कहिलेदेखि वितरण हुँदैछ नयाँ नोट ?

काठमाडौं । दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।
गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।
चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्ना कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ ।
राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ २६ देखि सूचना नै जारी गरेर नयाँ नोट वितरण गरिने नेपालले बताए ।
कोभिडका कारण अघिल्ला दुई वर्ष नयाँ नोट नबाँडेको राष्ट्र बैंकले गत वर्ष सर्वसाधारणका लागि नोट वितरण गरेको थियो । गत वर्ष राष्ट्र बैंकले असोज ४ देखि बैंक तथा वित्तीय संस्थालाई र दसैंको १५ दिन अघिदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो । दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै विक्री हुँदै आएको छ ।
दसैं र तिहारका लागि नयाँ नोटको आकर्षण बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हात हातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्री सुझाउँछन् । उनीहरूले नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया