NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

६० वर्ष कटेका पत्रकारलाई मासिक चार हजार पेन्सन

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन वितरण गर्ने भएको छ । सो कार्यक्रम मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी पहिलोपटक गर्न लागिएको बताइएको छ । पत्रकार महासंघ मकवानपुर शाखाका अनुसार कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक चार हजारको दरले पेन्सन दिने प्रक्रिया अघि बढाइएको हो । पेन्सन दिनका लागि यसअघि नै हेटौँडा उपमहानगरपालिकाले कोषमा १० लाख रुपैयाँ उपलब्ध गराइसकको छ । उक्त रकम पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा जम्मा गरिएको छ । यही बैंकमा यसअघि मुद्दति खातामा रहेको दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको १० लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघका अध्यक्ष हरि हुमागाईंले जानकारी दिए । पेन्सनसम्बन्धी कार्यविधिलाई महासंको शुक्रवार बस्ने साधारणसभाले पारित गर्नेछ । महासंघ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको हो । लगातार कम्तीमा २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको हो । राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनै पनि संघसंस्था, गैरसरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताए । ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पूर्वअध्यक्षहरूमध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था गरिएको छ । मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ । मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासङ्घको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए । पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर २० वर्ष पत्रकारितालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछि सक्रिय पत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्ने उनले बताए । पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति संघसंस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राखिने छ । नेपाल पत्रकार महासंघ मकवानुर शाखामा हाल १०३ जना साधारण सदस्य छन् भने यस वर्ष ६० जनालाई नयाँ सदस्यता वितरणका लागि लागि प्रदेश महासंघमा सिफारिस गरिएको शाखाले जनाएको छ ।