NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

कांग्रेसमा निरन्तर सर्दै सदस्यता टुंगोको भाका

काठमाडौं । कांग्रेसमा विवादित बन्दै आएको क्रियाशील सदस्यताको नवीकरण र नयाँ वितरणको मिति फेरि सारिएको छ । यस अघि मंसिर मसान्तसम्म सदस्यता टुंग्याइसक्न केन्द्रले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो । तर, निर्धारित मितिसम्म अर्घाखाँची जिल्लाले भन्दा अरु कुनै जिल्लाले सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाउन सकेनन् । यसकारण पनि केन्द्रीय समितिको बैठकले पुनः माघ मसान्तसम्म सदस्यताको अन्तिम टुंगो लगाउन निर्देशन दिएको हो । ‘एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पुरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्क सहित बुझाउने अन्तिम मिति २०७७ माघ मसान्त तोकिएको छ’ आइतबारको केन्द्रीय समितिको बैठकले भनेको छ । सदस्यताको मिति पछाडि सारिएपछि कांग्रेसको महाधिवेशन पनि स्वतः पछाडि धकेलिने निश्चित भएको छ तर, कांग्रेसले अहिलेसम्म महाधिवेशन सार्नेबारे कुनै छलफल र निर्णय गरेको छैन । १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौं हुने तोकिएको थियो । समायोजन र सदस्यताको विषय टुंगो लागेर कांग्रेस वडा तहका अधिवेशनको प्रक्रियामा नै प्रवेश गरेको छैन । यस अघि पनि पार्टीले पटकपटक सदस्यतासहितका बाँकी काम टुंग्याउन जिल्लालाई निर्देशन दिंदै आएको थियो । तर, सदस्यताको विषय अझै पनि मिल्न सकेको छैन । मुख्यगरी गुटगत प्रभाव सदस्यतासम्म परेपछि जिल्लाहरुले सदस्यताको टुंगो लगाउन नसकेका हुन् । क्रियाशील सदस्यताहरुबाटै महाधिवेशन प्रतिनिधि चयन हुने भएपछि आफ्ना मान्छे पार्न गुटहरुबीच अस्वस्थ प्रतिस्पर्धा चल्ने गरेको छ । १४ औं महाधिवेशनदेखि लागू हुने गरी कांग्रेसले एक शय प्रतिशत सदस्यता थप वितरण गर्ने निर्णय गरेको छ । यस्तोमा कांग्रेसमा अब एकैपटक पाँच लाख हाराहारी सदस्यता थपिएर १० लाख पुग्दैछन् । यसैले पनि आफ्ना मान्छे पार्न गुटहरुबीच प्रतिस्पर्धा चल्ने गरेको छ । सदस्यता विवादका विषयमा छानविन समिति गठन गर्ने भनिए पनि अझै गठन भएकाे छैन ।

ताजा अपडेट

नेपालवाच विशेष