विरोध प्रदर्शनमा उत्रिन कांग्रेसका भ्रातृ संस्थाको निर्देशन

काठमाडौं । राजनीतिक संकट आउनासाथ सुरुमैं विरोध र प्रदर्शनमा उत्रिनेमा युवा र विद्यार्थीहरु पर्छन् । तर, ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको हकमा पनि भने यो लागू भएन । नेविसंघ र तरुण दलले प्रधानमन्त्रीको कदम अससंवैधानिक रहेको भन्दै सांकेतिक र विरोध गरे । तर, विरोध प्रदर्शनको व्यवस्थित कार्यक्रम दिन सकेनन् । माउ पार्टी कांग्रेस नै अलमलमा परेपछि उनीहरु कार्यक्रमविहीन भएका थिए । तर, निक्कै रस्साकस्सीपछि गत आइतबार भने कांग्रेसले नै देशव्यापी आन्दोलनका कार्यक्रम गरेपछि भ्रातृ संस्थालाई पनि विरोध र प्रदर्शन गर्ने बाटो खोलिदिएको छ । ‘कांग्रेसले घोषणा गरेको बाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् कांग्रेसले विज्ञप्ति जारी गर्दै दिएको निर्देशनमा उल्लेख छ, ‘पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्नेछन् ।’ कांग्रेसले आगामी पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकाहरुमा र माघ ८ गते बिहीबार देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने तालिका सार्वजनिक गरेको थियो । माउ पार्टीले ओलीको कदमविरुद्ध वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि भने भ्रातृ संस्थाहरुले धमाधम आन्दोलनमा सहभागी र हुने र कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले अब पार्टीले औपचारिक रुपमैं भनेको भन्दै बुधबार बैठक बसेर पार्टीसँग मिल्दोजुल्दो गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । ‘प्रतिनिधिसभा विघटनलगत्तै असंवैधानिक कदम भन्दै हामीले सुरुमैं सांकेतिक विरोध र केही ठाउँमा प्रदर्शन गरेका थियौं’ ढुंगानाले भने, ‘अब भने पार्टीले पनि कार्यक्रम सार्वजनिक गरेको छ । हामी पनि बुधबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौ ।’ विरोधका कार्यक्रममा धर्ना, प्रदर्शन घेराउसहितका कार्यक्रम हुने जानकारी उनले दिए । पार्टीकै शैलीमा नेविसंघले पनि वडातहसम्मै विरोध कार्यक्रम लिएर जाने उनी बताउँछन् । सरकारको कदमको विरोध स्वरुप ९ विद्यार्थी संगठनको बैठक आयोजना गरी आफूहरुले आफ्नो आफ्नो ढंगले आन्दोलन अघि बढाउने निर्णय गरेको जानकारी उनले दिए । अर्को भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पनि विज्ञप्ति जारी गर्दै पार्टीले गर्ने विरोध कार्यक्रममा समन्वय गरी सहभागी हुने जिल्ला कार्यसमितिहरुलाई निर्देशन गरेका छन् । नेपाल मुस्लिम संघले पार्टीले घोषणा गरेको आन्दोलनमा जिल्ला सभापतिसँग समन्वय गरी परिचालन हुन सबै जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया