चालु आर्थिक वर्षभित्र काशी करिडोरमा सात पुल बन्ने

काठमाडौं । निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो । राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथांका सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालु आवभित्रै सात पुल सम्पन्न गर्न सकिन्छ । फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको उनको भनाइ छ । उनले भने, ‘करिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरु ससाना खोलामा पुल निर्माणाधीन छन् ।’ करिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृत क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । डिजाइन स्वीकृत भएमा चालु आवभित्रै ठेक्का निकाल्न सकिने उनको भनाइ छ । त्यो ठाउँमा निर्माण सामग्री नभएकाले डिपिआर गरेर पछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ । उनी थप्छन्, ‘निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ ।’ जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले निर्माणको काम माघ महिनादेखि शुरु गर्ने गरी अघि बढाएको जनाएको छ । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड रुपैयाँ स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको हो ।
ताजा अपडेट
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
-
‘सगरमाथा संवाद’: पाहुनालाई गराइयाे हिमशृङ्खला दृश्यावलोकन
प्रतिक्रिया