NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

अन्यौलमा कांग्रेसको १४ औं महाधिवेशन : निर्धारित समय घर्कियो, नयाँ कार्यतालिकामा अलमल

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्यौलमा देखिएको छ । आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने यस अघिको कार्यतालिका थियो । तर, कार्यतालिका अनुसार समायोजन, क्रियाशील सदस्यताको नवीकरण र वितरण सकेर वडा तहदेखि अधिवेशन सुरु नहुँदा तालिका प्रभावित भएको हो । अहिलेसम्म ७७ वटा जिल्लामध्ये ७४ वटाले संघीयता अनुसार पार्टीका संरचना समायोजन सकेका छन् । समायोजन समयमा नसक्दा जिल्लाहरु क्रियाशील सदस्यता टुंग्याउन निक्कै ढिलो गरी लाग्दा महाधिवेशनको कार्यतालिका प्रभावित हुन पुगेको हो । केन्द्रीय समितिले मंसिर मसान्तसम्म सदस्यताको विवरण पठाउन भने पनि एक हप्ता बाँकी हुँदासम्म एउटा जिल्लाले मात्रै पठाएको हो । क्रियाशील सदस्यताको विवरण ७७ वटा जिल्ला मध्ये बुधबार अर्घाखाँचीले केन्द्रीय कार्यालयमा बुझायो । तर, त्यो विवरण पनि अपूरो रहेको छ । महाधिवेशन पूर्व आन्तरिक समायोजन र क्रियाशील सदस्यताको वितरण र नवीकरण टुंगिनुपर्छ । तर, यी विषय नटुंगिदा समयमा महाधिवेशन गर्न नसकेको बहाना कांग्रेसलाई मिलेको छ । बारा, सप्तरी र सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले अझै समायोजन नै टुंग्याउन सकेका छैनन् । अरु जिल्लाले पनि समयमा नगरी समायोजनमा लामो समय खर्चिए । सदस्यताकाे अन्तिम टुंगाे लागेपछि बल्ल तल्लाे तहकाे अधिवेशनकाे प्रक्रिया सुरु हुन्छ । समयमा काम नभएको विषयमा बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि छलफल भएको थियो । ‘समय घर्किदैं गएको साँचो हो । तर, पहिले क्रियाशील सदस्यतामा देखिएको विवाद टुंग्याउँदै सदस्यतामा मोटामोटी टुंगो लगाउँ भन्ने भएको छ’ छलफलमा सहभागी नेता रामचन्द्र पौडेलले नेपालवाचसँग भने, ‘७७ मध्ये अर्घाखाँचीले सदस्यताको विवरण पठायो भन्ने छ । अरु जिल्लाले पनि सदस्यताको विवरण पठाएपछि केन्द्रीय समितिले कार्यतालिकाको विषयमा निर्णय लिन्छ ।’ महामन्त्री पूर्णबहादुर खड्काले पनि सदस्यताको विषय टुंगिएपछि महाधिवेशनको कार्यतालिकालाई सहज हुने जानकारी दिए । ‘अधिवेशनको प्रक्रिया अघि क्रियाशील सदस्यताको विषय टुंगिन आवश्यक छ । क्रियाशील सदस्यताको सूची आएर सभापतिले प्रमाणित गरेको डेढदेखि तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्न सकिन्छ’ खड्काले नेपालवाचसँग भने, ‘त्यसैले हामीले सदस्यता छिटो टुंग्याउन जिल्लालाई निर्देशन दिइरहेका छौं ।’ तर, जिल्लाले अझै सदस्यता टुंग्याउन सकेका छैनन् । अर्घाखाँची जिल्लाले बुधबार सदस्यताको सूची केन्द्रमा बुझाए पनि अझै जिल्लामा बैठक गर्नेसहितका प्रक्रिया पूरा गर्न बाँकी रहेको खड्काले बताए । केन्द्रमा नेताहरुको गुटबन्दीको जालो जिल्लासम्म पुगेकोले कांग्रेसमा सदस्यतामा विवाद हुने गरेको छ । क्रियाशील सदस्यबाटै महाधिवेशन प्रतिनिधि छानिने भएकोले आफू निकटका प्रतिनिधि ल्याउने होडबाजी गुटगत रुपमा चल्ने गर्छ । यसले गर्दा सदस्यमा जिल्लाजिल्लामा विवाद हुने गरेको छ । यसपटक कांग्रेसले चार लाख ७० हजार क्रियाशील सदस्यतामा शतप्रतिशत अर्थात पहिलेकै जति सदस्यता थप गर्ने निर्णय गरेको छ । धेरै सदस्य थपिने भए पछि पनि आफू निकटकलाई ल्याउन केन्द्रदेखि जिल्लासम्मका नेताहरुबी होडबाजी चल्ने गरेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेल कांग्रेस केन्द्रीय समितिले मंसिर मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउन जिल्लालाई निर्देशन दिए पनि अहिलेसम्म एक जिल्लाको मात्रै आउनु विडम्बना रहेको बताए । ‘कांग्रेसको पछिल्लो केन्द्रीय समितिले मंसिर मसान्तसम्म सबै जिल्लालाई सदस्यताको विवरण पठाउन भनेको थियो’ पौडेलले नेपालवाचसँग भने, ‘तर, अहिलेसम्म एउटा जिल्लाले मात्र पठाएको छ । यो तालले कांग्रेसमा सदस्यताको विषय कहिल्यै टुंगिदैन ।’ सदस्यतासँगै यस विषयमा देखिएका विवाद मिलाउन छानविन समिति गठन गर्नुपर्नेमा यो पनि भइरहेको छैन । ‘जिल्लाले सदस्यता टुंग्याउँदै गर्दा छानविन समिति गठन गरेको भए जिल्लालाई समितिले पनि दबाब दिन्थ्यो’ पौडेलले भने, ‘तर, छिटो गर्ने नियत पार्टीमा नदेखिंदा महाधिवेशन गर्न अन्यौल देखिएको छ ।’ नेता रामचन्द्र पौडेल पक्षले सदस्यतामा संस्थापनबाट मनोमानी भएको भन्दै दुई तीनपटकसम्म सभापति देउवालाई लिखित ध्यानाकर्षण नै गराएको छ । आन्तरिक समायोजन, अन्य पार्टीबाट आएकाहरुको समायोजनका नाममा जिल्लामा मनलाग्दी गरी सदस्यता वितरण गरेर महाधिवेशनलाई प्रभावित पार्न खोजेको आरोप पौडेल पक्षको छ । पौडेल पक्षका २७ केन्द्रीय सदस्यले १२ असोजमा पार्टी विधान सम्मत् संचालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गर्न माग गर्दै सभापतिलाई हस्ताक्षरसहितको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही पत्रमा उनीहरुले महाधिवेशन कब्जा गर्ने नियत संस्थापनमा भएको आरोप लगाएका छन् । ‘महाधिवेशनको औपचारिक प्रकृया शुरु भएपछि पार्टीको नेतृत्वबाट झन् बढी विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षको रुपमा ध्रुवीकृत भएको छ । यस्तो पक्षपात पूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियत देखिन्छ महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्तिहरु गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो’ उनीहरुकाे पत्रमा भनिएकाे छ ‘तसर्थ केन्द्रीय विभाग गठनका कार्य तत्काल रोकिनु पर्दछ, साथै पार्टीको विधान विपरित भईरहेको क्रियाशील सदस्यता वितरण तत्काल बन्द गरिनु पर्दछ भन्ने कुरा जिल्ला सभापतिहरु एवं हामीले बारम्बार सभापतिज्यूलाई ज्ञापनपत्रद्वारा विभिन्न पटक आग्रह गरेका हौं । उनीहरुको यो मागको विषय अझै टुंगिसकेको छैन ।’ कांग्रेसको २५ कात्तिकसम्म एक प्रतिनिधिसभा क्षेत्रीय समितिसम्म र जिल्लाको अधिवेशन गर्ने, २९ मंसिरमा ७ प्रदेशको अधिवेशन गरेर फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने तालिका थियो । अब केन्द्रीय अधिवेशनबाहेकका सबै कार्यतालिको समय मिचिसकिएको छ । यस्तोमा १४ औं महाधिवेशन सर्ने निश्चित भए पनि कहिले सार्ने भन्ने टुंगो लाग्न सकेको छैन । फागुनबाट सारेपछि कहिले भन्नेमा फरकमत फागुनमा महाधिवेशन हुँदैन भन्नेमा कांग्रेसका सबै नेता जानकार छन् । तर त्यसपछि सार्ने मिति कहिले भन्नेमा मतैक्य छैन । संस्थापन पक्षले भदौसम्ममा महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ । तर, पौडेल पक्षले ढिलोमा जेठसम्म महाधिवेशन गरिसक्नुपर्ने बताउँदै आएको थियो । सिटौला पक्ष भने पहिले पनि पर्याप्त समय नलिंदा महाधिवेशन सार्नुपरेको भन्दै पहिले गर्न नसकेकोमा माफी मागेर महाधिवेशन समयमा गर्नेगरी समय तोक्नुपर्ने पक्षमा छ । नियमित चार वर्षमा महाधिवेशन नभएपछि एक वर्ष थप गरिएको कार्यकाल आगामी फागुन १९ बाट सकिंदैछ । त्यसपछि नेपालको संविधानले दिएको थप ६ महिनामा कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने अवस्थामा कांग्रेस छ ।संस्थापन पक्ष अन्तिम समय अर्थात् २०७८ को भदौसम्म महाधिवेशन गर्ने मनस्थितिमा छन् । संस्थापन इतर पक्ष भने ढिलोमा पनि जेठसम्म महाधिवेशन गर्नुपर्ने मतमा छन् । यस्तो थियो कांग्रेक पुरानो कार्यतालिका गाउँ–नगर वडा अधिवेशन : २०७७ कात्तिक १६ गते गाउँ–नगरपालिका अधिवेशन : २०७७ कात्तिक १८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन : २०७७ कात्तिक २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन : एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : २०७७ कात्तिक २३ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : २०७७ कात्तिक २५ गते प्रदेश अधिवेशन : २०७७ मंसिर २९ गते महाधिवेशन : २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं विरोधलाई प्रभावकारी बनाउने निर्णय कांग्रेस बैठकले २९ मंसिरमा ७७ वटै जिल्लामा गर्न लागेको सरकारविरोधी प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । केही दिन अघि तनहुँमा नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएर दमन गरेको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो । कांग्रेसले सरकार दमनमा उत्रिएको, स्वेच्छारी बन्दै गएको, संवैधानिक अंगमाथि अनावश्यक नियन्त्रण गरेको, भ्रष्टाचार बढेको, राष्ट्रपतिको भूमिका बढ्दै गएको जस्ता विषयमा खबरदारी गर्ने बताउँदै आएको छ । ७७ वटै जिल्लामा गरिने विरोध प्रदर्शनमा केन्द्रबाट नेता खटिने भन्दा पनि जिल्लाबाट माग भए अनुसार नेताहरु कार्यक्रममा जाने महामन्त्री खड्काले बताए ।