रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन ठमेलका व्यवसायीको माग

ठमेलका व्यवसायीले रात्रिकालिन व्यवसाय सञ्चालन गर्न माग गरेका छन् । दिवाकालीन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन नसक्दा व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्को गुनासो छ । बिहीबार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको कार्यक्रममा व्यवसायीले रात्रिकालिन व्यवसायलाई सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनःस्थापना गर्नुपर्ने माग गरेका छन् । कोभिड–१९ को सङ्क्रमण शुरु भएपछि ठमेल क्षेत्र अहिलेसम्म ठप्प छ । पर्यटन व्यवसायमा चुलिँदै गएको आर्थिक संकट व्यवस्थापन गर्न ठमेल खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनुपर्ने व्यवसायीको माग थियो । कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले सरकारले सञ्चालनको अनुमति दिएन भनिरहँदा व्यवसायलाई थप व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । ‘ठमेलमा व्यवसायी र घरधनीका आफ्ना–आफ्नै गुनासा र समस्या छन् । छुट्टाछुट्टै सुन्दा कुरा सबैका जायज लागे पनि दुवै पक्षले समझदारी नगरी व्यवसाय अघि बढाउन सकिँदै’, कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले भने । ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए । त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । कुनै ठाउँमा ९ बजे, कतै १० बजे र कतै ११ बजे व्यवसाय बन्द गर्ने व्यवहार असमान भएको उनीहरूको गुनासो थियो । छलफलमा सहभागी घरधनीले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लील गतिविधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए । यस क्षेत्रमा करिब १० हजार व्यवसायी र दुई हजार घरधनी छन् । सिजनमा ठमेलले दैनिक रु ३० देखि ३५ करोड र अफसिजनमा रु १८ देखि २० करोड कारोवार गर्ने गरेको थियो ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया