भएको छ । त्यसअनुसार तुलसीपुर उपमहानगरको मेयर कांग्रेसलाई परेको छ । ०७४ को निर्वाचनयता सबैभन्दा ठूलो दल एमाले विभाजित भएको छ । गठबन्धन पनि भएको मौकामा कांग्रेस तुलसीपुर उपमहानगरको नेतृत्व हत्याउने तयारीमा जुटेको छ । एमालेको विभाजन र गठबन्धन कांग्रेसका लागि अहिले सुनौलो अवसर आएको छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको पनि तुलसीपुरमा संगठन ठिकै देखिन्छ । त्यसैले पनि एमाले अब संकटमा परेको छ । अहिले एकातिर पाँच दल र अर्कातिर एमाले एक्लैजस्तो देखिएको छ । यद्यपि, उसले राप्रपा नेपालसँग तालमेल गर्न प्रयास गरिरहेको छ । तर, तुलसीपुरमा राप्रपा नेपालको खासै मत छैन । त्यसैले अबको चुनाव गठबन्धन भर्सेज एमाले हुने देखिएको छ ।
सम्भावित परिणाम
तुलसीपुरमा माओवादी निर्णायक स्थानमा देखिन्छ । विगतको मतपरिणाम हेर्दा माओवादीसँग मिल्ने दलले नै आगामी चुनावमा बाजी मार्ने स्पष्ट छ । यसअघि दलहरूले पाएको मतलाई तुलना गर्दा यो उपमहानगरको सम्भावित परिणाम पनि लगभग स्पष्ट हुन्छ । ०७४ को चुनावमा एमालेका उम्मेदवारले पाएको मत प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारको भन्दा ३ हजार ९ सय ५४ मात्र बढी हो । त्यसमा माओवादीका उम्मेदवारले पाएको ८ हजार ६ सय ९३ जोड्ने हो भने एमालेको भन्दा ४ हजार ७ सय ३९ बढी हुन्छ । यसमा राष्ट्रिय जनमोर्चाले पाएको ५ सय ५७, एकीकृत समाजवादीले एमालेबाट काट्ने र जनता समाजवादी पार्टीको मत पनि जोड्दा निकै बढी हुन्छ । एकीकृत समाजवादीका कारण एमालेको मत पहिलेको भन्दा कम हुन सक्छ ।
उपमेयरमा एमालेका उम्मेदवारले पाएको २१ हजार ३७ मतमा गठबन्धनको मत जोड्दा झन्डै ९ हजार मत बढी हुन्छ । यसमा एकीकृत समाजवादीले एमालेका काट्ने मत जोडिएको छैन । त्यसैले विगतको परिणामअनुसार भन्ने हो भने तुलसीपुरमा अब गठबन्धनको जित निश्चितजस्तो देखिन्छ । यद्यपि, थपिएका मतदाता र उम्मेदवारको अनुहारले पनि परिणाम तलमाथि हुन सक्छ । त्यसबाहेक दाङ कांग्रेसमा देखिने दुई समूहको झगडाले पनि असर पर्न सक्छ । तर, समग्रमा अहिलेकै अवस्था रहे एमालेले पहिले जितेको यो उपमहानगर आगामी चुनावमा गुमाउनुपर्ने हुन सक्छ । गठबन्धन नबनेको भए उसले फेरि पनि बाजी मार्ने सम्भावना थियो । गत चुनावमा भन्दा माओवादी केही कमजोर भए पनि त्यसले परिणाममै असर पर्ने देखिँदैन । उसले गठबन्धनमा तुलसीपुरको उपमेयर पाएको छ । उपमेयरमा पहिले पनि निकै कम मतको अन्तर थियो । त्यसको मुख्य कारण उम्मेदवारको प्रभाव थियो । यसपटक भने गठबन्धन बनेकाले तुलसीपुरको मेयर–उपमेयरसहित अधिकांश वडामा उनीहरूकै उम्मेदवार विजयी बन्ने लगभग निश्चित देखिन्छ ।
जनसंख्या र मतदाता
तुलसीपुर उपमहानगरमा ०७४ को निर्वाचनमा ७६ हजार ८ सय ९३ मतदाता थिए भने त्यतिबेला खसेको मतको ५२ हजार १ सय ४१ मत सदर भएको थियो । अहिले जनसंख्या र मतदाता दुवै बढेको छ । एक लाख ८० हजार ७ सय ३४ जनसंख्या रहेको तुलसीपुर उपमहानगरमा एक लाख ७ हजार ६ सय ७७ मतदाता छन् । यो विगतको भन्दा ३० हजार ७ सय ८४ बढी हुन् ।
भौगोलिक अवस्था
तुलसीपुर उपमहानगरपालिका नेपालको पश्चिमी भेगमा रहेको दाङ जिल्लामा पर्छ । यसको करिब ७० प्रतिशत भूभाग दाङ उपत्यकाको समथर क्षेत्रमा पर्छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिका दोस्रो ठूलो हो । यो उपमहानगर क्षेत्रफलका हिसाबमा नेपालको दोस्रो ठूलो हो । थारू भाषामा बस्तीलाई पुर्वा भनिन्छ । यही तुलसीपुर्वालाई पर्वतेहरूले तुलसीपुर भन्ने गरेको कथन छ । यस ठाउँलाई पहिले तुलसीपुर्वा भनिन्थ्यो । पछि अपभ्रंश हुँदै तुलसीपुर रहन गयो । ०४८ सालमा यसलाई नगरपालिका घोषणा गरिएको थियो । ०७३ फागुन २२ गते नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नति भएको थियो । त्यतिबेला तत्कालीन मानपुर, बिजौरी, डुरुवा, फूलबारी र पवननगर गाविससमेत समेटिएको थियो ।
घोराही उपमहानगर : अधिकांश प्रतिबद्धता अधुरै, खुद्रे काममा अल्झिए जनप्रतिनिधि
प्रतिक्रिया