तेह्र वर्षपछि पुन्टेकी आमा घर फर्किइन्

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँडेकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ । ‘आमाको सम्झना आइरहे पनि फर्केर आउनुहुन्छ भन्ने लागेको थिएन’, छोरा पुन्टेले भने, ‘आज आमा आउँदा सपना जस्तो लागेको छ, निकै खुशी भएका छौँ ।’ छोराहरु अहिले जवान भइसकेका छन् । आमाले छाडेर हिँडदा जेठा छोरा पुन्टे १३, माइला सन्तोष १२ र कान्छा सेतुराम १० वर्षका थिए । अहिले तीन जना छोराहरु जवान भईसकेका छन् भने जेठा छोरा पुन्टेले त विवाह पनि गरिसकेका छन् । नाबालक अवस्थामा रहेका छोराहरु छाडेर हिँडेकी पार्वती घर जान पाउँदा निकै खुशी देखिएकी थिइन् । तेह्र वर्षसम्म सडक, चौपारी, पाटीपैवामा कष्टपूर्ण जीवन बिताउनुभएकी पार्वती अन्तत परिवारको सहारामा पुगिन् । श्रीमान् पूर्णबहादुर माझी श्रीमती घर आउँदा औधी खुशी भएको बताउँछन् । धादिङ सदरमुकाममा होटल व्यवसाय गर्ने उषा श्रेष्ठले सडकमा फालेको फोहर टिपेर खाँदै गरेको देखेपछि केही दिन आफैसँग राखेर पार्वतीको पालनपोषण गरेकी थिइन् । पछि उनले पार्वतीलाई नवजीवनको जिम्मा लगाइदिइन् । संस्थाले उनलाई धादिङबाट काठमाडौँ ल्याई आश्रममा राख्यो । ‘उहाँ (पार्वती)ले आफ्नो ठेगाना बताएपछि हामी उनको परिवार पत्ता लगाउने क्रममा लाग्यौँ’, समाजका अध्यक्ष दुर्गानाथ दाहालले भने, ‘पहिले उहाँलाई नलिकनै परिवार भेट्न गयौँ, परिवारको पहिचान भएपछि मात्रै उहाँलाई लिएर सँगै गयौँ ।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया