NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

आजका गुड न्यूज : भर्नेमध्ये अधिकांशलाई पर्ने ८ अर्बकाे सेयर आवेदन खुल्दै

मंगलबार दिनभर विभिन्न सञ्चारमाध्यमबाट धेरै समाचारहरु संप्रेषित भए । त्यस्ता समाचारका विषयवस्तुले सकारात्मक होइन नकारात्मक भाव बढी बोेकेका छन् । राजनीतिक जोडघटाउ, प्रतिनिधिसभा विघटनपछि अदालतमा पुगेको मुद्दामा राजनीतिक वृत्तमा टिकाटिप्पणी, नेपालको काठमाडौं वायु प्रदुषणमा विश्वकैं पहिलो नम्बरमा रहेको जस्ता नकारात्मक समाचारहरु प्राथमिकता परे । तर, देश समाजमा नकारात्मक मात्रै भइरहेको छैन । मानिसहरुलाई आशावादी बनाउने केही राम्रा प्रयास र कामहरु पनि भएका छन् । मंगलबार दिनभरका केही सकारात्मक समाचारलाई हामीले गुडन्युजमा समेटेका छौं । सेनामा २ सय ९१ जनाका लागि आवेदन खुल्यो नेपाली सेनाले २ सय ९१ जनाका लागि आवेदन खुला गरेको छ । मंगलबार नेपाली सेनाको कार्यरथी विभागको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले सार्वजनिक सूचना जारी गर्दै बिल्दार पद, सिपाही र सहायक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । यसमा लेखा जमदार (५० जना), पुजारी(४ जना), अमलदार(५३ जना), बन्दोबस्ती कार्य सिपाही(९६ जना), सुचिकार(१० जना), कुचिकार(५३ जना), चर्मकर्मी(११ जना), धोबी(२ जना),लोहकार(५ जना) केशकर्तक(२ जना) र सयस(५ जना) को माग गरिएको छ । इच्छुक आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन् । तोकिएको मापदण्ड र योग्याता पुगेका इच्छुक आवेदकले यही पुस २१ गतेदेखि माघ २१गतेसम्म दरखास्त दिन सक्नेछन् । त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ । २ माघदेखि इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्बको आइपीओ खुल्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेबाट बिक्री खुला हुने भएको छ । यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको आइपीओबाट ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्टाइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरले आइपीओ जारी गर्न लागेको हो । यो आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिसम्म आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुने छ । खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेज सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिंग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए । त्यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको संगमस्थल रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहज रूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए । घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट रु ३० हजार, डोटीको दिपायलबाट रु १० हजार र झिंग्रानाबाट आठ हजार रुपैयाँमा खप्तड घुम्न पाइने भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष