NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

तीन जना सवार मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

रूपन्देही । बुटवल उपमहानगरपालिका–१२, मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु ६० प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रूपन्देहीको गैडहवा गाउँपालिका–९, हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए ।

दुवै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।