उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान

सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा छन्, उनीहरूको ‘दोष’ यत्ति हो– उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए । मल, बिउ मात्र होइन, जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ । उता उखु किन्ने मिलका साहुको नाकमुख देख्ने ‘भाग्य’समेत जुरेको छैन । उखुबाट चिनी बन्छ, चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’ किसानका लागि यो नारा कुनै सुन्दर सिर्जना होइन, कुरूप वास्तविकता हो । माइतीघर मण्डलामा आएका किसानको गाउँमा पृष्ठभूमि के छ ? नयाँ पत्रिकाले उनीहरूको गाउँघरमै पुगेर रिपोर्टिङ गरेको छ । सर्लाही धनकौल गाउँपालिका– २ का रुचा साह यतिवेला १० धुर घडेरी र घरसमेत साहुलाई बुझाउनुपर्ने चिन्तामा छन् । उनको ‘दोष’ यत्ति हो, उनले उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए । ६० वर्षका कानुको परिवारमा श्रीमती, दुई छोरा, दुई बुहारी र चार नाति–नातिनासहित १० जनाको परिवार छ । तर, सम्पत्तिको नाममा खपटाले छाएको एक तलाको घरबाहेक केही छैन । त्यो घर पनि उनले स्वदेशमा मात्र होइन, भारतको पन्जाबमा समेत ज्यामी गरेर जोडेका हुन् । तर, आफ्नै गाउँमा किसानी गर्छु भन्ने सोचेर उनले लगानी गरे, ‘किसानी गर्छु भनेँ, त्यसमा पनि उखुखेती त दशा लागेरै गरिएछ,’ उनी हरेश खान्छन् । खेती गर्न आफ्नै जमिन थिएन, हुन्डा (भाडा) लिएर उनले उखु लगाए । कानुले २५ सय रुपैयाँ प्रतिकट्ठाका दरले स्थानीय महाजनको तीन बिघा जग्गा हुन्डामा लिएका थिए । तर, उखु बेचेको पैसा आएन, साहुले हुन्डा (जग्गा भाडा)को पैसा छाडेन । फलतः उनले आफैँ बस्ने घर पनि गत वर्ष नै साहुको नाममा बन्धकी सहीछाप गरिदिएका छन् । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया