ओलीविरुद्ध आन्दोलन : कांग्रेसमाथि प्रचण्ड–नेपालको भर, कांग्रेसलाई उनीहरूसँग डर

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई नेकपा, कांग्रेस, जसपासहितका प्रमुख दलले असंवैधानिक र अलोकतान्त्रिक भन्दै आपत्ति जनाएका थिए । सुरुवातबाटै मुद्दामा समान अभिव्यक्ति दिएर केही चरण संयुक्त छलफल गर्दै ओलीको असंवैधानिक कदमको संयुक्त प्रतिवाद गर्ने उनीहरुको घोषणा थियो । तर, सुरुवाती चरणदेखि नै यी तीनवटै दलले संयुक्त होइन एकल विरोध र प्रदर्शनका कार्यक्रम सार्वजनिक गरे । सोही अनुसार एक्लाएक्लै पहिलो चरणको कार्यक्रम यी तीनवटै दलले गरिसकेका छन् । संयुक्त आन्दोलनको माहोल नदेखेकोले तीनवटै दलले दोस्रो चरणको लामो आन्दोलनको घोषणा गरिसकेका छन् । संसद विघटनलगत्तै कांग्रेसकै अगुवाईमा दुईपटकसम्म ओलीको कदमविरुद्ध एक भएर उभिनेबारे छलफल पनि भएको थियो । तर, विघटनको मुद्दा अदालतमा पुगेपछि तत्काल आन्दोलनमा जाने की नजाने भन्नेमा कांग्रेस अलमलमा पर्यो । आन्दोलनमा जानेबारे नै कांग्रेस दुई धारमा बाँडियो । सभापति शेरबहादुर देउवा पक्ष तत्काल आन्दोलनमा नगई निर्वाचनको तयारीमा जुट्नुपर्ने मतमा रह्यो । तर, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष भने असंवैधानिक कदमविरुद्ध सशक्त रुपमा आन्दोलनमा जानुपर्ने अडानमा रह्यो । पार्टीमा निरन्तर बहस भएपछि गत आइतबार कांग्रेसले बल्ल आन्दोलनका कार्यक्रम घोषणा गर्यो तर, एक्लै । संयुक्त रुपमा प्रचण्डहरुसँग आन्दोलनमा जान आफूहरुलाई अनेक संशय रहेको कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले बताए । अहिलेको संवैधानिक र राजनीतिक संकटको वाहक प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल सबै रहेको कांग्रेसको ठहर छ । अहिले कटाक्ष भए पनि संविधान मिच्ने मामिलामा उनीहरुको समान मत रहेको भन्दै कांग्रेसका नेताहरु संयुक्त आन्दोलनमा गइहाल्ने मनस्थितिमा छैनन् । केन्द्रीय समितिको बैठकमा पनि आफ्नै बलमा आन्दोलन गर्ने र जनतासँग जोडिने गरी कांग्रेस अघि बढ्नुपर्ने आवाज उठेको थियो । डा. रामशरण महत, महेश आचार्य, बलबहादुर केसीसहितका केन्द्रीय सदस्यहरुले अरुसँग मिलेर आफ्नै आफ्नै बलमा आन्दोलनमा जान पार्टीलाई सुझाएका थिए । जनतासँग पनि जोडिने गरी आन्दोलन गर्दा निर्वाचनको तयारीलाई समेत बल पुग्ने भएपछि सभापति शेरबहादुर देउवा पनि आन्दोलनमा जान तयार भएका हुन् । ‘तीन वर्षसम्म संविधानलाई कमजोर बनाउने, लोकतन्त्र विरोधी काम गर्ने मामिलामा नेकपाका केपी ओली, प्रचण्ड र माधव नेपालहरु एक ठाउँमा उभिए । अहिले आफसी शक्ति संघर्ष र खिचातानीले उहाँहरुमा बेमेल आएको हो । ओलीको कदमपछि उहाँहरु दुई ठाउँमा जस्तो देखिनुभएको छ’ महतले नेपालवाचसँग भने, ‘तर, अहिले पनि उहाँहरुको पार्टी एउटै हो । फेरि पनि उहाँहरुबीच मिलेर चुनावमा जाने चर्चा सुनिन्छ । यस्तोमा संयुक्त आन्दोलन गर्न हामीहरु मिसिने उनीहरु आन्दोलनमा नजाने भयो भने हाम्रो हालत के हुन्छ ?’ तर, कांग्रेस नेता रामचन्द्र पौडेल कम्युनिष्टसँग मिलेर आन्दोलन गर्दा ओलीमाथि झन् बढी दबाब पुग्ने मतमा छन् । उनले केही दिन अघि पोखरामा भनेका थिए–२०४६ सालमा कम्युनिष्टसँग मिलेरै प्रजातन्त्र ल्याएका हौं । फेरि पनि नेकपासँग मिलेर आन्दोलन गर्दा फरक पर्दैन ।’ ओलीले संविधान नै मास्न लागेको भन्दै असन्तुष्ट दलहरु एक ठाउँमा उभिएर आन्दोलन गर्नुपर्ने पौडेलको मत थियो । तर, सभापति पक्षधर र पौडेल पक्षका नेताहरु पनि कांग्रेसले एक्लै आन्दोलन गर्नुपर्ने मत राखेपछि पौडेलको मात्रै मतले पार्टीमा दबाब सिर्जना गर्न सकेन । नेकपा नेता झलनाथ खनालले कांग्रेस आन्दोलनमैं आउँदैन की भन्ने संशयकाबीच आन्दोलन घोषणा गर्नु नै सकारात्मक रहेको बताए । ‘कांग्रेस आन्दोलनमा आउँदैन की भन्ने संशय हामीलाई थियो । तर, उनीहरुले आन्दोलन घोषणा गरेका छन् । हामी पनि संयुक्त रुपमा आन्दोलनका लागि कांग्रेससँग कोसिस गरिरहेका छौं’ खनालले नेपालवाचसँग भने, ‘संयुक्त नहुँदासम्म आ–आफ्नो दलका आन्दोलनलाई प्रभावकारी बनाउन लाग्छौं । हामीले संयुक्त आन्दोलनमा जाने प्रस्ताव कांग्रेससामू राखिसकेका छौं । कांग्रेसले केही समय पर्खिनुस् भनिरहेको छ ।’ केपी ओलीको कदमविरुद्धमा आन्दोलनको घोषणा गर्नेमा अर्को प्रमुख दल जनता समाजवादी पार्टी पनि छ । जसपाले पहिलो चरणको कार्यक्रम सकेर २५ पुसदेखि ७ माघसम्म दोस्रो चरणको कार्यक्रम गर्दैछ । मंगलबार मात्रै पनि अन्तक्रियामा जसपाले नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसलाई पनि बोलाइएको थियो । साथै, पूर्व न्यायाधीश गिरीशचन्द्र लालसहित नागरिक समाजका अगुवालाई बोलाएर केपी ओलीको कदमविरुद्ध संयुक्त रुपमा प्रतिवाद गर्नुपर्ने सन्देश दिएको थियो । कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीको कदम संविधान मास्ने हिसाबले आएको भन्दै सशक्त प्रतिवाद गरेर जानुपर्ने बताएका थिए । प्रतिनिनिधिसभा विघटन नभइसकेको भन्दै संयुक्त रुपमा सडक आन्दोलन गरेर सभामुखमार्फत संसद बैठक बोलाउने र ओलीको कदमलाई खारेज गर्नुपर्ने मत राखेका थिए । ओलीको कदमविरुद्ध एउटै बुझाई कायम गरेर जानुपर्ने उनले सुझाए । संवैधानिक संकटमा दलहरु मिलेर जाँदा झन् बढी प्रभावकारी हुने उनको भनाई थियो । कार्यक्रममा नेकपाका नेता माधव कुमार नेपालले संयुक्त आन्दोलन गरेर जानुपर्ने भन्दै कांग्रेस र जसपासँग सहयोगको आग्रह गरेका थिए । ‘केपी ओली एक जनाले सनकको भरमा संविधानको गलत व्याख्या गरी सिंगो देशको भविष्य, गणतन्त्र र संघीयतामाथि हमला गरेका छन्’ नेपालले भनेका छन्, ‘यस्तो हुनु भनेको बुढो मर्यो भन्दा नी काल पल्कियो भन्ने खतरा हो । अब ओलीको असंवैधानिक र अधिनायकवादी कदमका विरुद्ध दलहरु एक भएर अगाडि बढ्नुपर्छ ।’ सो कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले आन्दोलनका विषयमा सुरुमा कांग्रेसमा अलमल भए पनि अब त्यस्तो नभएको बताएका थिए । ‘ओली संविधान नै मास्न उद्यत भएपछि हामी अब व्यक्तिगत स्वार्थबाट माथि उठ्नुपर्छ’ पौडेलले भनेका थिए, ‘ओलीको यस कदमविरुद्ध डटेर लाग्नुपर्छ भन्ने हाम्रो निर्णय छ । यसैका लागि आन्दोलन घोषणा पनि गरेका छौं ।’ पौडेलले आफ्नो पार्टीको अगुवाइमा दलहरु आउन तयार भए संयुक्त आन्दोलन हुन सक्ने पनि बताएका थिए । कांग्रेसलाई पर्खिरहेका छौंझलनाथ खनाल, नेता नेकपा केपी ओलीले चालेको असंवैधानिक कदममा कांग्रेस, जसपासहितका दलहरुको समान मत छ । ओली संविधानलाई मास्न उद्यत रहे भन्ने हामीहरुको साझा बुझाई हो । यस्तोमा उनको कदमविरुद्ध संयुक्त रुपमा आन्दोलनमा जानु राम्रो हो । तर, सँगै नभए पनि सबै दलले आन्दोलन घोषणा गर्नु राम्रो र सकारात्मक छ । हामी सबैलाई मिलाएरु सँगै आन्दोलन गर्ने तयारीबाट पछाडि हटेका छैनौं । प्रचण्ड–नेपालसँग आन्दोलनमा जाँदैनौंडा. प्रकाशशरण महत अहिले हामीले ओलीको कदम असंवैधानिक हो भनेर विरोध र प्रदर्शनका कार्यक्रम राखेका छौं । संयुक्त जाँदा पनि विरोधको शैली यस्तै हुने हो । उहाँहरु प्रष्टरुपमा अलग पार्टी भएपछि सबै आधार भए हामी संयुक्त आन्दोलनमा पनि जान सक्छौं । तर, संविधानलाई कुल्चने, सभामुख र उपसभामुख एकै दलको हुनुहुँदैन भनेर हामीले भन्दा साथ नदिने हुँदा हामी प्रचण्डहरुलाई पनि पूर्ण विश्वास गर्न सक्दैनौं । यस्ता गतिविधिले सँगै आन्दोलनमा जाने आधार बनाइसकेको छैन । अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्यो भने आवश्यकता अनुसार कसरी जाने भन्ने तय हुन्छ । तर, पुनस्थापना नगरी निर्वाचनमा नै जाउँ भन्यो भने निर्वाचन सुनिश्चतता लागि हामी दबाबमूलक आन्दोलन गर्छौ । कुन दलका आन्दोलन कहिले ? प्रचण्ड नेपाल समूहपहिलो चरणओलीको कदमलगत्तै काठमाडौंमा सडक प्रदर्शन, जिल्लाजिल्लामा प्रदर्शनदोस्रो चरणपुस २० देखि माघ २३ सम्म आन्दोलनका कार्यक्रम घोषणा । कांग्रेस पहिलो चरण : १३ पुसमा १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनदोस्रो चरण२५ पुसमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन३ माघ ः ७५३ स्थानीय तहमा विरोध प्रदर्शन८ माघ ७५३ तहका सबै वडाहरुमा विरोध प्रदर्शन जसपापहिलो चरण पुस १० देखि १२ सम्म आन्दोलनदोस्रो चरण ः पुस २५ देखि माघ सात
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया