NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

आजका ‘गुड न्युज’ : युरोपदेखि अमेरिकासम्म पुग्न थाल्यो नेपाली चिउरा

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् ।नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका गुड न्यूज : – युरोपदेखि अमेरिकासम्म पुग्न थाल्यो नेपाली चिउरा नेपाली चिउराले अन्तर्राष्ट्रिय बजार पाउन थालेको छ । स्थानीय बजारमा उत्पादन भएका चिउरा तथा भुजा युरोप, अमेरिकालगायतका मुलुकमा निर्यात भइरहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामै झण्डै ९ करोड रुपैयाँ बराबरको चिउरा र भुजा आठ मुलुकमा निर्यात भएको छ । यो गत आर्थिक वर्षभरको भन्दा झण्डै २ सय प्रतिशतले बढी हो । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनामा अस्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, जापान, कोरिया, बेलायत, अमेरिकामा आठ करोड ८० लाख ७५ हजार रुपैयाँको २ लाख ९७ हजार ३ सय १६ किलो चिउरा निर्यात भएको छ । सानो संख्यामा भुजा पनि निर्यात भएको देखिन्छ । पाँच महिनामा हङकङमा ८५० किलो भुजा १ लाख ७३ हजार रुपैयाँको निर्यात भएको छ । यी मुलुकमध्ये सबैभन्दा धेरै अमेरिका र अष्ट्रेलियामा खपत भएको छ । पाँच महिनामा अमेरिकामा ४ करोड ६८ लाख ८९ हजार बराबरको चिउरा निर्यात भएको छ भने अष्ट्रेलियामा २ लाख ३० लाख रुपैयाँ बराबरको भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात भएको चिउरा गत वर्षभन्दा १८८ प्रतिशतले धेरै हो । गत वर्षका तथ्यांकअनुसार ३ करोड ५ लाख ४४ हजार रुपैयाँको चिउरा निर्यात भएको थियो । – बैंकिङ् क्षेत्रबाट ऋणको प्रवाह बढ्यो, दैनिक औसत ३ अर्ब लगानी कोरोना महामारीका कारण सिथिल बनेको अर्थतन्त्र विस्तारै चलायमान हुँदै गइरहेको छ । जसको फलस्वरुप बैंकमा थुप्रिएको रकम बजारमा जान थालेको छ । पछिल्लो केही समय यता दैनिक औसत ३ अर्ब रुपैयाँ भन्दा बढीको ऋण प्रवाह हुन थालेको नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्मा बताउँछन् । पछिल्लो एक साताको तथ्यांक हेर्दा बैंकहरूको दैनिक कर्जा लगानी ३ अर्ब रुपैयाँ भन्दा बढी देखिएको उनको भनाइ छ । पुस १७ गतेसम्ममा बैंकहरूले ३१ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमा ३० खर्ब ५५ अर्ब स्वदेशी मुद्रामा र १ खर्ब ७ अर्ब रुपैयाँ वैदेशिक मुद्रामा कर्जा लगानी भएको बैंकर्स संघको तथ्यांक छ । केही दिन यता कर्जाको वृद्धिदर गत वर्षको यसै अवधिको तुलनामा भन्दा पनि धेरै छ । ऋणको प्रवाह बढे पनि अझै केही महिना बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य रकम) को अभाव नहुने शाह बताउछन् । एक महिनामा बैंकहरूले ७८ अर्ब रुपैयाँ भन्दा माथिको ऋण लगानी गरिसकेका छन् । हाल ऋण लगानी बढाउन बैंकहरूले ऋणको ब्याजदर घटाउने तथा ग्राहकलाई विभिन्न सेवाहरु दिदै आइरहका छन् । – घलेगाउँमा बढ्यो पर्यटकको चहलपहल गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमूना घलेगाउँमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिनापछि आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेको हो । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोभिडका कारण त्यहाँका समितिले समेत घरबास बन्द गरेको थियो । गत भदौ १ गतेदेखि घरबास खुला गरिएको केही हप्तासम्म मुस्किल ९÷१० जना आउने गरेका थिए । यतिबेला भने दैनिक सय देखि १५० जनासम्म आन्तरिक पर्यटक आउन थालेको समितिका सचिव उमलबहादुर विकले बताए । – ढल्केबर सबस्टेसनको क्षमता बढाइयो, थप एक सय मेगावाट विद्युत् आयात गर्न सकिने धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो । प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिए । अहिले ढल्केबर सबस्टेसनमा २२०/१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभीए छ । अब सबस्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । ग्रिड सबस्टेसन क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५ एमभीएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्च गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको छ । अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौता अनुसार थप करिब एक सय मेगावाट विद्युत् आयात गर्न सकिने छ । ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोसी आएपछि आन्तरिक रुपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ । केही महिना अघि संचालनमा आएको ४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रशारण गर्न सक्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष