अध्यादेशले नेकपामा तरंग : प्रचण्ड निवासमा ओली इतरका नेताहरूको छलफल

काठमाडौं । सरकारले एकाएक संवैधानिक परिषद् सम्वन्धि अध्यादेश ल्याएपछि तरंगित भएका नेकपा नेताहरू छलफलमा जुटेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ओली इतरका नेताहरू उपस्थित छन् । प्रचण्ड निकट स्रोतले भन्यो, ‘अध्यादेश आएपछि नेताहरु छलपलमा जुटेका छन्,’ छलफलमा प्रधानमन्त्री केपी ओली समूह इतरका नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । यस्तै, अध्यादेश प्रकरणबाट सो नेताहरूबीच छलफल हुनुभन्दा पहिले प्रधानमन्त्री ओलीको दूत बनेर स्थायी समिति सदस्य सुवास नेम्वाङ पुगेका थिए । उनीहरूबीच के कुराकानी भयो भन्ने विषयमा खुलाइएको छैन । यता ओली इतर समूहले बुधबार बस्ने नेकपा स्थायी समितिको बैठकमा सरकारले ल्याएको अध्यादेशमाथि चर्को रुपमा प्रश्न उठाउने भएको छ । नेता खनालले नेपालवाचसँगको कुराकानी गर्दै बैठकमा अध्यादेश ल्याउनु पर्नाको कारण प्रधानमन्त्रीसँग मागिने बताए । अध्यक्ष प्रचण्डले अध्यादेश ल्याएर सरकारले लोकतन्त्रकै खिल्ली उडाएको टिप्पणी उनले गरेका छन् ।
प्रतिक्रिया